सुदूरपश्चिम

कैलालीमा राति ९ बजेपछि देउसी भैलो खेल्न नपाइने

इकागज |
कात्तिक २६, २०८० आइतबार ७:५५ बजे

कैलाली- तिहार नजिकिएसँगै कैलालीमा रातिको ९ बजेपछि नाचगान तथा देउसी भैलो खेल्न नपाइने भएको छ ।

जिल्ला प्रशासन कार्यालय कैलालीले सार्वजनिक सूचना  जारी गर्दै सुरक्षालाई ध्यानमा राखेर रातिको ९ बजेपछि नाचगान तथा देउसी भैलो खेल्नमा रोक लगाएको हो ।


‘देउसी, भैलो, नाचगानलगायतका कार्यहरू बढीमा राति ९ बजेसम्म मात्र सभ्य एवं शान्तिपूर्वक गर्न अनुरोध छ’ प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलद्वारा जारी सूचनामा भनिएको छ ‘राति अबेरसम्म देउसी भैलो खेल्दा चोरी डकैतीलगायतका घटनाहरू हुने भएकाले त्यसलाई ध्यानमा राख्दै अनुरोध गरिएको छ ।’

साथै तिहारको समयमा विस्पोटक पदार्थहरूसमेत बिक्री बितरण तथा प्रयोग नगर्न जिल्ला प्रशासन कार्यालय कैलालीले अनुरोध गरेको छ । विस्पोटक पर्दाथबाट मानविय क्षति आगलागी जस्ता घटना हुने भएकाले सो बिक्री बितरण तथा ओसार-पसार र प्रयोग नगर्न नगराउन अनुरोध गरेको प्रशासनका सूचना अधिकारी शिवराज जोशीले बताए ।

‘मादक पदार्थलगायतका नशालु पदार्थ सेवन गरी पर्वको समयमा सार्वजनिक स्थलमा होहल्ला, झैझगडा जस्ता कार्य गरी शान्ति सुरक्षालाई असर पर्ने कुनै पनि कार्य गर्न पाइने छैन’ सो सूचनामा भनिएको छ ।

प्रशासनले देउसी भैलोमा दक्षिणाको लागि रकम तोकी दक्षिणा दिन दबाब नदिन र देउसी भैलोलगायतका कुनै पनि कार्यक्रम गर्दा सार्वजनिक यातायात र जनजीवनलाई असर पर्ने कुनै पनि गतिविधि नगर्न अनुरोध गरेको छ ।


Author

थप समाचार
x