कर्णाली

पाँच वर्षपछिको गुर्भाकोट : सबै वडामा सडक, घरघरै धारा

लक्ष्मी भण्डारी |
बैशाख ३, २०७९ शनिबार १९:८ बजे

सुर्खेत–  कुनै समय थियो–गुर्भाकोटकी मनसरी बिकलाई एक गाग्री पानी ल्याउनका लागि घण्टौ समय बिताउनुपथ्र्याे । एउटै धारामा गाउँभरीकाले पानीको पालो कुर्नुपर्ने हुँदा सिंगो बिहान पानीको लागि जान्थ्यो । 

कहिलेकाही त्यही धारामा पानी नआउँदा भेरीको पानी खान बाध्य हुनुपरेको मनसरीले बताइन् । तर, आजभोलि घरघरमै पानीको धारा आएपछि उनले बिहानको समय घरधन्दामा दिन भ्याएकी छन् । ‘एक महिनादेखि पानीको पालो कुर्नुपरेको छैन, घरमै पानीको धारा आएको छ’ उनी भन्छिन्, ‘पानी भर्न लाग्ने बिहानभरको समयमा त अहिले घरको काम गर्न पाएकी छु । तरकारी पनि लगाउन सुरु गरेकी छु ।’ मनसरी मात्र होइन पानीको समस्याका कारण ब्याकुल गुर्भाकोटबासीहरुका घरघरमा पानीको धारा पुगेपछि स्थानीयहरु खुसी छन् ।


गुर्भाकोट–३ का स्थानीयवासीहरु आफूले उत्पादन गरेका सामाग्रीहरु बिक्री गर्न दिनभर पैदल हिड्न बाध्य थिए । त्यही सामान बिक्री गर्दा कहिलेकाही दुई दिनसम्म पनि लाग्थ्यो । तर, आजभोलि गाउँमै गाडी जान थालेपछि स्थानीयहरु हर्षित भएका छन् । 
यहाँ नियमित गाडी चल्न थालेको पनि दुई वर्ष भयो। त्यसअघि यहाँ उत्पादित जडिबुटी तथा कृषिजन्य वस्तु किलोको १२ रूपैयाँ तिरेर गाडी पुग्ने ठाउँसम्म पुर्या‍उनुपर्ने स्थानीय किसान मानबहादुर खड्काले बताए । 

‘स्थानीय सरकार आएपछि बल्ल यहाँ सडक आयो, सडक बनेपछि हामीलाई धेरै सहज भएको छ । पाँच रूपैयाँमै ढुवानी गर्न पाइएको छ,’ खड्काले भने, ’पहिलेको तुलनामा उत्पादन गरेका तरकारी र जडिबुटी पनि बेच्न पाएका छौ ।’ यो गाउँमा तरकारी, फलफूलका साथै विभिन्न जडिबुटीहरु नगदे बालीबाहेक अदुवा, बेसार, टिमुर, रिठा लगायतको राम्रो उत्पादन हुन्छ । ‘हामीले गाउँमा सडक आएर यसरी सामान बिक्री गर्न पाइएला भन्ने कल्पना पनि गरेका थिएनौ’ उनी भन्छन्, ‘गाउँमै बाटोघाटो निर्माण भएर गाडी आउन थालेपछि हामीलाई सजिलो भएको छ ।’

यहाँका बासिन्दाका वर्षौंदेखिको सडक सपना स्थानीय सरकारले छ महिनामै पूरा गरेको गुर्भाकोट नगरपालिकाका मेयर हस्तबहादुरपुन बताउँछन् । जनप्रतिनिधि निर्वाचित भएसँगै सडक, विद्युत, खानेपानी लगायतका समस्याहरुलाई समाधानमा जोड दिएको नगरप्रमुख पुनले जानकारी दिए । 

सिँचाइ र सडकपछि स्वास्थ्यचौकी बनाउनमा पनि नगरपालिकाले जोड दिएको देखिन्छ । केही वर्षअघिसम्म स्वास्थ्यसंस्थामा बिरामी लैजान खाट तथा स्टेरमा बोकेर घण्टौ बाटो हिड्नुपर्ने अवस्था थियो । यसरी लामो समयसम्म हिडेर स्वास्थ्यसस्था लैजादा गर्भवती महिला बाटामै सुत्केरी हुन्थे भने, बिरामीको अबस्था पनि बेहाल नै हुन्थ्यो । तर, अहिले गाडीमै राखेर स्वास्थ्य संस्था लैजान सजिलो भएको छ । 

अहिले नगरपालिकाभित्र स्वास्थ्यचौकी र आधारभूत स्वास्थ्यचौकी गरी १८ वटा छन्। सरकारको एक वडा, एक स्वास्थ्यचौकी कार्यक्रमअन्तर्गत पनि वडाहरूमा स्वास्थ्य संस्थाका भवन बनेका छन्।

नगरपालिकाले ठूलो भूगोल र भौगोलिक कठिनाइ भएका वडाहरूमा आवश्यकताअनुसार थप भवन बनाएर स्वास्थ्य सेवा सञ्चालन गरेको जनाएको छ । नगरपालिकाले पाँचवटा स्वास्थ्यचौकीमध्ये दुईवटा नयाँ भवन आफैंले बनाएको छ । त्यस्तै आधारभूत स्वास्थ्यचौकीका १२ वटा भवन बनाएको छ।
’स्वास्थ्य संस्था निर्माणका लागि केन्द्र सरकारबाट पनि रकम उपलब्ध भएको थियो, त्यसबाहेक हामीले आफ्नो तर्फबाट पनि स्वास्थ्य संस्था स्थापना गरी सेवा दिइरहेका छौं,’ मेयर पुनले भने।

उनका अनुसार स्वास्थ्य क्षेत्रमा भौतिक संरचना निर्माणबाहेक नगरपालिकाको वार्षिक बजेटको १० बप्रतिशत खर्च हुन्छ। ’बढीमा एक घन्टाको पैदल दूरी पार गरेर आधारभूत स्वास्थ्य सेवा लिन सकिने गरी स्वास्थ्य संस्थाहरू स्थापना गरिएका छन्,’ पुनले भने, ’स्वास्थ्यमा जनशक्तिको अवस्था राम्रै छ। केही जनशक्ति नेपाल सरकारबाट प्राप्त छन्। केही जनशक्ति हामीले करार सेवामा राखेका छौं।’ 

गुर्भाकोट नगरपालिकाले गरेको अर्को प्रगति विद्युत विस्तारमा हो । नगरपालिकाले प्रत्येक बस्तीमा विद्युत पु¥याउने लक्ष्यसाथ काम गरेको छ । यसका लागि सामुदायिक विद्युतीकरण कार्यक्रम सञ्चालन गरिरहेको मेयर पुनले बताए । ’नेपाल विद्युत प्राधिकरणले बस्ती बाक्लो भएको वा बजार भएको ठाउँमा मात्र विद्युत विस्तार गर्ने गरेको छ,’ उनले भने,’ हामीले सामुदायिक विद्युतीकरणमार्फत गुर्भाकोटका हरेक बस्तीमा बिजुली बाल्ने तयारी गरेका छौं । अधिकांश बस्तीमा काम सम्पन्न भइसक्यो। अबको दुई÷चार महिनाभित्र नगरका सबै बस्तीमा विद्युत बल्छ ।’

गुर्भाकोट नगरपालिकाले आफ्नो कुल वार्षिक बजेटको ३५ प्रतिशत शिक्षामा खर्च गर्ने गरेको छ। विद्यालयमा छात्राहरूको सुविधालाई विशेष ध्यान दिइएको पुनले बताए । नगरपालिकाभित्रका ८४ वटा विद्यालयमध्ये २२ वटामा छात्राहरूलाई महिनावारी बेला आराम गर्न बेडको व्यवस्था गरिएको छ ।

‘महिनावारीका बेला छात्राहरू नियमित विद्यालय नआउने, विद्यालयमै महिनावारी भयो भने कक्षा छाड्नुपर्ने अवस्था आउने समस्या जताततै हुन्छन्,’ मेयर पुनले भने,’ हाम्रोमा पनि यस्तो अवस्था थियो, बेड रेस्टको व्यवस्था गरिएका स्कुलहरूमा अहिले त्यो समस्या छैन।’

विद्यार्थी अनुपातमा पर्याप्त शिक्षक नभएकाले सोचेअनुसार शिक्षामा प्रगति गर्न नसकेको मेयर पुन बताउँछन्। स्थानीय शिक्षक चन्द्रकली खत्री खत्री गुर्भाकोट नगरपालिकाको पाँचवर्षे कामबाट सन्तुष्ट छन् नगरपालिकाले स्वास्थ्यचौकी, स्कुल, सडक, कुलो निर्माणलाई प्राथमिकतामा राखेर काम गरिरहेको देखेर खुसी लागेको उनले बताइन् । ‘नगरपालिकाले सडक खानेपानी तथा विद्युत लगायतका क्षेत्रमा राम्रो काम गरेको छ’ उनी भन्छिन्, ‘महिलाको आर्थिक सशक्तिकरणको क्षेत्रमा पनि राम्रो काम भएको छ ।’

नगरपालिकाले युवाहरूलाई रोजगार बनाउन ’एक घर, एक रोजगार’ अभियान पनि चलाएको छ। यसअन्तर्गत बेरोजगार घरधुरीका तथ्यांक संकलन गरी सीपमूलक तालिम तथा अन्य अनुदान दिने गरिएको छ । सिलाइकटाइ, विभिन्न प्राविधिक शिक्षा, लक्षित वर्गका लागि सीपमूलक तालिम, मोबाइल मर्मत, लेखापढी व्यवसाय, भूकम्पप्रतिरोधी भवन निर्माणजस्ता तालिम युवाहरूलाई दिइएको मेयर पुनले बताए । प्रत्येक वडामा कृषिका लागि छुट्टाछुट्टै पकेट क्षेत्र पनि घोषणा गरिएको छ । 
 

नगरपालिकालले १४ वटा वडामा ६५ वटा कृषिका पकेट क्षेत्र घोषणा गरेको छ । यसअन्तर्गत टिमुर, बाख्रा, प्याज, तरकारी, टमाटर, कफी, ओखर, आँप, भैंसी, मकै, गहुँ, धान, मौरीपालनलगायत पर्छन्।
 

गुर्भाकोटले ’ज्येष्ठ नागरिक चौतारी’ कार्यक्रम गरी जनप्रतिनिधि र ज्येष्ठ नागरिकबीच मासिक भेटघाट, संवाद र संवाद क्रममा उठेका समस्या समाधानको पहल गर्ने काम पनि गरिरहेको छ ।

नगरपालिकाले समुदायबाट आएका मागका आधारमा विकास निर्माणका काम गर्ने गरेको मेयर पुनले बताए । ’जनताको मागअनुसार विकासका काम गर्ने हाम्रो नीति हो, समुदायका माग पनि पूर्वाधारतर्फकै हुन्छन्,’ उनले भने, ’सडक सञ्जालले जोड्नुपर्ने माग समुदायस्तरबाट बढी आउँछ ।’


Author

थप समाचार
x