सुदूरपश्चिम

भूकम्प प्रभावितका लागि उपलब्ध आठ करोड फिर्ता

इकागज |
मंसिर २९, २०८० शुक्रबार ८:५१ बजे

फाइल तस्बिर

बाजुरा- बाजुराका भूकम्प प्रभावित परिवारका लागि आएको पहिलो किस्ताको १४ करोड रूपैयाँमध्ये आठ करोड रूपैयाँ फिर्ता गरिएको छ । पहिलो किस्ताको १४ करोड रूपैयाँमध्ये १० करोड रूपैयाँ फिर्ता गर्न राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले पत्र पठाएपछि सो रकम फिर्ता गरिएको हो ।

जिल्ला विपद् व्यवस्थापन समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी भीमकान्त पौडेलका अनुसार प्राधिकरणले सोमबार जिल्ला प्रशासन कार्यालयलाई रकम फिर्ताका लागि पत्र पठाएको थियो । सो रकम विपद् व्यवस्थापन कोषमा पठाइएको उनले बताए । भूकम्पबाट प्रभावित अन्य जिल्लामा रकम अभाव भएको भन्दै प्राधिकरणले जिल्ला प्रशासन कार्यालय बाजुरालाई पत्र पठाएको थियो ।


प्राधिकरणले जाजरकोट र रुकुम पश्चिममा गएको भूकम्पबाट अत्यधिक क्षति भएकाले उक्त क्षेत्रमा प्रभावितका लागि तत्काल थप रकम निकासा गर्नुपर्ने भएकाले रकम फिर्ता गर्न पत्र पठाएको प्रजिअ पौडेलले बताए । प्राधिकरणले बाजुराका भूकम्प प्रभावितका लागि अस्थायी आवास निर्माण गर्न गत मङ्सिर ४ गते पहिलो किस्ताबापत १४ करोड रूपैयाँ पठाएको उनले जानकारी दिए ।

निकासा भएको सो रकममध्ये हिमाली गाउँपालिका र बूढीगङ्गा नगरपालिकाबाहेक जिल्लाका सात स्थानीय तहका एक हजार पाँच सय नौ प्रभावित परिवारका लागि तीन करोड ७७ लाख रूपैयाँ सम्बन्धित स्थानीय तहमा पठाइसकेको प्रजिअ पौडेलले बताए ।

खप्तड छेडेदह गाउँपालिकामा नौ सय ६६, त्रिवेणी नगरपालिकामा एक सय १३, गौमुल गाउँपालिकामा ५५, बूढीनन्दा नगरपालिकामा ६५, स्वामीकार्तिक खापर गाउँपालिकामा नौ, जगन्नाथ गाउँपालिकामा ७४ र बडीमालिका नगरपालिकामामा दुई सय २७ परिवारलाई प्रतिपरिवार २५ हजार रूपैयाँका दरले उपलब्ध गराउन सम्बन्धित स्थानीय तहको खातामा पठाइएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । प्राधिकरणले गत असोज १६ गते बझाङ केन्द्रविन्दु भई गएको भूकम्पबाट प्रभावितका लागि पहिलो किस्ताबापत रकम पठाएको थियो । रासस


Author

थप समाचार
x