कर्णाली

गुर्भाकोटका विद्यालयमा ‘वेड रेष्ट’पछि छात्रा नियमित

लक्ष्मी भण्डारी |
चैत २७, २०७८ आइतबार १९:२५ बजे

सुर्खेत- गुर्भाकोट आनन्द मावि गुमीका छात्रा निशा बुचा महिनावारीका समयमा विद्यालयमा अनियमित हुन्थिन् । महिनावारीको समयमा पेट दुख्नुको साथै बेन्चमा लामो समयसम्म बस्न समस्या हुन्थ्यो । ‘स्कुल छुटाउन त कस्लाई पो मन हुन्छ र ’ उनले भनिन्, ‘विद्यालयमा आराम गर्ने ठाउँ हुन्थेन । अनि महिनाको तीन चार दिन विद्यालय आउदैनथ्यौ ।’ महिनावारीका बेलामा निशाजस्तै गुर्भाकोट नगरका छात्राहरु अनियमित हुन्थे । जसका कारण उनीहरुको पढाई छुट्थ्यो । कहिलेकाही त विद्यालयमै भएको अवस्थामा महिनावारी भयो भने विद्यालयमा प्याड नहुँदा हतार हतार घरमा फर्कनुपर्ने बाध्यता हुन्थ्यो । बेन्चमा लाग्ने हो की कसैले कपडामा लागेको देख्ला भन्ने डर उनीहरुको मनमा हुन्थ्यो । 

तर, अहिले नगरका सबै छात्राहरु महिनावारीका समयमा विद्यालयमा नियमित हुन्छन् । अहिले महिनावारी समस्याका कारण कुनै पनि किशोरीहरु विद्यालयमा अनियमित हुनुपर्दैन । विद्यालयमा आरामको लागि बेड र सेनेटरी प्याडको व्यवस्था भएपछि उनीहरु नियमित हुन थालेका हुन् । आनन्द मावि विद्यालयका लागि चारवटा पलङ र बेड राखिएको छ । त्यसैगरी विद्यालयमा छात्राहरुको लागि प्याडको पनि व्यवस्था गरिएको छ । ‘गाह्रो हुँदा केहीबेर आराम गरेर फेरी कक्षा कोठामै फर्कन्छौ’ विद्यालयमा अध्ययनरत छात्रा निशाले भनिन्, ‘महिनावारी हुँदा अहिले त नियमित विद्यालयमा आउँछौ ।’


विद्यालयका प्रध्यानाध्यापक धनपति ढकालले बेडरेष्ट कक्ष स्थापनासँगै कुनै पनि किशोरीहरु विद्यालय छोडेर घर जानुपर्ने अवस्था नआएको बताए । ‘कक्षा ६ देखि १२ सम्म दुई सय बढी किशोरीहरु छन् । महिनावारी हुँदा प्राय किशोरीहरु विद्यालयमा आउदैनथे र आएपनि हाजिर लगाएर फर्किन्थे’ प्रध्यानाध्यापक ढकालले भने, ‘अहिले महिनावारीका कारण कुनै पनि छात्राले विद्यालय छोड्नुपर्ने अवस्था आएको छैन ।’
 

सूर्यज्यति माविका छात्रा प्रमिला उपाध्याय पनि महिनावारीको समयमा विद्यालय अनियमित हुन्थिन् । महिनावारीका बेला पेट दुख्ने समस्याका कारण उनी नियमित रुपमा कक्षामा बस्न सक्दिनथिन् । तर, आजभोली उनी महिनावारी भएको बेला पनि नियमित कक्षामा हुन्छिन् । ‘गाह्रो भएको बेकेही बेर आराम गर्छाै अनि कक्षामा सहभागी हुन्छौ’प्रमलिा भन्छिन्, ‘विद्यालयमा महिनावारीको समयमा आराम गर्ने बेड र सेनेटरी प्याड भएपछि हामीलाई सजिलो भएको छ ।’

महिनावारीको समयमा छात्राहरुलाई नियमित गराउनको लागि गुर्भाकोट नगरपालिकाले ‘वेड रेष्ट’ कार्यक्रम सञ्चालन गरेको हो । नगरकार्यपालिकाको  बैठकको निर्णयअनुसार नगरपालिकाले उक्त कार्यक्रम सञ्चालनमा ल्याएको हो । सुरुवातमा नगरपालिकाले आनन्द माध्यमिक गुमीमा परीक्षणको रुपमा यो कार्यक्रम सञ्चालनमा ल्याएको थियो पछि यहाँका २२ वटै विद्यालयमा यो कार्यक्रम लागु गरेको छ  । कार्यक्रमअनुसार सो विद्यालयको एउटा कोठामा महिनावारीको समयमा छात्राहरुलाई आरामको लागि पाँच वटा वेडहरु राखिएको छ । त्यसैगरी विद्यालयमा सेनेटरी प्याडको पनि व्यवस्था गरिएको छ ।  नगरापलिकामा वेडरेष्ट कार्यक्रमले राम्रो प्रभाव पारेको नगरप्रमुख हस्त पुनले बताए । यसले गर्दा छात्राहरु नियमित विद्यालय आउन थालेको उनले बताए ।

महिनावारीको समयमा किशोरीहरुलाई विद्यालयमा नियमित गराई उनीहरुको सिकाई उपलब्धीमा वृद्धि गराउने उद्देश्यले यस कार्यक्रम सञ्चालनमा ल्याइएको गुर्भाकोट नगरपालिकाका उपमेयर मैना बिकले बताइन् । ‘महिनावारीको समयमा किशोरीहरु विद्यालय नियमित नभएकाले वेड रेष्टको कार्यक्रम सञ्चालनमा ल्याएका हौ’ उनले भनिन्, ‘ यस्तो समयमा किशोरीहरु विद्यालयमा नआउने र आएपनि बिचमै कक्षा छोडेर जाने प्रवृत्ति देखियो ।’ त्यसैगरी महिनावारी भएको बेलामा किशोरीहरु ४, ५ दिनसम्म विद्यालयमा नियमित उपस्थित नभएको कारण पनि उनीहरुको पठनपाठनमा बाधा परेको बिकले बताइन् । ‘नगरभित्रका विद्यालयमा छात्र र छात्राको सिकाई उपलब्धिलाई अध्ययन गर्दा छात्राहरुको कम पाइयो र यसको समस्या खोतल्दै जाँदा महिनावारीको समयमा नियमित विद्यालयमा नआउनु रहेछ’ उपमेयर बिकले भनिन् ‘ छात्राहरुको सिमाई उपलब्धी कम देखिनुको कारण बारेमा अध्ययन गर्दा महिनावारी समस्या भएकाले यसको समाधानको लागि अभियान थालेका हौं ।’

‘महिनावारीको समयमा तल्लो पेट दुख्ने समस्या हुन्छ र जसले गर्दा पठनपाठनमा बाधा पुग्छ’ उनले भनिन् ‘विद्यालयमा भएको बेला यस्तो समस्या भएमा किशोरीहरुलाई केही समय विद्यालयमा राखिएको वेडमा आराम गरेर पठनपाठन गनको लागि सहयोग पुग्नेछ ।’

नगरका २२ वटा विद्यालयहरुमा वेड रेष्टको कार्यक्रम सञ्चालन गरी छात्राहरुलाई विद्यालयमा नियमित गराउने कार्यक्रम समेत तय गरिएको उपप्रमुख बिकले बताइन् । त्यसैगरी प्रत्यक विद्यालयमा सेनेटरी प्याडको उपलब्ध गराइएके छ । यसैगरी हरेका विद्यालयमा एकजना महिला शिक्षकलाई फोकल पर्सनको रुपमा राखि किशोरीहरु महिनावारीको समयमा सेनेटरी प्याडको प्रयोग र परामर्श  दिने व्यवस्था समेत गरिने उपमेयर मैनाले बताइन् ।  
 
 


Author

थप समाचार
x