सुदूरपश्चिम

सुदूरपश्चिमका मुख्यमन्त्री शाहले दिए राजीनामा

इकागज |
चैत २२, २०८० बिहीबार १८:५२ बजे

धनगढी- सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले राजीनामा दिएका छन् ।

प्रदेश सभामा बिहीबार विश्वासको मत लिने तयारीमा रहेका शाहले प्रदेश प्रमुख नजिर मियाँलाई केहीबेर अघि राजीनामा बुझाएका हुन् । 


मुख्यमन्त्री शाहले बिहीबार दिउँसो ३ बजेको प्रदेश सभाको बैठकमा विश्वासको मत लिने कार्यसूची थियो । तर, विश्वासको मत पाउने वातावरण बनाउन प्रदेश सभा बैठक ५ बजेसम्म सारिएको थियो ।

माओवादी र एकीकृत समाजवादीले प्रदेशका मुख्यमन्त्री शाहको साथ छोडेकाले विश्वासको मत फेरि लिनुपर्ने भएको हो । अल्पमतमा रहेका मुख्यमन्त्री शाह विश्वासको मत अगाडि आफ्नो पक्षमा मत दिनका लागि अन्तिम कसरत गरिरहेको बुझिएको छ ।

उनले राप्रपालाई मनाउने प्रयास गरे पनि नाउपाको विवादका कारण उनको आवश्यक मत नपुग्ने भएको हो । 

सत्तारूढ दल नाउपाका २ सांसद विश्वासको मतको विपक्षमा देखिएकाले मुख्यमन्त्री शाहले विश्वासको मतका लागि आवश्यक २७ मत पाउन सक्ने सम्भावना टरेको हो ।

सुदूरपश्चिममा कांग्रेसका १८, माओवादी केन्द्रका ११, एमालेका १०, नाउपाका ७, एकीकृत समाजवादीका ४, राप्रपा र स्वतन्त्रका एक-एक प्रदेशसभा सांसद रहेका छन् ।


Author

थप समाचार
x