सुदूरपश्चिम

कन्चनपुर-१

बिनालाई कांग्रेसको भर, तारालाई एमालेकै डर

दीपक उपाध्याय |
कात्तिक २३, २०७९ बुधबार ११:१७ बजे

कैलाली- तीन वटा निर्वाचन क्षेत्र रहेको कञ्चनपुर- १ मा अहिले सत्ता गठबन्धनबाट नेकपा माओवादी केन्द्रकी बिना मगर र नेकपा एमालेबाट तारा लामा तामाङ चुनावी मैदानमा छन् । बिना पूर्वखानेपानी मन्त्री हुन् भने तारा सुदूरपश्‍चिम प्रदेशका पूर्वआर्थिक मामिला तथा योजनामन्त्री हुन् । बिना माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी बुहारी हुन् । बिनाले यसअघिको संघीय चुनाव पनि जितेकी थिइन् ।

उनीहरू दुवै जना अहिले एक–अर्कालाई प्रतिष्पर्धी ठान्‍छन् । तर नागरिक उन्मुक्ति पार्टीले समेत आफूलाई प्रतिष्पर्धीको रूपमा उभ्याएको छ ।


यहाँ नागरिक उन्मुक्तिले अघिल्लो पटक बेलौरी नगरपालिका-८ मा निर्वाचित वडाध्यक्ष नन्दकुमार रानालाई प्रतिनिधिसभातर्फ उम्मेदवार बनाएको छ ।

दुई हेभीवेट नेताहरूसँग चुनावी मैदानमा उत्रिएका राना आफ्नो जित सुनिश्चित भएको दाबी गर्छन् । अघिल्लो पटक वडाध्यक्ष हुँदा आफूले गरेको काम र जनतामाझ आफू लोकप्रिय रहेको भन्दै उनले आफ्नो जित सुनिश्चित भएको दाबी गर्छन् । 

अघिल्लो पटक वाम गठबन्धनमा सहयात्री भएर निर्वाचनमा होमिएका नेकपा एमालेका तारा र माओवादीकी बिना अहिले प्रतिस्पर्धी छन् । आफ्नो जित सुनिश्चित भएको उनीहरूको आ-आफ्‍नो दाबी छ ।

बिना संघीय मन्त्री हुँदा केही गर्न नसकेको र नागरिकले गठबन्धनलाई नरुचाएको कारण आफ्नो जित सुनिश्चित भएको एमालेका उम्मेदवार ताराको दाबी छ । उनले आफू प्रदेशको मन्त्री हुँदा यहाँ गरेको विकास निर्माणका कामले आफूलाई मत दिई विजयी गराउने कुरामा विश्वस्त रहेको दाबी गर्छन् । 

माओवादी आफैँ बलियो रहेको यस क्षेत्रमा कांग्रेससँग पनि तालमेल भएपछि जितमा आफ्नो बाधक कोही नरहेको बिनाको दाबी छ ।

तर, तारा र बिनाले जे जस्तो दाबी गरे पनि यहाँका मतदाताले भने दुवैलाई यहाँको विकासको लागि खासै केही उल्लेख्य काम गर्न नसकेको आरोप लगाउने गरेका छन् । कञ्‍चनपुरको दक्षिणी क्षेत्र यहाँ रहेको छोटी भन्सार खुला गर्न दुवैले नसकेको आरोप खेप्दै आएका छन् । २०७३ फागुन २६ गते भारतसँगको सीमा विवादका कारण गोविन्द गौतमले सहादत प्राप्त गरेदेखि नै बन्द रहेको आनन्द बजारस्थित छोटी भन्सार अझै खुल्न सकेको छैन ।

भन्सार नाका खुलाउनेबारे आफूले पहल गरिरहेको तारा बताउँछन् । उनले आफू सुदूरपश्चिम प्रदेश सभाका सदस्य एवं नेकपा संसदीय दलका प्रमुख सचेतक रहेकै बेला गौतमको सम्झनामा अर्धकदको शालिकसहित सहिद गोविन्द गौतम स्मृति पार्कको स्थापना गरेको बताए ।

नेकपा एमाले, सत्ता गठबन्धनबाट माओवादी केन्द्र र नागरिक उन्मुक्ति पार्टीका प्राथमिकतामा नेपाल–भारत सीमा क्षेत्रसँग जोडिएको समस्या नै प्रमुख एजेण्डा रहेका छन् । त्यस्तै बाढी, नदी कटान र आरक्ष पीडितहरूको समस्या समाधान, हात्ती आतंक रोकथाम, सडक सञ्जाल विस्तार सबैको प्राथमिकतामा परेका छन् ।

माओवादीकी उम्मेदवार बिना संघीय मन्त्री हुँदासमेत सीमा विवाद मिलाउन नसकेको, आरक्ष पीडितका समस्या समाधान गर्न नसकेको आरोप खेपिरहेकी छिन् । यद्यपि उनले बाढी, कटान, आरक्ष पीडित र सीमा समस्याका विषयमा धेरै आवाजहरू उठाएको बताउँदै आएकी छिन् ।

यता एमालेका उम्मेदवार तारा पनि यी नै विषयवस्तुहरू लिएर जनतासामु गइरहेका छन् । तर, तारालाई चुनाव जित्न भने त्यति सजिलो छैन । स्थानीय चुनावका बेला उनी संलग्न रहेको नेकपा समाजवादीले एमालेका उम्मेदवारहरू हराउन भूमिका खेलेको एमालेका केही नेताहरूले नै तारालाई आरोप लगाउने गरेका छन् । 

त्यस्तै नागरिक उन्मुक्ति पार्टीका रानाले पनि यी नै विषयहरू उठाइरहेका छन् ।


Author

दीपक उपाध्याय

उपाध्याय इकागजका सुदूरपश्‍चिम प्रदेश प्रतिनिधि हुन् ।


थप समाचार
x