सूचना-प्रवधि

स्मार्टफोन चलाउन नजान्ने पुस्तालाई उपयोगी 'स्पीड डायल'

कमल धिताल |
भदौ २४, २०७८ बिहीबार १७:३६ बजे

काठमाडौं - स्मार्टफोन मानव जीवनको अभिन्‍न पाटो बनिसक्यो । तर नेपालका अधिकांश मानिस साक्षर नभएकाले सबैले स्मार्टफोनको सहज ढंगले प्रयोग गर्ने अवस्था भने छैन ।

सन् २०११ मा गरिएको जनगणनाका अनुसार नेपालको साक्षरता दर ६५.९ प्रतिशत छ । हाम्रा अघिल्ला पुस्तामा (खासगरी हजुरबुवा, हजुरआमा, बुवा, आमा) साक्षरता निकै कमी देखिन्छ । २१औं शताब्दीलाई सञ्‍चार तथा सूचना प्रविधिको युग भनिए पनि नेपाल जस्तो अल्पविकसित मुलुकमा साक्षरता विस्तार हुन नसक्दा त्यो पुस्ता सूचना प्रविधिसँग 'फ्यिमलियर' हुन सकेका छैन ।


स्मार्टफोन र इन्टरनेटको प्रयोगले मानिसले एकअर्कालाई सम्पर्कमा राख्‍न सहज हुन्छ । तर, अक्षर पनि नचिन्ने हाम्रा अघिल्ला पूस्ताले स्मार्टफोनमा अक्षर चिनेर एक व्यक्तिले अर्को व्यक्तिलाई सम्पर्क गर्न कठिन हुने गर्छ ।

नेपालको सन्दर्भमा गाउँमा बस्ने वृद्धवृद्धाहरूले सहर वा विदेश गएका आफ्ना सन्तानलाई कुराकानी गर्न असहज हुने गरेको छ । कतिपय अवस्थामा उनीहरूले पढेलेखेको मानिसको सहारा लिएर आफ्ना छोराछोरी वा नातिनातिनासँग सम्पर्क राख्ने गर्छन् । तर सधैं अरुको सहारा लिएर सम्पर्कमा बस्नु सहज हुँदैन । यस्तोमा स्मार्टफोनमा भएको सुविधालाई उपयोग गरी कसैको मद्दतविना पनि फोन लगाउन सकिन्छ । तर कसरी ?

यस्तोमा स्मार्टफोनमा भएको स्पीड डाइल भन्ने फिचर उपयोगी हुनसक्छ । स्पीड डायलको मद्दतले आफूले दैनिक सम्पर्क गर्न चाहेको व्यक्तिसँग विना झन्झट कुराकानी गर्न सकिन्छ । स्मार्टफोन चलाउन नजान्ने तथा असाक्षर व्यक्तिका लागि स्पीड डायल उपयोगी हुनसक्छ ।

यसरी सेट गर्नुहोस् स्पीड डायल

. सुरुवातमा तपाईं आफ्नो मोबाइलको डायलबक्स ओपन गर्नुहोस् ।

. फोन डायल बक्सको माथिल्लो साइडमा रहेको सेटिङ खोल्नुहोस् ।

. एड्भान्स अप्सनमा गएर क्विक डायल वा स्पीड डायल जानुहोस् ।

. अब एक देखि नौ सम्म आफ्नो आवश्यकता अनुसारको नम्बर राख्नुहोस् ।

. पहिला सेभ भएको नम्बर छ भने त्यसलाई इडिट गर्न सक्नुहुन्छ ।

.  अब तपाईंले राखेका नम्बरहरु स्पीड डयालमा रह्यो वा रहेन भनेर हेर्न कुनै नम्बरलाई केहिबेर थिचेर हेर्नुहोस् ।

यसरी तपाईंले प्रयोग भैरहने नौ ओटा नम्बरहरू स्पीड डायलमा राखेर सजिलै अन्य व्यक्तिको नम्बरमा सम्पर्क गर्न सक्नुहुनेछ ।  


Author

थप समाचार
x