सुदूरपश्चिम

प्रदेशको समृद्धिका लागि संघीय सरकारसँग जुध्न पनि तयार छौं : मुख्यमन्त्री शाह

इकागज |
पुस ९, २०८० सोमबार १७:१९ बजे

काठमाडौँ- सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले आफ्नो प्रदेशको विकास र समृद्धिका लागि संघीय सरकारसँग जुध्न समेत तयार हुने बताएका छन् । उनले प्रदेशको विकास र समृद्धिका लागि संघीय सरकारसँग आफूहरू अल्झिन नचाहेको बताए ।

सोमबार काठमाडौँमा आयोजित सुदूरपश्चिम लगानी तथा विकास सम्मेलन र पर्यटन व्यवसायीको भूमिका विषयक अन्तर्क्रिया कार्यक्रममा बोल्दै मुख्यमन्त्री शाहले सुदूरपश्चिम प्रदेशको विकासका लागि लगानी भित्र्याउन पनि निजी क्षेत्रलाई आह्वान गरे । त्यसका लागि प्रदेश सरकारले आवश्यक वातावरण बनाउने उनको भनाइ थियो ।


मुख्यमन्त्री शाहले सुदूरपश्चिम सम्भावना नै सम्भावनाको क्षेत्र भएकाले यसमा गरिएको लगानी खेर नजाने पनि दोहोर्याए । उनले यस क्षेत्रको विकासका लागि नै लगानी सम्मेलन गर्न लागिएको पनि स्पष्ट पारे । मुख्यमन्त्री शाहले देशभित्रै लगानीको वातावरण बनाउन सकेमात्रै बाह्य मुलुकबाट पनि लगानी भित्र्याउन सकिने भएकाले सुदूरपश्चिम प्रदेशको विकासमा पनि निजी क्षेत्रले जुट्नुपर्ने तर्क गरे ।

कार्यक्रममा बोल्दै नेपाली काँग्रेसकी सांसद डा. आरजु राणाले सुदूरपश्चिम क्षेत्रको उत्थानका लागि पर्यटन क्षेत्रको विकासमा जोड दिनुपर्ने बताइन् । उनले स्वदेशी तथा विदेशी पर्यटकहरूलाई सो ठाउँमा भित्र्याउनका लागि बनाउने कानुनको बारेमा संघीय संसदलाई सुझाव दिन पनि सुदूरपश्चिम प्रदेश सरकारलाई आग्रह गरिन् ।

लगानी बोर्डका प्रमुख प्रशासकीय अधिकृत सुशील भट्टले सुदूरपश्चिम प्रदेश सरकारले आयोजना गर्न विकास तथा लगानी सम्मेलनमा संघीय सरकारले सक्दो सहयोग गर्ने आश्वासन दिए । उनले सो लगानी सम्मेलनमा सहयोगका लागि आफूहरूले प्रधानमन्त्री पुष्पकमल दाहालसँग छलफल समेत गरेको जानकारी दिए ।

प्रमुख प्रशासकीय अधिकृत भट्टले लगानी बोर्डले सबै प्रदेशको लगानी सम्भाव्यताको बारेमा विस्तृत रूपमा अध्ययन गरिरहेको र त्यसलाई निरन्तरता दिने बताए ।

 


Author

थप समाचार
x