सेयर

सेयर बजारमा सामान्य सुधार

इकागज |
असोज १५, २०८० सोमबार १६:५ बजे

फाइल फोटो

काठमाडौं - दुई दिनको करेक्सनपछि सोमबार सेयर बजारमा सामान्य सुधार देखिएको छ ।

यस दिन नेप्से सूचक ५.१९ विन्दुले बढेर १९७६.२९ अंकमा आएको छ । ४ कम्पनीमा ९ प्रतिशतभन्दा बढी वृद्धि हुँदा १ अर्ब ७३ करोड रुपैयाँभन्दा धेरैको सेयर कारोबार भएको छ । होटेल र उत्पादनमूलक समूहबाहेक बाँकी सबै समूह बढेका छन् । 


गत साताको बुधबार १८.६० अंक र यो साता आइतबार ३३.२० अंकले नेप्से घटेको थियो । सोमबार पनि बजार करिब २ बजेसम्म करेक्सनमै थियो । त्यसपछि भने बजारमा केही सकारात्मक माहोल देखिन थालेको हो । यसआधारमा लगातार २ दिनको करेक्सनपछि सूचक सकारात्मक देखिएको हो । 

बिहीबार भने सार्वजनिक विदाका कारण सेयर कारोबार भएको थिएन । 

यद्यपि, समग्रमा हेर्ने हो भने बजार ओरालो यात्रामै छ । लामो समयदेखि बजारले गति लिन सकेको छैन । नीतिगत अवरोध र चर्को ब्याजदर नै बजार तल झार्ने मुख्य कारण मानिएका छन् । नीतिगत अवरोध जारी रहँदा आम लगानीकर्ताको बजारप्रति नकारात्मक मनोविज्ञान हावी छ । 

यस दिन २८६ कम्पनीको ५७ लाख ७६ हजारभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । २१ करोड ६८ लाख रुपैयाँभन्दा बढीसहित कारोबार रकममा एनआइसी एसिया बैंक अग्रस्थानमा आएको छ । यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः सिटिजन लाइफ इन्सुरेन्स र सोल्टी होटेल परेका छन् । 


Author

थप समाचार
x