कर्णाली

कर्णालीमा पार्टी प्रवेशको होडबाजी

आफ्ना पार्टीमा धेरै कार्यकर्ता रहेको दलहरूको दाबी

लक्ष्मी भण्डारी |
चैत १४, २०७८ सोमबार १८:५० बजे

सुर्खेत–साताअघि नेकपा माओवादीका सांसद ठम्मरबहादुर विष्ट एमालेमा प्रवेश गरेपछि पार्टीभित्र तरंग छाएको थियो । एमालेको पार्टी प्रवेश कार्यक्रममा वरिष्ठ नेता इश्वर पोख्रेल पनि सुर्खेत आएका थिए । उक्त दिन सांसद विष्टसहित करिब दुई सय अन्य पार्टीबाट एमालेमा प्रवेश गरेको एमाले कर्णाली प्रदेशका अध्यक्ष विनोद कुमार शाहले बताए । 

‘चुनाव नजिक आएपछि जनताको घरदैलोमा अभियान गरिरहेका छौ’ शाहले भने, ‘पार्टी प्रवेशको कार्यक्रमलाई प्रमुखता दिएका छौ ।’ शाहका अनुसार चुनावी अभियान चलेको डेढ महिनाको अवधिमा प्रदेशभर पाँच हजार तीन सयले अन्य पार्टी छोडेर एमालेमा प्रवेश गरेको दाबी गरे । उनले चुनावमा जित्ने सम्भावना भएका पार्टीका नेतालाई टिकट दिइने बताए । यसमा समावेशीलाई पनि ध्यान दिएर पार्टी अघि बढेको उनको भनाइ थियो । 


चुनावको मिति घोषणा भएसँगै नेपाली काँग्रेस पनि अभियानमार्फत घरदैलो कार्यक्रममा व्यस्त छ । ‘घर घर जाऔ काँग्रेस जिताऔं’ भन्ने अभियानका साथ पार्टी प्रवेशको कार्यक्रमलाई प्रमुखता दिएको छ । केही दिनअघि मात्र सांसदका स्वकीय सचिवहरुसहित काँग्रेसमा प्रवेश गरेको काँग्रेसले जनाएको छ । अभियानको क्रममाले अन्य पार्टी परित्याग गरि काँग्रेसमा प्रवेश गर्नेको संख्या एकीन नभएको पार्टीका प्रदेश सभापति ललितजंग शाहले बताए । उनले पार्टी प्रवेश गर्नेहरुको संख्याको विषयमा पार्टीले संख्या संकलन गर्दै गरेको बताए ।  

यता नेकपा माओवादी पनि चुनावी अभियानमा होमिएको छ। नागरिकका घरदैलोमा गएर पार्टीका एजेण्डाहरु राख्ने कामहरु भइरहेको माओवादीका प्रदेश अध्यक्ष विमला केसीले जानकारी दिइन् । अभियानकै क्रममा चार हजार बढी अन्य पार्टीबाट माओवादीमा प्रवेश गरेको केसीले दाबी गरिन् । ‘हामी जनताको घरदैलोमा छौ उनीहरुसामु चुनावी एजेण्डाहरु बुझाउने तथा भेटघाट गरी चुनाव जित्ने कसरतमा छौ’ उनी भन्छिन्, ‘देश नै माओवादीको एजेण्डामा चलेकाले नागरिकलाई यी कुराहरु बुझाउन लागेका छौ ।’

त्यसैगरी कर्णालीमा एकीकृत समाजवादीले पनि आफ्ना चुनावी गतिविधिहरुलाई अघि बढाएको छ । पार्टीका एजेण्डाहरु नागरिकमाझ लैजाने र चुनाव आफ्नो पक्षमा पार्ने अभियानमा रहेको एकीकृत समाजवादीका प्रदेश अध्यक्ष प्रकाश ज्वालाले जानकारी दिए । चुनावी अभियान सञ्चालन गरेको डेढ महिनामै तीन हजार ६ सय बढीले अन्य पार्टीबाट समाजवादीमा प्रवेश गरेको दाबी गर्छन् । 

चुनाव नजिकिएसँगै कर्णाली प्रदेशका मुख्य राजनीतिक दलहरु चुनावलक्षित कार्यक्रमलाई अघि बढाएका छन् । दलहरुले चुनाव लक्षित कार्यक्रमअनुसार पार्टी प्रवेशको कार्यक्रमलाई प्रमुखता दिएका छन् । पार्टी प्रवेशको कार्यक्रमले चुनाव आफ्नो पक्षमा पार्ने होडबाजीका कारण पार्टी प्रवेशलाई जोड दिएको देखिएको छ । ठूला दलसँगै अन्य साना दलहरु पनि चुनावी अभियानमा होमिएका छन् । चुनाव आफ्नो पक्षमा पार्नको लागि पार्टी प्रवेशको कार्यक्रमलाई प्राथमिकता दिएका छन् ।
 


Author

थप समाचार
x