सुदूरपश्चिम

कैलालीमा नेकपा एस र लोसपामा सनाखत गर्न स्थानीय तहलाई पत्राचार

इकागज |
भदौ १७, २०७८ बिहीबार १३:३ बजे

कैलाली - प्रादेशिक निर्वाचन कार्यालय कैलालीले नेकपा (एकीकृत समाजवादी) र लोकतान्त्रिक समाजवादी पार्टीमा सनाखत गर्न इच्छुक जनप्रतिनिधिलाई बोलाएको छ । कैलालीको १३ वटै स्थानीय तहलाई पत्र पठाउँदै निर्वाचन कार्यालयले सनाखत गर्न इच्छुक जनप्रतिनिधिलाई भदौ २२ गते बेलुका ५ बजेसम्म सम्म नेकपा (एकीकृत समाजवादी) र लोकतान्त्रिक समाजवादी पाटी रोज्न पाउने व्यवस्था लागू गरेको छ ।

सोही अनुसार जिल्लामा स्थानीय तहमा पत्राचार गरिएको प्रदेश निर्वाचन अधिकारी प्रेम भट्टले जानकारी दिए । अहिलेसम्म कैलालीमा १३ जनाको मात्रै सनाखत भएको छ । बुधबार सम्म १० जना प्रदेश सभा सदस्यले नेकपा (एकीकृत समाजवादी) मा सनाखत गरेका छन् । भने ३ जना स्थानीय तहका जन प्रतिनिधिले पनि नेकपा (एकीकृत समाजवादी) सनाखत गरिसकेका छन् । 


बुधबारसम्म लोकतान्त्रिक समाजवादी पार्टीमा कसैले पनि सनाखत नगरेको निर्वाचन कार्यालयले जानकारी दिएको छ । नेकपा एकीकृत (समाजवादी) पार्टीमा जान इच्छुक नेकपा एमालेका प्रदेशसभा सदस्य, स्थानीय तहका जनप्रतिनिधि र जिल्ला समन्वय समितिका सदस्यहरूका लागि २२ गतेसम्मको समयसीमा तोकिएको छ । सरकारले हालै ल्याएको दल विभाजनसम्बन्धी अध्यादेशमा प्रदेशसभा सदस्य र स्थानीय तहका जनप्रतिनिधिले २१ दिनसम्म विभाजनबाट बनेको दल रोज्न पाउने व्यवस्था राखिएको छ ।


Author

थप समाचार
x