कर्णाली

कर्णालीका उपप्रमुख भन्छन्- ‘अनुभवी छौं, अब प्रमुख पद चलाउँछौं’

लक्ष्मी भण्डारी |
चैत २६, २०७८ शनिबार १८:४० बजे

सुर्खेत– स्थानीय तहको निर्वाचन नजिकिएसँगै राजनीतिक दलका नेताहरु प्रमुख तथा उपप्रमुख एंव वडा अध्यक्षमा दाबी गर्न थालेका छन् । एउटै पदमा धेरैको उम्मेदवारी हुँदा राजनीतिक नेतृत्वलाई मिलाउन हम्मेहम्मे परेको छ ।

२०७४ को स्थानीय तहको निर्वाचनमा अधिकांश स्थानीय तह उपमेयर/उपाध्यक्षमा महिलालाई जिम्मेवारी दिइयो । उनीहरु आफ्नो कार्यकालको अन्त्यतिर आइपुगेका छन् । कर्णाली प्रदेशका विभिन्न पालिकाका उपमेयर/उपप्रमुखहरु अब भने आफूहरुले मेयर÷अध्यक्ष पदमा मौका पाउनुपर्ने बताउँछन् । अघिल्लो निर्वाचनमा प्रमुख पदमा चाहना हुँदाहुँदै पनि उपप्रमुख तथा उपाध्यक्षमा थन्क्याइएको उनीहरुको गुनासो छ । 


वीरेन्द्रनगर नगरपालिकाकी उपप्रमुख मोहनमाया ढकाल अब आउने निर्वाचनमा आफ्नो प्रमुख पदमा आका‌ंक्षी छिन् । ‘हामीसँग पाँच वर्षसम्म पालिकामा काम गरेको अनुभव छ,’ उनी भन्छिन्, ‘यही अनुभवका आधारमा काम गर्न सकिन्छ । हामीले सुरुवात गरेका धेरै कामहरु छन् ती कामलाई पुरा गर्न पनि मेरो उम्मेदवारी रहन्छ ।’

पाँच वर्ष काम गर्दा स्थानीय तहलाई बुझ्ने अवसर पाएको उपप्रमुख ढकाल बताउँछिन् । ‘म महिला भएको कारणले भन्दा पनि क्षमताको आधारमा प्रमुख चलाउन सक्छु भन्ने छ’ उनी भन्छिन्, ‘सूरुवातमा अलमल भएतापनि ऐन नियम, बजेट बनाउँदा तथा योजनाहरु निर्माणमा म प्रत्यक्ष रुपमा संलग्न भएको छु ।’

संविधानले स्थानीय तहको प्रमुख वा उपप्रमुखमध्ये एकजना महिला अनिवार्य हुनुपर्ने व्यवस्था गरेको छ । ‘तर, यो भनेको महिलामात्र उपप्रमुख हुनुपर्छ भनेको होइन,’ उनी भन्छिन्, ‘अब आउने चुनावमा हामीले आफूलाई प्रमुख पदमा लड्न दिनुपर्छ ।’ निमित्त प्रमुखको जिम्मा लिएर काम गरिसकेको हुँदा प्रमुखको भुमिका उत्कृष्ट रुपमा सञ्चालन गर्न सक्ने उनको दाबी छ । 

‘विशेष परिस्थितिमा मैले कार्यवाहक नगरप्रमुखको भूमिका पनि निर्वाह गर्ने मौका पाएको थिएँ । जसले गर्दा मेयर भएर वीरेन्द्रनगरको विकास र समृद्धिमा आफ्नो भूमिका सहज रुपमा निर्वाह गर्न सक्छु भन्ने आत्मविश्वास बढेको छ ।’ ढकाल मात्र होइन आफ्नो कार्यकालको अन्त्यमा पुगेका कर्णालीका अधिकांश उपप्रमुखको रोजाई प्रमुखमा रहेको छ । 

स्थानीय तह निर्वाचन ऐन २०७३ को दफा ४ को उपदफा १ बमोजिम नगरपालिका, गाउँपालिका तथा जिल्ला समन्वय समितिको प्रमुख वा उपप्रमुखमध्ये एक पदमा महिलासहित उम्मेदवारी दिनुपर्ने व्यवस्था छ । सोही बमोजिम स्थानीय तहमा महिलाको सहभागिता बढेको हो । तर, प्रमुखमा भने निकै न्यून सहभागिता देखियो । यसपालि भने पाँच वर्ष काम गरेको अनुभवको आधारमा प्रमुख पद हाँक्न सक्ने उनीहरुको भनाई छ । 

कर्णालीमा ७९ स्थानीय तहमध्ये २५ वटा नगरपालिका छन् । जुम्लाको चन्दनाथ नगरपालिका बाहेक सबैमा महिला उपप्रमुख छन् । 

सुर्खेतकै गुर्भाकोट नगरपालिकाका उपप्रमुख मैना बिक पनि प्रमुखको दावेदार छन् । ‘स्थानीय तहमा काम गरेको अनुभवको आधारमा प्रमुख पद सञ्चालन गर्न सहज हुनेछ’ उनी भन्छिन्, ‘महिला उपप्रमुखमा मात्र सिमित हुने होइन प्रमुखमा पनि लड्नुपर्छ ।’ प्रमुखमा प्रतिस्पर्धा गर्ने उनको चाहना भएतापनि पार्टीले टिकट दिनेमा भने उनी ढुक्क छैनन् । 

त्यसैगरी भेरीगंगा नगरपालिकाका उपप्रमुख पनि प्रमुखमा लड्ने दावी गरेकी छन् । ‘नयाँ भन्दा काम गरेका प्रतिनिधिलाई प्रमुखमा उठाउँदा कामहरु प्रभावकारी हुन्छन्’ उनी भन्छिन्, ‘उपप्रमुख भएर काम गरिसके अब प्रमुखमा पनि प्रतिस्पर्धा गर्ने हो ।’ 

दैलेख आठबीस नगरपालिकाको उपप्रमुखमा दीपा बोहोरा पनि यसपालि चुनावमा प्रमुखमा आकांक्षी छन् । बोहोरा २०७४ को निर्वाचनमा पनि आ‍‌‌कांक्षी थिइन् । तर,पार्टीमा आफूभन्दा सिनियर व्यक्तिले चाहना देखाएपछि उनी ‘ब्याक’ भएकी हुन् । ‘यो पटक मेयरमा दाबी गरिसकेकी छु र यसपालि त छोड्दिन’ उनी भन्छिन्, ‘हामीले उठाउनुपर्ने धेरै सामाजिक मुद्दाहरु छन् ती पुरुषहरुले उठान गर्न अलि हिच्किचाउँछन् त्यसैले पनि प्रमुख पदनमा महिला आउनुपर्ने आवश्यकता देखिएको छ ।’ बोहोराले आफू कार्यकारी भूमिकामा नहुँदा पालिकामा घटेका सामाजिक मुद्दाले न्याय पाउन नसकेको अनुभव सुनाइन् ।

सल्यान छत्रेस्वरी गाउँपालिकाकी उपाध्यक्ष सीता केसी पनि अध्यक्षको दावेदारमा छन् । ‘अबको चुनावमा अध्यक्षको दाबेदार गरेकी छु’ उनी भन्छिन्, ‘ धेरैको दाबी छ, जसमा महिला म मात्र भएको हुँदा अध्यक्ष पदमा प्रतिस्पर्धा गर्न मलाई दिनुपर्छ भन्ने पक्षमा छु ।’ पाँच वर्ष काम गरेको अनुभवको आधारमा अध्यक्ष पद हाँक्न सक्ने विश्वासमा छिन् उनी । ‘२०७४ को निर्वाचनमा केही अनुभव थिएन त्यसैले उपाध्यक्षमै सहमति जनाए’ उनी भन्छिन्, ‘अब अध्यक्ष भएर गाउँपालिका चलाउनुपर्छ ।’ अध्यक्षमा निर्वाचित भएमा गाउँपालिका अधुरा रहेका कामहरु पुरा गर्न सहज हुने उनको भनाइ छ । 

अघिल्लो स्थानीय तहको निर्वाचनमा उपप्रमुख तथा उपाध्यक्षमा थन्किएका अधिकांशले यसपालि प्रमुखमा दावेदारी प्रस्तुत गरेका छन् । आकांक्षीको एउटै आवाज छ पाँच वर्षको कामको अनुभवले प्रमुख हाँक्न सक्ने आँट छ । तर, पार्टीबाट टिकट पाउनेमा भने उनीहरु ढुक्क छैनन् । 


Author

थप समाचार
x