कर्णाली

नेतृ भन्छन् : समाजले महिला नेतृत्व स्वीकार्दैन

लक्ष्मी भण्डारी |
बैशाख ६, २०७९ मंगलबार २१:३९ बजे

सुर्खेत– स्थानीय तह निर्वाचनको मिति नजिकिएसँगै राजनीतिक दलहरु उम्मेदवार छनोटमा व्यस्त छन् । दलहरु उम्मेदवार सिफारिस गर्न यतिबेला स्थानीय कमिटीहरूमा बैठक र छलफल चलाइरहेका छन् । 

कतिपय वडा र पालिकाका उम्मेदवारका नाम सिफारिस भएका छन् । उम्मेदवार छनोट भएकामा पनि प्रमुख पदहरुमा महिला उम्मेदवारको संख्या न्यून रहेको देखिन्छ । 


उम्मेदवार छनोटको अवस्थालाई हेर्दा यसपालि पनि २०७४ को निर्वाचनको अवस्था दोहोरिने सम्भावना बढेको छ । अहिलेको निर्वाचनमा पनि वडा र पालिकाका प्रमुख पदमा भने महिलाको उम्मेदवारी न्यून हुने देखिएको छ । वडा सदस्य र उपप्रमुख तथा उपाध्यक्षमा नै महिलाको प्रतिनिधित्व सिमित हुने देखिएको महिला नेतृहरुको भनाई छ । 

यतिबेला नेकपा एमालेले उम्मेदवार टुंग्याइसकेको छ भने गठबन्धन दल अन्योलमा रहेको देखिन्छ । नौ वटा स्थानीय तह रहेको सुर्खेतमा पालिका प्रमुखको उम्मेदवारका लागि न्यून महिलाको नाम मात्रै चर्चामा छ । सबैजसो स्थानीय तहमा महिलालाई वडा सदस्य र उपप्रमुखमा मात्रै अघि बढाउने गरी छलफल र तयारी भइरहेको पाइएको हो । 

नेपाली काँग्रेसकी नेतृ जानकी सिंहले यसपालिको निर्वाचनमा पनि महिलाको प्रमुख पदमा न्यून सहभागिता हुने देखिएको बताउँछिन् । ‘अघिल्लो वर्षको तुलनामा त सहभागिता केही बढ्ला तर, प्रमुख पदहरुमा थोरै मात्र सहभागिता हुने देखिएको छ’ उनी भन्छिन्, ‘अहिले पनि महिला उपप्रमुख र वडा सदस्यमा मात्र सिमित होलान जस्तो छ ।’ तर, बहालवाला अधिकांश उपप्रमुखहरु भने प्रमुख पदकै आकांक्षी रहेकाले यो संख्या बढ्न सक्ने सम्भावना पनि उत्तिकै देखिन्छ । 

वडा र पालिकाको नेतृत्वका आंकाक्षी महिलाहरू थुप्रै भएपनि उनीहरूलाई तल्ला कमिटीहरूमै थन्क्याउन सक्ने महिला नेतृहरुको भनाइ छ । बाध्यात्मक परिस्थितिबाहेक महिलाहरूलाई प्रमुख पदका लागि योग्य नठान्ने प्रवृत्ति यसपटक पनि देखिएको उनीहरू बताउँछन् ।

महिला जनप्रतिनिधिको प्रमुख पदमा अर्थपूर्ण सहभागिता अझै पनि चुनौतीपूर्ण रहेको वीरेन्द्रनगर नगरपालिकाकी उपप्रमुख मोहनमाया ढकालले बताइन् । ‘प्रमुख पदमा धेरैका आकांक्षा हुने र महिलालाई जिम्मेवारी दिन नचाहने प्रवृत्तिका कारण सिफारिसमा कम पर्ने गरेको छ’ ढकाल भन्छिन्, ‘वडा र पािलकाका प्रमुख पदमा स्वयं महिलाले पनि चासो कमै राख्ने गर्छन् र प्रमुख पदमा पुरुषसँग प्रतिस्पर्धा गर्नुपर्ने भएकाले उनीहरु पछि हट्छन् ।’

नेकपा एमालेबाट वीरेन्द्रनगर नगरपालिकाको उपप्रमुख पदमा आकाक्षीं मधुरानी ढकालले समाजले महिला नेतृत्व स्वीकार नगर्दा पनि पछि हट्नुपरेको बताउँछिन् । ‘महिलाहरु प्रमुख पदमा आकाक्षीं नभएका होइनन्’ उनी भन्छिन्, ‘समाजले महिलाको नेतृत्वलाई नपत्याउने प्रवृत्ति छ ।’ राजनीतिमा सक्रिय महिलाले आकांक्षी हुँदा समेत जित्न सकिदैन भन्ने निहुमा महिलालाई पछि पारेको ढकालको भनाइ छ । ‘पार्टीभित्र आकाक्षींमध्ये वरिष्टको लाइनमा महिला  नपर्दा पनि प्रमुख पदमा महिलाको सहभागिता नभएको हो’ उनी भन्छिन्, ‘चुनावको हारजितको कारण जस्ता अन्य कारणहरु देखाउँदा महिला पछि पर्न बाध्य छन् ।’

गठबन्धन दलभित्र उम्मेदवार भागबन्डाको किचलो छ । त्यहाँ पनि उम्मेदवारको दाबी गर्ने र चर्चामा आउने पात्र पुरुष नै देखिएका छन् । केही वडा र पालिकाबाट माथिल्ला कमिटीमा उम्मेदवारका नाम सिफारिस गरेका नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) ले महिलाको नाम आरक्षण सीटमा मात्र सिफारिस गरेका छन् । गठबन्धन दलहरूबीच चुनावी तालमेल हुँदा प्रमुख र उपप्रमुखको उम्मेदवारसमेत पुरुष नै पर्ने सम्भावना उत्तिकै छ । निर्वाचन आयोगले यसतर्फ दलहरूको ध्यानाकर्षण गराए पनि कार्यान्वयनको सम्भावना भने कमै देखिन्छ  । 

राजनीतिक दलहरू भने पालिकाका प्रमुख र उपप्रमुखमा पुरुष उम्मेदवारलाई अघि बढाउने गरी तयारीमा लागेका छन् । उम्मेदवार छनोटमा महिलालाई प्राथमिकता दिने भनिए पनि चुनावी तालमेलका कारण उनीहरू नपर्न पनि सक्ने देखिएको छ । 

महिला स्वयं पनि प्रमुख पदमा आउनको लागि आफ्नो क्षमता बढाउनुपर्ने सल्यान छत्रेश्वरी गाउँपािलकाका उपाध्यक्ष सीता केसी बताउँछिन् । ‘महिला आफुले नै आफ्नो क्षमता बढाउने र नेतृत्व हाक्न सक्ने हुनुप¥यो’ उनी भन्छिन्, ‘नेतृत् वगर्न सक्ने महिलालाई प्रमुख पदमा उठाउनल पार्टीले पनि कन्जुस्याई गर्नु भएन ।’
 


Author

थप समाचार
x