समाज

रैथाने घर : गाउँका उत्पादन सहरमा

नयाँ पुस्ताले नदेखेका वस्तुहरू रैथाने घरमा

अतिन आचार्य |
असार २२, २०७९ बुधबार १६:२६ बजे

तस्बिर : मिनरत्न बज्राचार्य

काठमाडौँ- ‘गाउँको उत्पादन सहरमा, रैथाने खाना घर–घरमा’ दराजमाथि लेखिएको छ । रैथाने घरभित्र छिर्नासाथ साना–साना र्‍याकमा गाउँघरमा उत्पादित घ्यू, मह, तेलजस्ता शुद्ध कृषिजन्य उत्पादनहरू देख्न सकिन्छ । 

रैथाने घरमा  र्‍याकमा लेखिएजस्तै गाउँमा उत्पादित कृषिजन्य सामग्री मात्र पाइन्छन् । गाउँको कुनै घरमा पुगेको अनुभूति दिलाउँछ, त्यहाँ रहेका ठेकी, जातो, घुम, ओखली, गुन्द्री र डोको जस्ता सामग्रीहरूले । 


चक्रपथ (रिङरोड) बाहिर चप्पल कारखाना चोकदेखि ५० मिटर भित्र ‘रैथाने एग्री पोडक्टस नेपाल’ छ । ग्रामीण भेगमा बस्ने किसानकै घर–आँगनको आभास दिने स्टोरमा बसिरहेका थिए, तिलक ढकाल । 

काठमाडौँ महानगरपालिका– ४ को  रैथाने एग्रीमा उनको दिनचर्या बितिरहेको छ । तिनै ढकालले चार वर्षअघि जागिरे जीवनबाट बिदा लिँदै गर्दा सोचे, ‘नेपालको पहिचान नमेटिने त्यस्तो वस्तुहरू के होला जसले नेपाललाई अन्तर्राष्ट्रियस्तरमा चिनाओस् ।’ 

ढकाल हिजोआज गाउँ घरमा देखिने डोका,नाम्लो, जाँतो र ठेकी कुरेर बसेका छन् । सुदूर पूर्व र पश्‍चिमको स्वाद काठमाडौँका ग्राहकले चाखिरहेका छन् ।  गाउँघरको बारीमा उब्जिएका उत्पादित सामग्री उनले सहरका भान्सामा पुर्‍याएका छन् ।

वन वन्यजन्तु संरक्षण कार्यक्रममा करिब दुई दशक बिताएका उनले वन्यजन्तुको क्षेत्रमा मात्र व्यवसायिक जीवन बिताएनन् रेडक्रसमा प्रोग्राम अफिसरको रुपमा आठ वर्ष काम गरे । 

काम गर्दाको उनले ग्रामीण भेगमा देखेका वस्तुहरू सहरमा आउँदा हराउन थालेको छ । हिजोआज हराउँदै गएका ग्रामीण क्षेत्रबाट समेत हराउँदै गइरहेका सामग्री संकलन गर्ने सोच बनाइ उनी त्यही सोचलाई मूर्त रुप दिँदैछन् । 

नेपाल झल्कने विशेषता

गाउँ–गाउँ पुग्दा उनले स्थानीय सामग्री देख्थे । ७२ जिल्लाको भ्रमण गरिसकेका उनले सबै ठाउँको विशेषता झल्कने वस्तुहरू राखेका छन् । ग्रामीण भेगमा देखिने रैथाने सामग्री लोप हुँदै गएकामा उनी चिन्तित छन् । जहाँ गाउँकै कतिपय घरमा पुराना सामग्रीहरू सहजै पाउन नसकिने उनले बताए ।

‘नयाँ पुस्ताले यहाँ भएका कतिपय वस्तुहरू देखेका छैनन्,’ उनले भने, ‘उनीहरू यहाँ अवलोकन तथा भ्रमणमा आए भने गाउँमा पाइने वस्तुहरू सहजै देख्न सक्छन् ।’ गाउँमा पाइने वस्तुहरू सहरमा सहजै भेटिँदैनन् । '

ग्रामीण भेगमै कतिपय सामग्री लोपोन्मुख अवस्थामा पुगेकाले रैथाने सामग्री संकलन गरी बिक्रीमा राखेको ढकाल बताउँछन् । उनी कामको सिलसिलामा विदेशी मुलुकको गाउँ–ठाउँ पुग्थे । भ्रमणमा पुगेको समयमा विभिन्न ठाउँमा स्थानीय खानाले उनलाई स्वागत गर्थे ।

‘होटलमा तथा बाहिरी अवलोकनमा निस्कँदा त्यहाँका मानिसले हामीलाई स्थानीय खानेकुरा दिएका थिए,’ केन्या पुगेको क्षण सम्झँदै उनी भन्छन्,’ नेपालमा भने होटलमा जाँदा बर्गर र पिज्जा मात्र पाइन्छ । होटलमा स्थानीय खाने कुरा हत्तपत्त पाइँदैन । आफ्नो गाउँ–घरमा उत्पादित वस्तुहरूलाई बिक्री र प्रवर्द्धन गर्ने मुख्य उद्देश्यले यस्ता वस्तुको बिक्री गरिरहनु परिरहेको छ ।'

रैथानेलाई विदेशसम्म पुर्‍याउने योजना

स्वदेश तथा विदेशमा देखेका र सिकेका भोगाईंलाई उनले आफ्नै मुलुकमा लागू गर्ने प्रयास गरिरहेका छन् । उनले तराई, पहाड र हिमाली भेगमा पाइने कृषिका थोकहरू उनको मुख्य रोजाइ बन्यो । तीनै गाउँमा उत्पादित वस्तुहरू सहरमा पुर्‍याउन कोशिश गरिरहेका छन् । 

सहरका मानिसहरूको घुइँचो बिहानदेखि रैथाने घरमा लाग्छ । सहरका धेरै मानिस तथा नयाँ पुस्ताले नदेखेका वस्तुहरू रैथाने घरमा पाइन्छन् । फोन गर्नेदेखि सामाजिक सञ्जालबाट ‘म्यासेज’ गरेर माग गर्नेको संख्या पनि उत्तिकै छ । रैथानेबाट दैनिक ३० जनाले सामान लैजाने गरेका छन् ।

४२ जिल्लामा उत्पादित कृषि सामग्रीहरू रैथाने घरमा पाइन्छन् । ९ हजार ५ सय बढी किसानले उत्पादन गरेका कृषि सामग्री पाइन्छन् । रैथानेमा उनी मात्र एक्लै छैनन् । उनीसहित २५ जिल्लाका ४९ जनाको टिमले तीन वर्षअघि २ करोड २५ लाख ५० हजारको लगानीमा कम्पनी स्थापना गरेका हुन् ।

काठमाडौँबाट रैथाने सुरु गरेका उनको टिमले विदेशमा पनि व्यापार गर्ने योजना राखेको रहेको उनले सुनाए । आइएसओमा गएपछि बिस्तारै मुलुकबाहिर व्यापार बिस्तार गर्ने बताए । उनी भन्छन्, ‘नेपालमा बसेर रैथाने सामग्रीको व्यापार गर्न सिकिरहेका छौँ । सिक्दैछौ र बुझ्दैछौ अब विस्तारै समुद्रपारि लाग्छौ ।’

रैथाने घरमा के-के पाइन्छ ?

डोको, घट्ट, डालो, नाङ्लो, चाल्नो, ओखली, ठेकी, कप, गुन्द्री, जातो, घुम, चकटी, दुना, टपरी र हाते झोला पाइन्छ । ढिकीको मूल्य १० देखि १५ हजार रुपैयाँ, ठेकी २ देखि १२ हजार, घट्ट ४० देखि ५० हजार, डोको, नाङ्लो र चाल्नोहरूको मूल्य ३ देखि ७ सय रुपैयाँसम्म पाइन्छ ।

खाद्य सामग्रीमा तोरीको तेल, चिउरीको मह, रुदीलोको मह, गाईको घ्यु, मिक्स घ्यु, काला नमक चामल, समुद्र फिनी चामल, जेठो बुढो, मकै,  आलु, अकबरे खोर्सानी र बेतको सर्बत, क्यामोमाइल टी, सख्खर, गेडागुडी, मास, सिमी, बेसार र लसुन लगायतका खाद्य सामग्री पाइन्छ ।

रैथाने घरमा तोरीको तेल, घ्यू, जौ को सातु, चनाको सातु, मह र कोदोको पिठो बढी माग हुने ढकालले जानकारी दिए । अनलाइन वा फोनबाट माग गर्नेहरूलाई निशुल्क ग्राहकको घरसम्म पुर्‍याउँने गरेको उनले बताए ।

रैथानेमा कहाँ–कहाँबाट सामग्रीहरू आउँछन् ? 

उनी कहाँ मकवानपुर, नुवाकोट, सोलुखुम्बु, ताप्लेजुङ, दाङ र रोल्पा लगायतका अन्य जिल्लाबाट आउने गर्छन् । उनी बजारमा पाइने सामग्री भन्दा रैथानेमा केहीँ मँहगो भएको स्वीकार्छन् ढकाल । जिल्ला–जिल्लामा गएर किसानको समूहबाट खरिद गर्नुपर्ने भएकाले मँहगो पर्न गएको हुन सक्ने उनको भनाइ छ । जिल्लामा कृषि सहकारी, समूह र किसानसँग प्रत्यक्ष खरिद गर्ने गरेको छ रैथानेले ।

‘हामीले व्यवसाय सञ्चालन गर्न थालेपछि किसानहरू प्रत्यक्ष लाभान्वित भएका छन्,’ उनले अगाडि थपे, ‘बिचौलियाहरू किसान कहाँ पुग्‍न सकेका छैनन् । उनीहरू भन्दा हामी अगाडि पुगेका उचित मूल्य दिएका छौ ।  प्रत्यक्ष उनीहरूबाट खरिद गरेपछि किसानहरूले उचित मूल्य पाएका छन् ।’

सीप भएका मानिस किसान मात्र हुन् । सीप र श्रम गर्ने मानिस नै अभावमा बाँचिरहेको उनलाई लाग्दो रहेछ । उनका अनुसार, सीप भएका मानिस गाउँमा बसिरहेका छन् । गाउँको मानिस नभए सहरमा भोकै जाग्थ्यो । उत्पादित धेरै सामग्रीहरू सहरसम्म आई पुग्दैन थियो ।

सहरका मानिससँग सीप छैन

तीन वर्षमा कामको सिलसिलामा विभिन्न जिल्ला पुगेका उनी आफ्नो अनुभव सुनाउँदै भन्छन्, ‘सहरमा पढे-लेखेका मानिससँग शब्द मात्र छन् । शब्दमा सीप छैनन् । गाउँमा बसेकाहरूको हातमा सीप छ । उनीहरूको सीपबाट उत्पादित सामग्रीहरू सहरमा बिक्री भइरहेकाले आर्थिक अवस्था मजबुत हुँदै गएका छन् ।’

गाउँमा उत्पादित सामग्रीहरू संकलन गर्न कठिन रहेको सुनाउँछन्, उनी । उत्पादन कम हुने भएकाले ठाउँ–ठाउँबाट ल्याएर संग्रह गर्नुपर्ने बाध्यता छ । उत्पादन भए पनि यातायात मार्गको पहुँच नहुँदा समयमा बजारमा सामग्री नपुग्दा बारीमा कुहिने अवस्था रहेको उनले सुनाए । ‘किसानले बारीमा उत्पादन भएका वस्तुहरू आधा दिन लगाएर बाटोसम्म ल्याउने गरेका छन्,’ किसानको व्यथा देखेका उनले भने ।

रैथानेले पर्यटकलाई आकर्षित गर्न सक्छ

‘उत्पादन गर्ने किसानको संख्या बढेमा शुद्ध खान पाएर खुसी हुने मानिसको पनि संख्या पनि बढ्छ,’भुइँमा राखिएको लसुनलाई देखाउँदै उनले भने, ‘गाउँमा बनेका सामग्री र उत्पादित सामग्रीलाई जोगाउनु मुख्य रैथानेको पहिलो प्राथमिकता हो ।’

मुलुकभित्र उत्पादन सामग्री, कला र संस्कृतिलाई संरक्षण नगरी मुलुक समृद्ध नहुने उनको तर्क छ । रैथानेले पुराना–पुराना सामग्रीको प्रचार–प्रसार तथा संरक्षण गरिरहेको उनले बताए । ‘मागेर मुलुक समृद्ध बन्दैन, भएका उत्पादित सामग्रीलाई बजारीकरण गरेर आम्दानी गर्न सकेमा मुलुक र किसानको आर्थिक अवस्था मजबुत हुन्छ,’ उनी भन्छन् ।

गाउँमा पाइने पुराना–पुराना सामग्री देखाएर पनि पर्यटन बिस्तार गर्न सकिने उनको बुझाइ छ । ’पर्यटकलाई गाउँमा पुर्‍याएर निर्मित सामग्री, खाना, कला र संस्कृति देखाउन सकेमा आम्दानीको स्रोत बढाउन सकिन्छ,’ उनले रैथानेको सम्भावना सुनाउँदै भने ।


Author

अतिन आचार्य

वैदेशिक रोजगार, जन-स्वास्थ्य र सामाजिक मामलामा कलम चलाउँने आचार्य संवाददाता हुन् ।


थप समाचार
x