समाज

साउन लाग्‍नै थाल्यो : इन्द्रचोकमा छैन चुरा पोतेको व्यापार

अतिन आचार्य |
असार ३२, २०७९ शनिबार ७:४५ बजे

काठमाडौँ- साउन लाग्न एक दिन मात्र बाँकी छ । पसलमा हरियो, पहेँलो र रातो रंगका पोते  बिक्री गर्न व्यापारीलाई भ्याइनभ्याइ हुनुपर्थ्यो । तर, त्यस्तो छैन । थरीथरी रंगका पोते पसलका भित्तामा झुण्डिएका छन् । भितामा देखिएका पोतेले ग्राहकलाई पर्खिरहेका छन् । 

इन्द्रचोकको पोते पसलमा असारको दोस्रो सातादेखि साउनको पहिलो सातासम्म पोते किन्न ग्राहकको घुइँचो लाग्छ । चुरा, पोते र श्रृंगारका सामग्रीको समेत केन्द्र मानिने ठाउँमा यसपटक सुनसान देखिन्छन् । रंगीबिरंगी पोतेसँगै बसेका व्यापारीको अनुहारमा कान्ति छैन ।


सिजनमा पसलबाट व्यापारीहरू अगाडि हेर्न सक्दैन थिए । किनभने व्यापारीहरू ग्राहकले घेरिएका हुन्थे । व्यापारीका आँखा ग्राहककै वरिपरि घुम्थे । पोते देखाउँदैमा व्यस्त बन्थे ।

पसलमा सयौँ ग्राहकहरू पुग्थे । गत वर्ष जस्तो यसपालि व्यापारीलाई भ्याइनभ्याइ छैन । इन्द्रचोकमा मानिसहरू ओहोरदोहोर गरिरहन्छन् । व्यापारी फुर्सदमा छन् । 

एक दशकदेखि पोते बिक्री गरी बसेका हम्जा मियाँले यस पटक जस्तो ग्राहकको शून्यता कहिले पनि महसुस गरेका थिएनन् । उनी पसलमा पोतेलाई पछाडि पारेर ग्राहकको पर्खाइमा बसेका छन् । उनले हरियो र पहिलो रंगको पोतेलाई पृष्ठभूमिमा पारेका छन् । उनलाई बोल्ने फुर्सद नहुने ग्राहकको सुनसानले गफिने भएका छन् ।

उनले यसपटक इन्द्रचोकको पसलमा पोतेको लुङ र माला सोध्दै तथा किन्न आउने ग्राहक देखेका छैनन् । सिजनमा २५ देखि ३० हजार रुपैयाँको पोते माला बिक्री हुने गरेको उनीसँग अनुभव छ । निर्वाचनपछि पसल-पसलमा आउने ग्राहकको संख्या एक्कासि कम भएको उनले बताए ।

'असार र साउन पोते बिक्री गर्ने सिजन हो तर, दैनिक ७ देखि ८ हजार रुपैयाँको बिक्री गरिरहनु परिरहेको छ,' उनले भने,' सबैथोकको महँगी बढेर होला ग्राहक आउँदैनन् । पसलमा ग्राहकहरू घरमा पुरानो पोते छ भन्दै जान्छन् ।'

हम्जा ग्राहकलाई पर्खन्छन् तर, उनको पसलमा बस्ने मात्र काम भइरहेको छ । उनी महँगी बढ्नु र ग्राहकको संख्या घट्नुमा बराबर मान्छन् । अर्थतन्त्रमा पर्ने संकटको हल्लाले पनि धेरै मानिसमा प्रभाव परिरहेको उनको अड्कल छ । मानिसले आवश्यक वस्तु किन्न छाडेको जस्तो उनलाई लागेको छ ।

सधैँ ग्राहकको बढी माग हुँदा उनले पोतेको नयाँ डिजाइन निकाल्थे । उमेर तीन दशक पुग्न लागेका हम्जाले ग्राहकको माग नआएकाले नयाँ-नयाँ डिजाइन निकाल्न सकेका छैनन् । यतिखेर उनीसँग पसल रुँग्ने देखि अन्य विकल्प पनि छैन ।

हम्जाकोमा ५० देखि १५० रुपैयाँ सम्मका पोतेका मालाहरू पाइन्छन् । उनका अनुसार लाछी र झुप्पा मालाको मूल्य बढी पर्ने गर्छ । लाछी ५० देखि १५० र झुप्पा ३ सय देखि ५ सय रुपैयाँसम्ममा पाइन्छन् ।

अब्बास आलमको अनुभव हम्जाको भन्दा कम छैन । वैशाखदेखि ओरालो लागेको व्यापार उकालो लाग्न सकेको छैन । उनलाई व्यापार ओरालो लाग्नु र ग्राहक घट्नु एकै भएको जस्तो लागेको छ ।

असारले बोलाउने ग्राहकलाई साउन लाग्न एक दिन बाँकी हुँदा इन्द्रचोकको पोते पसल सुनसान छन् । वर्षमा ४५ दिनको पर्खाइमा रहन्छन् उनीहरू । असार र साउनमा धेरै पोते बिक्री गर्ने आशामा रहेका हुन्छन् अब्बास जस्ता व्यापारीहरू ।  

'स्थानीय निर्वाचन पछाडि पसलमा ग्राहक आएका छैनन्,' उनी भन्छन्,' बोहनी हुन पनि गाह्रो छ । महँगी बढेर र मानिसले खरिद गर्न चाहेका छैनन् जस्तो छ । अर्थतन्त्र 'कोल्याप्स' हुने हल्लामा व्यापारी र ग्राहक त्रासमा छन् ।'

इन्द्रचोकमा रहेका अधिकांश पोते व्यापारीको ७५ प्रतिशत भन्दा कम व्यापार भइरहेको अब्बास बताउँछन् । सिजनमा ८ देखि ९ हजारको पोते बिक्री हुने अहिले २ हजार रुपैयाँको बिक्री हुने गरेको उनले सुनाए ।

सबैभन्दा कम मूल्य पर्ने पोतेको खोजीमा समेत ग्राहकहरू नदेखेको उनले बताए । अर्थतन्त्रमा असर पर्ने हल्ला र सबै क्षेत्रमा बढेको महँगीले पनि प्रभाव पर्न सक्ने उनको भनाइ छ । सरकारले महँगी नियन्त्रण गर्न विशेष कदम चाल्नुपर्ने उनको ठहर छ ।

अधिकांश पसलका पोतेहरू चीन, जापान र चेक रिपब्लिकबाट आयात हुन्छन् । कोभिड महामारीपछि विदेशी ग्राहकहरू आउन छाडेका छन् । यसअघि विदेशीले पनि खरिद गर्थे । नेपालमै भएका नेपाली ग्राहकले पनि किन्न छाडेका छन् ।

त्यस्तै अर्का व्यापारी मेहताब तिमल्सिना केही महिनादेखि पोते खरिदका लागि ग्राहक आउन छाडिसकेका बताउँछन् ।

'पसलमा बसेर ग्राहक कुर्न भन्दा पनि समय कटाउने मात्र काम भइरहेको छ,' उनी भन्छन्,' सिजनमा कोही बेला ग्राहकको अनुहार देख्‍न मुस्किल भइरहेको छ ।' मँहगी बढेकाले ग्राहकको संख्यामा कमी आएको उनी पनि मान्छन् ।

सरकारले मँहगी बढेको थाहा पाएर पनि थाहा नपाए जस्तो गर्दा मँहगीले साना व्यापारी मारमा परेको उनको बुझाइ छ । ' नेताले आफूलाई मात्र वास्ता गरेर पेट तर, नागरिकको पेट खाली हुँदा ध्यान दिएनन्,' उनले आक्रोशित भावमा भने,' महँगी नियन्त्रणमा ध्यान दिनुपर्थ्यो । अर्थतन्त्रको अवस्था बारेमा जानकारी दिनुपर्थ्यो ।' 

उनका अनुसार पसलमा विभिन्न रंगका लाछी र पोतेका माला छन् । लाछीहरू ३० देखि सय रुपैयाँ सम्मका पाइन्छन् । माला २५०, १५ सय र ३ हजार रुपैयाँ सम्मका पाइन्छन् ।


Author

अतिन आचार्य

वैदेशिक रोजगार, जन-स्वास्थ्य र सामाजिक मामलामा कलम चलाउँने आचार्य संवाददाता हुन् ।


थप समाचार
x