समाज

वैज्ञानिक घिमिरेको रैथाने चाडबाड र खानपान पुस्तक बजारमा

इकागज |
भदौ २५, २०७९ शनिबार १०:१८ बजे

काठमाडौँ- नारायण घिमिरे क्यानडामा कार्यरत खाद्य तथा औषधि विज्ञ हुन् । उनी दुई दशकभन्दा बढी समयदेखि खाद्य तथा औषधिको प्रयोगात्मक अनुसन्धानमा आधारित प्रयोगात्मक अनुसन्धानमा संलग्न छन् । उनको नेपाल केन्द्रित अध्ययन भने मूलतः नेपालका परम्परागत वैदिक ज्ञान, परम्परागत संस्कृति, स्थानीय जडीबुटीमा आधारित रोग लाग्न नदिने खाना र स्थानीय जडीबुटीको सार तत्त्वमा आधारित रोग निको पार्ने औषधि विषयमा केन्द्रित छन् । उनले नेपालका रैथाने जडीबुटीमा आधारित उद्यमशीलताको विकासको सम्भावनाको समेत विस्तृत अध्ययन, अनुसन्धान गरेका छन् ।

घिमिरेको परम्परागत नेपाली संस्कृतिमा आधारित चाडबाडका खानेकुराहरूको वैदिक पक्ष र वैज्ञानिक अनुसन्धानमा आधारित नेपाली भाषामा लेखिएको 'रैथाने चाडबाड र खानपान' शिखा बुक्सले यही बुधबारदेखि काठमाडौँको बजारमा ल्याएको छ ।


शिखा बुक्स बागबजार द्वारा प्रकाशित रैथाने चाडबाड र खानपान पुस्तकमा घिमिरेले पृथ्वीमा भएका सबै कुराहरू कसरी एक आपसमा जोडिएका छन् भन्ने बारे प्रस्टाएका छन् । नेपाली परम्परागत खानाले कसरी शारीरिक, मानसिक, मनोवैज्ञानिक र आध्यात्मिक स्वास्थ्यको प्रवर्धनमा भूमिका खेल्दै मानिसमा सकारात्मक सोच तथा स्वस्थ र शालीन जीवनशैली निर्वाणमा बढवा दिइरहेको छ भन्ने तथ्यहरु समेत पुस्तकले उजागर गरेको छ ।

पुस्तकमा परम्परागत नेपाली खानाका औषधीय र आध्यात्मिक फाइदाका बारेमा विस्तृत जानकारी समेटिएको छ। नेपाली चाडपर्वहरू जस्तै दसैँ, दीपावली, चैते-दसैँ, माघे सङ्क्रान्ति, पन्ध्र-पौष आदि तथा विवाह, व्रतबन्ध, पूजाआजा लगायतका समयमा बनाइने नेपाली परम्परागत घरेलु परिकारका मौसम अनुरूप मानव स्वास्थ्य प्रवर्धनमा रहेको भूमिका र प्रभावबारे पुस्तकमा चर्चा भएको छ ।

लेखक घिमिरेले सांस्कृतिक महत्त्वका नेपाली खाना र स्वास्थ्यबिचको अन्तरसम्बन्धको वैज्ञानिक पक्षको ज्ञान र भूमिका गहिरो रूपमा बुझ्न  सक्दा उक्त ज्ञानको सदुपयोग नेपाली जडीबुटीको उधमिकरण मा उपयोग हुन सक्ने मार्ग देखाएका छन् ।

किताब अनुसार नेपाली रैथाने जडीबुटीमा आधारित खानाको नेपाली समाजमा नै  व्याप्त रहेको मधुमेह, पीएसपी, जनै खटिरा, अटिजम लगायतका जटिल तथा जीर्ण रोग र मानसिक स्वास्थ्य समस्याको उपचार क्षमता बारे लेख्दै उक्त क्षेत्रमा भएको स्वस्थ सम्बन्धी समस्या समाधान गर्ने नयाँ तरिकाको आविष्कार हुन सक्दा उपचारको नाममा असीमित रकम आयातित ओखतीमा खर्च गर्नुपर्ने हालको बाध्यता केही हदमा  सुल्झने छ। यसले आधुनिक वैज्ञानिक उपलब्धिलाई पाँच  हजार वर्ष पुरानो वैदिक सिद्धान्तसँग जोड्न समेत मद्दत गर्ने नारायणको विश्वास छ ।

वैज्ञानिक घिमिरेले नेपाली भाषामा नै लेखिएको ‘नेपालमा गाँजा’ र ‘नेपाली रैथाने जडीबुटी’ नामक दुई पुस्तक गत साल नै शिखा बुक्स मार्फत  नेपाली बजारमा ल्याइसकेका छन् ।

हामीले प्राप्त गर्ने प्रकाशको किरण, खाने खाना, पिउने पानी र श्वास  फेर्ने हावाको पोषण र शारीरिक ऊर्जा दिने सुपरफुडहरू निर्माणमा मात्र सीमित नरहेर त्यसले मानिसमा मनोवैज्ञानिक, औषधीय र आध्यात्मिक प्रवर्धन गर्ने अन्य ऊर्जाहरूको समेत प्रवर्धनमा भूमिका रहेकोमा वैज्ञानिक घिमिरेको विश्वास छ। त्यसै विश्वासका साथ हाल उनी   खानाको पोषण, भौतिक ऊर्जा, मानवीय मनोबल र आध्यात्मिक आनन्द अर्थात् ब्लीस समेत प्रवर्धनमा भूमिका पहिचान गर्न अलौकिक आदर्श खानाको (SOM RASA) विकासको सम्भावनाको खोजीमा नियमित रूपमा लागिपरेका छन् ।


Author

थप समाचार
x