कर्णाली

स्थानीय तह निर्वाचन

दोहोरिने दाउमा कर्णालीका अधिकांश जनप्रतिनिधि

लक्ष्मी भण्डारी |
बैशाख २, २०७९ शुक्रबार १०:४९ बजे

सुर्खेत - सल्यान छत्रेश्वरी गाउँपालिकाका उपाध्यक्ष सीता केसी आगामी निर्वाचनमा गाउँपालिका प्रमुखको पदको दावेदार हुन् । यसका लागि उनी पार्टीका प्रमुख नेताहरूसँग लविङ पनि गरिरहेकी छन् ।

‘यसलालीको चुनावमा नगर प्रमुखमा उठ्ने हो भनेर पार्टीमा कुरा राखेको छु’ उनी भन्छिन्, ‘मेरो पार्टीबाट म सहित आठ जना आकाक्षीं हुनुहुन्छ ।’


उनी नेपाली काँग्रेसबाट २०७४ को स्थानीय तहको निर्वाचनमा उपाध्यक्ष पदमा निर्वाचित भएकी हुन् । पार्टीले टिकट दिएमा निर्वाचनमा जित हासिल गर्न सकिने केसीको भनाइ छ ।

उनले पाँच वर्षको कार्यकालमा राम्रोसँग काम गर्ने वातावरण नबनेको बताउँछिन् । ‘पाँच वर्षको कार्यकालमा पहिलो कार्यकाल भएकाले केही अलमलमै थियौ जब काम गर्ने बेला आयो कोरोना माहामारीको कारण पनि काम गर्ने वातावरण भएन’ उनी भन्छिन्, ‘त्यसकारण अब नेतृत्व गर्न पायौ भने यही अनुभवका आधारमा राम्रा काम गर्न सकिन्छ ।’ स्थानीय तहमा नयाँ जनप्रतिनिधि भन्दा अनुभवको कारण पनि पुरानालाई नेतृत्व दिएमा विकास निर्माण तथा अन्य कामहरू प्रभावकारी हुने उनको भनाई छ । 

गुर्भाकोट नगरपालिकाका प्रमुख हस्त पुन पनि पार्टीले टिकट दिएको खण्डमा प्रमुखमा चुनाव लड्ने तयारीमा छन् । ‘अरु नयाँ साथीहरूले पाउनुपर्छ भन्ने मेरो धारणा हो तर, टिकट वितरणमा पार्टीमा समस्या भयो र दाहोरिने सम्भावना भएमा पार्टीको निर्णयलाई स्वीकार गर्छु’ पुन भन्छन्, ‘पाँच वर्षको कार्यकालमा माहामारीका कारण पनि सोचेअनुरुप काम गर्न सकिएको छैन, यसलाई पुरा गर्न पनि सहज हुन्छ ।’

सुर्खेतको सिम्ता गाउँपालिकाका अध्यक्ष कबिन्द्रकुुमार केसी पनि अध्यक्ष पदको आकाक्षीं छन् । पाँच वर्षमा राम्रोसँग काम गर्ने अवसर नमिलेको जनाए । ‘हामी जनप्रतिनिधि बनिसकेपछि पहिलो वर्ष प्लानिङमा बित्यो, डेढ वर्ष कोरोना माहामारीको कारणले अपेक्षित काम गर्न सकिएन,’ अध्यक्ष केसीले भने, ‘पालिकामा केही फाउण्डेसन त बसाल्यौँ, केही कामहरू पनि भए तर, ठूला परियोजनाहरू भने अधुरै रहे ।’

अध्यक्ष केसी २०७४ को स्थानीय तह निर्वाचनमा एमालेबाट अध्यक्षमा निर्वाचित  भएका थिए । ‘अहिलेसम्म केही कामहरू त भए तर, सोचेअनुरुपको गर्न सकिएन त्यसकारण अधुरा रहेका कामहरू पुरा गर्न पनि म दोहोरिन आवश्यक देख्छु’  उनी भन्छन्, ‘पुनः निर्वाचित भएको खण्डमा अधुरा रहेका सपनाहरू  पूरा गर्न सकिनेछ ।’ 

बराहताल गाउँपालिकाका अध्यक्ष तेजबहादुर बस्नेत पनि टिकटको लागि दौडधुपमा लागेका छन् । गाउँपालिकाका अध्यक्ष बस्नेतले पार्टीले टिकट दिएमा पुन: चुनाव लड्ने आकांक्षा व्यक्त गरे । पुन: निर्वाचत भएको खण्डमा अधुरा रहेका कामहरू पुरा गर्न सकिने उनको भनाइ छ । 

स्थानीय तहको निर्वाचन नजिकिदै गर्दा कर्णालीका अधिकांश बहालवाला जनप्रतिनिधिले सोही पदमा दोहोरिने आकांक्षा राखेका छन् । वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा अर्को कार्यकालका लागि उम्मेदवार बन्ने संकेत धेरैजसो जनप्रतिनिधिले गरेका हुन् । यसपटक पनि पालिकाका प्रमुख र वडाअध्यक्षहरू उम्मेदवार बन्ने दौडधुपमा छन् । उनीहरू आफू निकट नेता र पार्टीसँग टिकटको लागि लविङमा लागेका छन् । बहालवाला जनप्रतिनिधि सबैको एउटै स्वर छ ‘अधुरा रहेका सपना पुरा गर्नुछ ।’

यता राजनीतिक दलहरू आसन्न निर्वाचनका लागि उम्मेदरवार छान्ने छलफलमा जुटेका छन् । नेपाली काँग्रेस सुर्खेतका सदस्य नविन सुनार ले अहिले बाहलवाला जनप्रतिनिधि धेरैले पुनः दोहोरिने आकाक्षा राखेको बताए । यसको लागि पार्टीले छलफल गरिरहेको उनको भनाइ छ ।  पार्टीको बैठकमा वडादेखि पालिकाका जनप्रतिनिधि सबैले निर्वाचनमा पुनः दोहोरिने आकाक्षा राखेको उनले बताए । 

त्यसैगरी नेकपा एमाले प्रदेशका अध्यक्ष विनोदकुमार शाहले पार्टीको बैठकहरूमा बहालवाला जनप्रतिनिधिहरूले पनि आकाक्षा देखाएको बताए । उनले योग्य र निर्वाचनमा जित्नसक्ने उम्मेदवारहरू छनोट गर्न पार्टी लागिपरेको बताए । 

स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा बहालवाला जनप्रतिनिधिहरूले टिकटका लागि प्रयास गरेपछि आकांक्षीको संख्या झनै बढेको छ । दलहरू पनि जित सुनिश्चित हुने अनुहारको खोजिमा छन् ।

पाँच वर्ष राम्रो काम गरेका जनप्रतिनिधिलाई फेरि उठाउँदा जित सहजै हात पार्न सकिने कतिपय दलहरूको आकलन छ । दलहरूले लोकप्रियताका आधारमै टिकट वितरण गर्ने भएकाले यो अवधिमा स्थानीयस्तरमा राम्रो प्रभाव पारेका जनप्रतिनिधि पुनः उम्मेदवार बन्ने सम्भावना बलियो देखिएका छ । 

यो सँगै एउटै पदमा बारम्बार उही व्यक्तिलाई अघि सार्दा अन्य नेता कार्यकर्तामा राजनीतिप्रति नकारात्मक प्रभाव पर्ने  सक्ने भएकाले दलहरूलाई चुनौती थपिएको देखिन्छ । 


Author

थप समाचार
x