सेयर

बुक बिल्डिङ विधिमार्फत सेयर निष्काशनको तयारी

४६ कम्पनीलाई योग्य संस्थागत लगानीकर्ताको अनुमति

इकागज |
पुस २३, २०७७ बिहीबार १७:२४ बजे

काठमाडौं : धितोपत्र बोर्डले ४६ संगठित संस्थालाई योग्य संस्थागत लगानीकर्ताको रुपमा काम गर्न स्वीकृति दिएको छ । बुक बिल्डिङ विधिमार्फत सार्वजनिक सेयर निष्काशन गर्ने सन्दर्भमा ती कम्पनीहरूलाई स्वीकृति दिएको हो ।

धितोपत्र बोर्डले बुक बिल्डिङ्ग निर्देशिका, २०७७ जारी गरिसकेको छ । वास्तविक क्षेत्रका केही कम्पनीहरुले यस विधिमार्फत् धितोपत्रको सार्वजनिक निष्काशन गर्न तयारी गरेको बोर्डले जानकारी दिएको छ ।


बोर्डले इच्छुक संस्थाहरुलाई योग्य संस्थागत लगानीकर्ताको रुपमा स्वीकृति लिन निवेदन पेश गर्न सूचना आह्वान गरेको थियो । सोही अनुसार ६२ संस्थाहरुले निवेदन पेश गरेका थिए । निवेदक संस्थाको वित्तीय तथा व्यवस्थापन पक्षको अध्ययन गरी निर्देशिका बमोजिमको कागजात तथा विवरण पेश गरेका ४६ संगठित संस्थालाई योग्य संस्थागत लगानीकर्ताको रुपमा कार्य गर्न बोर्डले स्वीकृति प्रदान गरेको छ।

स्वीकृतिप्राप्त योग्य संस्थागत लगानीकर्ताले प्रारम्भिक सार्वजनिक निष्काशनको मूल्य निर्धारणमा दक्ष तथा व्यवसायिक सहभागितामार्फत् धितोपत्रको उचित मूल्य निर्धारण गर्न सहयोग पुग्नुका साथै वास्तविक क्षेत्रका संगठित संस्थाको थप प्रवेश हुने बोर्डको अपेक्षा छ । निष्काशनकर्ता कम्पनीको प्राविधिक, वित्तीय, व्यवस्थापन, भावी योजना तथा रणनीति लगायतका विवरणको अध्ययनको आधारमा सूसुचित तवरले धितोपत्रको आशय मूल्य पेश गर्ने बोर्डले जानकारी दिएको छ ।

के हो बुक बिल्डिङ

बुक–बिल्डिङ धितोपत्रको निष्कासन मूल्य पत्ता लगाउने विधि हो । यसमा सर्वप्रथम कुनै मूल्यांकन विधिका आधारमा धितोपत्रको वित्तीय मूल्यांकन गरिन्छ । यो मूल्यांकन रकममा केही प्रतिशतले थपघट गरेर निष्कासन मूल्यको दायरा तोकिन्छ । सम्भावित लगानीकर्ताबाट उनीहरूले खरिद गर्न चाहेको आशय मूल्य र संख्यामा आवेदन माग गरिन्छ ।

प्राप्त आशय मूल्य र सेयर संख्याका आधारमा लगानीकर्ताले तिर्न चाहेको ‘भारित औसत मूल्य’ गणना गरिन्छ । यही मूल्य नै धितोपत्रको निष्कासन मूल्य (कट-अफ प्राइस) हुन्छ । लगानीकर्तालाई यही निष्कासन मूल्यमा समानुपातिक हिसाबले धितोपत्रको बाँडफाँट गरिन्छ ।

बुक–बिल्डिङले धितोपत्रको चुस्त मूल्य निर्धारण गर्ने भएकाले अन्तर्राष्ट्रिय अभ्यासमा यसको व्यापक प्रयोग हुन्छ । यस विधिमा लिड-अन्डरराइटरको भूमिका महत्वपूर्ण हुन्छ । धितोपत्र निष्कासन गर्ने कम्पनीले कुनै इन्भेस्टमेन्ट बैंकलाई लिड–अन्डरराइटर नियुक्ति गरेपछि बुक–बिल्डिङको प्रक्रिया सुरु हुन्छ ।


Author

थप समाचार
x