कर्णाली

कर्णालीमा कहाँ अड्कियो गठबन्धन दल ?

लक्ष्मी भण्डारी |
बैशाख ९, २०७९ शुक्रबार १९:४० बजे

सुर्खेत– मनोनयन दर्ता गर्ने दिन नजिकिँदै जाँदा जिल्ला र प्रदेशका गठबन्धन संयन्त्रलाई भने चुनावी तालमेल सकस परेको छ । पार्टीहरुले आन्तरिक रुपमा उम्मेदवारको छनोट गरेतापनि गठबन्धनमा सहभागी दलहरु कसरी तालमेल गरेर जाने भन्ने विषयमा अझै सहमति हुन सकेको छैन ।

निर्वाचन कार्यतालिका अनुसार वैशाख ११ र १२ गते उम्मेदवारको मनोनयन दर्ता गर्ने समय तोकिएको छ । आआफ्नो पार्टीबाट उम्मेदवारको छनोट गरेतापनि प्रदेशमा कुन् पालिकामा कसरी तालमेल गरेर जाने भन्ने विषयमा भने निश्कर्षमा दलहरु पुग्न सकेका छैनन् । यद्यपि गठबन्धनका नेताहरूले निर्णायक छलफलमा जुटेको बताउँदै आएका छन् ।
कर्णालीमा गठबन्धनभित्र मुख्यगरी नेपाली कांग्रेस र नेकपा ‐माओवादी केन्द्र) बीच कसले पालिकाको नेतृत्व लिने भन्नेमा हानथाप छ । अघिल्लो निर्वाचनमा आफुले जितेका पालिका र वडामा आफ्नै दलका उम्मेदवार उठाउने अडान राख्दै आएका छन् । ‘आफुले जितेको पालिकामा सुरक्षित गर्दै  एमालेले जितेको पालिकामा तालमेल गरेर जाने विषयमा छलफल गर्दैछौ’ गठबन्धन दलको बैठकमा सहभागी माओवादी केन्द्र कर्णाली प्रदेशको अध्यक्ष विमला केसीले भनिन्, ‘गठबन्धन दलहरुबीच कसरी तालमेल गर्ने विषयमा नै मुख्य रुपमा छलफल भइरहेको छ ।’
 


नेकपा‐एकीकृत समाजवादी)ले पनि अघिल्लो स्थानीय तह निर्वाचनमा नेकपा (एमाले)ले जितेका पालिका र वडामा नेतृत्वको दाबी गर्दै आएको छ । एमाले विभाजनपछि बनेको नयाँ दल एकीकृत समाजवादीले यस्तो दाबी गरिरहेको हो । 

गठबन्धन दलको पटक–पटक बैठक भइरहे पनि नेताहरू निष्कर्षमा पुग्न सकेका छैनन् । कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीले वडा र पालिकामा आ–आफ्नै दाबी गरिरहेका छन् । गठबन्धनभित्र खासगरी कसले कुन पालिका र के पद लिने भन्नेमा कुरा मिल्न सकेको छैन । सत्ता साझेदार दलहरूको अहिलेसम्मको छलफल र बैठक हेर्दा प्रदेशका १० मध्ये अधिकांश जिल्लामा तालमेल गर्न कठिन हुने देखिएको हो ।

केन्द्रबाट तालमेल गर्न भनिएपनि कतिपय ठाउँमा नेता कार्यकर्ता नै त्यसको पक्षमा नहुँदा समस्या देखिएको छ । तालमेल गर्ने वा नगर्ने भन्ने विषयमा कांग्रेसका नेताहरू केन्द्रदेखि स्थानीय कमिटीसम्मै विभाजित देखिन्छन् । त्यसको असर कर्णालीका जिल्लाहरुमा पनि देखिएको छ । 

गत चुनावमा कांग्रेस र माओवादी केन्द्रले २५÷२५ पालिका प्रमुख जितेका थिए । एमालेले २७ स्थानीय तहमा प्रमुख जितेको थियो । अहिले कांग्रेस र माओवादी केन्द्रले कम्तीमा ४०÷४० प्रमुख मागेका छन् । एकीकृत समाजवादीले २० स्थानीय तहमा प्रमुख दाबी गरेको छ । गत स्थानीय निर्वाचनमा पालिका प्रमुखले पाएको मतलाई आधार मान्दा एमालेको ३८ प्रतिशत, माओवादीको ३१ र कांग्रेसको २७ प्रतिशत थियो । एमाले पार्टी विभाजन हुँदा गत असोजमा कर्णालीबाट एकीकृत समाजवादीमा सनाखत गरेका तीन सय ३९ जना जनप्रतिनिधि रहेका छन् । 

नेपाली काँग्रेस प्रदेश अध्यक्ष ललितजंग शाहीले  आफ्नो पार्टीको सम्मानजनक र उचित स्थान हुनुपर्ने दावी गर्दै आएको बताए । ‘गठबन्धन दलको तालमेलको विषयमा छलफल गरिरहेका छौ’ उनी भन्छन्, ‘यसमा हाम्रो सम्मानजनक सहभागिता हुनुपर्छ ।’


Author

थप समाचार
x