कर्णाली

स्थानीय तह निर्वाचन : सुर्खेतमा पाँच राजनीतिक दलले तालमेल गर्ने

लक्ष्मी भण्डारी |
चैत २४, २०७८ बिहीबार १८:६ बजे

सुर्खेत -  आगामी वैशाख ३० मा हुने स्थानीय तहको निर्वाचनमा सुर्खेतका पाँच राजनीतिक दल गठबन्धन गरेर जाने भएका छन् । आज वीरेन्द्रनगरमा बसेको पाँच राजनीतिक दलको बैठकले यस्तो निर्णय गरेको हो । 

स्थानीय तहको निर्वाचनमा नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चा नेपाल र जनता समाजवादी पार्टी चुनावी तालमेल गरी अघि बढ्ने निर्णय गरेका छन् । बैठकले जिल्लामा गठित पाँचदलीय गठबन्धनमा १० जना रहेको जिल्ला र पालिका स्तरमा संयन्त्र गठन गर्ने निर्णय गरेको छ ।


बैठकले सुर्खेतका नौ वटै स्थानीय तह, ९९ वटै वडा र जिल्ला समन्वय समितिमा तालमेल गरेर अघि बढ्ने निर्णय गरेको छ । ‘आजको बैठकले जिल्लाका सबै पालिका र वडाहरुमा चुनावी तालमेल गरेर जाने भन्ने निर्णय गरेको छ’ बैठकमा सहभागी एकीकृत समाजवादी सुर्खेतका अध्यक्ष मोहन बढुुवालले भने, ‘अन्य बैठक नियमित रुपमा बस्छन् र उम्मेदवारको विषयमा पनि छलफल गरेर अघि बढ्छौ ।’ उनले स्थानीय तहको निर्वाचनमा गठबन्धनमा सहभागी दलहरु इमान्दारितापूर्वक लाग्ने सहमति भएको बताए । 

राजनीतिक दलका प्रमुखहरु रहेको उक्त समयन्त्रको सबै स्थानीय तहमा  नियमित बैठक गर्ने र स्थानीय स्तरमा रहेको सो समयन्त्रले गरेको निर्णयको आत्मसाथ गर्ने निर्णय भएको छ । त्यसैगरी जिल्ला स्तरमा गठित समयन्त्रको पनि नियमित रुपमा बैठक बस्ने निर्णय गरिएको बैठकमा सहभागी बढुवालले जानकारी दिए । बैठकमा नेपाली काँग्रेसका सभापति खड्गराज पोख्रेल,एकीकृत माओवादीका झकबहादुर मल्ल, एकीकृत समाजवादीका मोहन बढुवाल, राष्ट्रिय जनमोर्चाका गोबिन्द सुवेदी र जनता समाजवादी पार्टी नेपालका टोपबहादुर दर्लामीलगायतको सहभागिता रहेको थियो । 
 


Author

थप समाचार
x