कर्णाली

वीरेन्द्रनगरकी मेयर उम्मेदवार ढकाल भन्छिन् :

‘महिला भएकैले होइन मेयर भएर नगर चलाउने आत्मविश्वासले उम्मेदवारी’

लक्ष्मी भण्डारी |
बैशाख ११, २०७९ आइतबार १४:१० बजे

सुर्खेत– सुर्खेतको वीरेन्द्रनगर नगरपालिकामा नेकपा एमालेले नगरपालिका प्रमुखमा मोहनमाया ढकाललाई उम्मेदवार बनाएको छ । हिजो बसेको एमालेको बैठकले नगरको मेयरमा हाल बहालवाला उपप्रमुख ढकाललाई मेयरको उम्मेदवारी बनाएको हो । 

ढकाल अहिले नगरको उपमेयर हुन् । नेकपा एमालेको वीरेन्द्रनगर नगरप्रमुखका लागि पार्टीको जिल्ला कमिटी अध्यक्ष अमृत बिसी, उपाध्यक्ष कुलमणि देवकोटा, नगर कमिटी अध्यक्ष नीलकण्ठ खनाल, एमाले नेता हरिहरनाथ योगीले पनि दावी गरेका थिए । अन्ततः ढकाललाई मेयरको लागि पार्टीले टिकट दियो । 


ढकाल साहसिक नेताको रुपमा परिचित छन् । २०५६ सालबाट राजनीति यात्रा सुरु गरेकी ढकाल अहिले एमालेको केन्द्रीय कार्यसमितिमासमेत आबद्ध छन् । २०५६ मा अनेरास्ववियु शिक्षा क्याम्पस सुर्खेतको प्रारम्भिक कमिटी सदस्य, ०५७ मा अनेरास्ववियुको जिल्ला कमिटी कोषाध्यक्ष तथा महिला विभाग प्रमुख र ०५९ मा १६ औं अखिल नेपाल राष्ट्रिय विद्यार्थी यूनियनको राष्ट्रिय सम्मेलनबाट राष्ट्रिय परिषद् सदस्यमा आवद्ध थिइन् । पार्टीमा पु¥याएको योगदानले टिकट पाएर २०७४ मा उपमेयरमा विजयी भएको र यो पटक पार्टीले मेयर पदको उम्मेदवार बनाएको उनको भनाइ छ । 

स्पष्ट बोली, कार्यमा लगाव र सवै तहका महिलालाई समेट्न सक्ने क्षमताकै कारण वीरेन्द्रनगरको उप–प्रमुखमा भारी मत अन्तरले विजयी भएकी थिइन् । ६० देखि २०६२ सम्म विद्यार्थी राजनीतिमै सक्रिय रहेकी ढकाल ०६२ मा पार्टी राजनीतिमा प्रवेश र दुई कार्यकाल अखिल नेपाल महिला संघको नेतृत्व पनि चलाइन् । हाल उनी नेकपा एमालेको केन्द्रीय सदस्य तथा सुर्खेत सह ईन्चार्ज हुन् ।

पाँच वर्षसम्म उमप्रमुखको पद सम्हालेको र स्थानीय तह बुझ्ने मौका पाएकाले मेयरमा उम्मेदवारी दिएको बताउँछन् ।  ‘कार्यकालको सुरु देखि नै भौतिक पूर्वाधारलाई विशेष जोड दिएर काम गरेंकी थिए । त्यसो भन्दै गर्दा उपमेयरको मूख्य जिम्मा रहेको न्यायिक समिति, अनुगमन र राजश्व परामर्शको कामलाई पनि कम प्राथमिकतामा राखेको होइन’ उनी भन्छिन्, ‘अब बाँकी रहेका कामलाई निरन्तरता दिन मेयरको उम्मेदवारी दिएकी छु ।’

नगर प्रमुखका उम्मेदवार ढकाल उपप्रमुखको पाँच वर्षे कार्यकालमा आफ्नो पहिचान बनाउन सफल भएकी छन् । राजनीति शास्त्रमा एम पास गरेकी ढकाल उपप्रमुखमा निर्वाचित भएसँगै कानून विषयमा एलएलवी गरिन् । जसले गर्दा कर्णाली प्रदेशमै न्यायिक समितिमध्ये अब्बल काम गर्न सफल भइन् । उनी निडर र शाहसी राजनीतिज्ञ महिलाको रुपमा आफ्नो पहिचान स्थापित गरेकी छन् । २०७४ को स्थानीय निकायको निर्वाचनमा ढकालले १६ हजार ६८ मत ल्याएर वीरेन्द्रनगरको उप–प्रमुख पदमा विजयी भएकी थिइन् । 

‘मैले  पाँच वर्षसम्म काम गर्दा स्थानीय तहलाई नजिकबाट बुझ्ने मौका पनि पाए । हामी निर्वाचित भएर आउँदा एउटा कोरा जस्तै थियो । केही पनि थिएन । कतिपय अवस्थामा मन्त्रालयले गरेका परिपत्रका आधारमा पनि काम गर्नुप¥यो’ ढकाल भन्छिन्, ‘अहिले वीरेन्द्रनगरमा ७५ वटा ऐन नियम नियमावलीहरु तयार भएका छन् । यी सबै कानुन हरु निर्माण गर्दा मेरो प्रत्यक्ष सहभागिता छ । बजेट नीति योजना बनाउने काममा सहभागिता छ । त्यो सुरुवात गरेका कामहरुलाई पूरा गर्नका लागि उम्मेदवारी दिएकी हुँ ।’ 

आफू महिला भएकै कारण भन्दा पनि क्षमताकै आधारमा मेयरमा उम्मेदवारी दिएको उनको भनाई छ । ‘मेरो आफ्नो बुझाई महिला भएकै कारण मेयर पाउनुपर्छ भन्ने होइन की मैले कार्यसम्पादन गर्न सक्छु भन्ने आत्मविश्वास भएकाले प्रमुखको दावी गरेकी हुँ’ महिला भएकै कारण मेयरमा दावी गर्नुभएको भन्ने प्रश्नमा ढकाल भन्छिन्, ‘म महिला हो महिला भएकै कारण प्रमुख दिनुपर्छ भन्ने मान्यता राखेको छैन । महिला भएकैले होइन मेयर भएर पालिका चलाउन सक्छु भन्ने आत्मविश्वास छ त्यसैले उम्मेदवारी दिएको ।’

यो प्रदेशको राजधानीकै पालिका भएको र  यहाँ सामाजिक,  शैक्षिक, स्वास्थ्य सुशासन क्षेत्र सरकारी गैरसरकारी निकायहरुसँगको समन्वय हरेक कुराहरुले महत्व राख्ने हुनाले र प्रदेश तथा संघीय सरकारका संरचनाहरु यही पालिकाभित्र रहेको कारणले सबैसँग समन्वय गरेर काम गर्न सक्छु भन्ने लागेको ढकालको भनाई छ  ।

तीन वटै तहका सरकारसँग समन्वय गरेर काम गरेका अनुभव उनमा छ । ‘हामीले माथिल्ला निकायका सरकारसँग मिलेर काम ग¥यौ’ उनी भन्छिन्, ‘माहामारीको बेला पनि विकास निर्माणलाई निरन्तरता दिएर काम गरेका थियौ ।’ समाजिक कामले राम्रो प्रभाव पार्नुका साथै आमा सुरक्षा कार्यक्रम, छोरी जन्म बचत खाता, महिला स्वरोजगार कार्यक्रमबाट धेरै महिलाहरुले लाभ लिएको ढकालले बताइन् । 

नगरप्रमुख भएको खण्डमा नगरका अधुरा योजनालाई अघि बढाउने उनको भनाई छ ।
 


Author

थप समाचार
x