समाज

चोरी भएर अमेरिका पुगेको प्रस्तरको तारा/पार्वतीको प्राचीन मूर्ति फिर्ता

इकागज |
असार १०, २०७९ शुक्रबार २१:२० बजे

काठमाडौँ- नेपालबाट हराएर अमेरिका पुगेको पुरातात्विक महत्वको प्रस्तरको तारा/पार्वतीको प्राचीन मूर्ति फिर्ता गरिएको छ । पुरातत्व विभागले आज आयोजना गरेको कार्यक्रममा ती मूर्ति सार्वजनिक गरिएको छ । 

फिर्ता भएको मूर्तिको तौल ८३ किलोग्राम छ । समभङ्ग मुद्रामा उभिएको कला शैलीको हिसाबले आरम्भिक मध्यकालको, हातमा नालसहितको कमलको फूल लिएको स्वरूपमा नवौँ/दशौँ शताब्दीतिर बनेको मूर्ति फिर्ता भएको पुरातत्व विभागका महानिर्देशक दामोदर गौतमले कार्यक्रममा जानकारी दिए ।


यो मूर्ति भक्तपुर नगरपालिका-७ गोलमढी टोलस्थित वीरभद्रेश्वर मन्दिरमा स्थापित थियो । यो मूर्ति सन् १९७६ पछिका वर्षमा चोरी भई विभिन्‍न माध्यम हुँदै एक दातामार्फत् सन् २०१५ मा संयुक्त राज्य अमेरिकाको कनेक्टिकटस्थित याले विश्‍वविद्यालयको आर्ट ग्यालरीले प्राप्त गरेको पत्ता लागेको विभागले जनाएको छ ।

मूर्तिको उत्पत्तिस्थल नेपाल भएको भनी विभागबाट गरिएको अनुसन्धानका आधारमा पुष्ट्याइँ दिएपछि विश्‍वविद्यालयको आर्ट ग्यालरी फिर्ता गर्न तयार भएको थियो । मूर्ति फिर्ता गर्ने सम्बन्धमा गत वैशाख २३ गते न्यूयोर्कस्थित नेपाली महावाणिज्य दूतावास र विश्‍वविद्यालयबीच सहमति पत्रमा हस्ताक्षर भएको थियो । मूर्ति नेपाल ल्याउन बीमा र ढुवानीको खर्चसमेत विश्‍वविद्यालयले नै व्यवस्था गरेको हो । फिर्ता भएका सम्पदा सुरक्षा, संरक्षण, अनुसन्धानकर्तासम्मको पहुँचका लागि आजै राष्ट्रिय संग्रहालयलाई हस्तान्तरण गरिएको छ ।

अमेरिकाको सहयोगमा गत जेठ महिनामा चतुर्मुखी शिवलिङ्ग, प्रस्तरको उमामहेश्वरको मूर्ति, प्रस्तरको नागराजको मूर्ति, पद्मपाणि लोकेश्वर अर्थात् बोधिसत्व अवलोकितेश्वर मूर्ति र प्रस्तरको शाक्यमुनिको मूर्ति पनि नेपाल फिर्ता भएको थियो । 

प्रस्तरको चतुर्मुखी शिवलिङ्ग विशेष प्रकारको छ । तीन तहको यो मूर्तिमा ब्रह्मभाग, विष्णुभाग र शङ्करभाग छ । खम्बामाथि बनेको यो मूर्ति सन् १९८० को आसपासमा पशुपति क्षेत्रबाट हराएको थियो । 

प्रस्तरको उमामहेश्वरको मूर्ति ललितपुर महानगरपालिका-११ गाःहिटी टोलमा रहेको थियो । यो मूर्ति सन् १९६० मा हराएको हो । यो मूर्ति १०औँ शताब्दीको हो । यो मूर्ति अमेरिकाको डेनभर आर्ट संग्रहालयको एसिया संकलनमा भेटिएको थियो । 

प्रस्तरको नागराजको मूर्ति १२औँ वा १३औँ शताब्दीको हो । यो मूर्ति राजकीय स्वरूपको मानवाकार छ । यो मूर्ति सन् १९८२ मा नक्साल क्षेत्रबाट हराएको हो । पद्मपाणि लोकेश्वर अर्थात् बोधिसत्व अवलोकितेश्वर मूर्ति सन् १९५० तिर हराएको विभागले जनाएको छ । यो मूर्ति अमेरिकाको एक निजी कम्पनीको संकलनमा रहेको थियो । 

प्रस्तरको शाक्यमुनिको मूर्ति पनि सन् १९५० कै दशकमा हराएको हो । यो मूर्ति पनि अमेरिकाको एक निजी कम्पनीको संकलनमा रहेको थियो । युपिएस कार्गोले यी मूर्ति निःशुल्क फिर्ता गराउन सहयोग गरेको थियो । अमेरिकामा यी सामग्री संग्रह गरेका निकाय एवं कम्पनीले पनि सहयोग गरेको विभागका महानिर्देशक गौतमले बताए । 

मूर्ति साविककै स्थानमा स्थानान्तरणका लागि अनुरोध भई आएमा प्राचीन स्मारक संरक्षण ऐन, २०१३ को दफा २० क को प्रावधानअनुसार गर्न सकिने विभागले जनाएको छ ।

सो अवसरमा नेपालस्थित अमेरिकी दूतावासका डेपुटी चिफ अफ मिसन म्यानुअल पि मिकालरले नेपालबाट चोरी निकासी भई अमेरिका पुगेका पुरातात्विक महत्वका सामग्री फिर्ता गर्दै जाने नीति रहेको सुनाए । उनले नै मूर्ति विभागका महानिर्देशक गौतमलाई हस्तान्तरण गरेका हुन् । रासस


Author

थप समाचार
x