समाज

बाँकेमा अधिकांश खानेपानी आयोजना अधुरो

इकागज |
असोज २, २०७९ आइतबार ६:४३ बजे

खजुरा - बाँकेमा अधिकांश खानेपानी आयोजना अधुरो रहेका छन् । निर्माणाधीन आयोजनामध्ये चा/पाँच आयोजना मात्र आंशिक रुपमा सञ्चालनमा रहेको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयले जनाएको छ । 

खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय, नेपालगञ्जका प्रमुख तिलक न्यौपानेका अनुसार यस वर्षको अन्तिमसम्म कम्तीमा आठ/दश  खानेपानीको आयोजना सञ्चालनमा ल्याउने गरी काम भइरहेको छ । उपभोक्ताको मागका आधारमा नभएर नेता र सांसदको दबाबमा माथिबाटै योजनाहरू थपिँदा समस्या भएको उनले बताए ।  


धेरै वर्षदेखि खानेपानीमा काम गरे पनि बाँकेमा थुप्रै चुनौतीहरू रहेकाले यी आयोजनाहरूले पूर्णता पाउन नसकेको जनाउँदै  उनले भने, 'बर्सेनि बजेट घट्दो छ तर, माग बढ्दोछ, गत वर्षको तुलनामा यो वर्ष ३३ प्रतिशत बजेट घटेर आएको छ । माग बढ्दो छ । यस्तै अवस्था रह्यो, भने २०३० मा सबैका घरमा पानी पुर्‍याउने लक्ष्य पूरा हुन गाह्रो छ ।'

उनले आफूहरूले नचाहँदा नचाहँदै पनि योजना थपिने गरेको सुनाए । प्रमुख न्यौपानेले योजनाको सङ्ख्या बढ्दै गर्दा बजेट पनि घटिरहेको जानकारी दिए । उनका अनुसार जिल्लामा सबैभन्दा बढी राप्तीसोनारी गाउँपालिका र सबैभन्दा कम नेपालगञ्ज उपमहानगरपालिकामा खानेपानीको आयोजना निर्माणाधीन रहेको छ ।

जिल्लामा १५ प्रतिशत घरधुरीले पाइप प्रणालीको पानी खाने गरेको कार्यालयले जनाएको छ । कार्यालयका अनुसार जिल्लाका १४.९० प्रतिशत घरधुरीका मानिसले मात्रै पाइप प्रणालीको पानी खाने गरेका हुन् ।

बाँकी ८५ प्रतिशत घरधुरीका जनताले ह्यान्ड पम्प, कुवा, इनारको पानी पिउने गरेका छन् । यसरी पानी खाने जिल्लाका १४ हजार एक सय ३० घरधुरी छन् । सन् २०३० सम्म सबै घरमा स्वच्छ खानेपानी पुर्‍याउने दिगो विकास लक्ष्य राखिएको छ । 

कार्यालयले जिल्लामा ७५ खानेपानीका योजनामा काम गरिरहेको जनाएको छ । गत वर्ष खानेपानीमा रु २४ करोड खर्च भएको जनाइएको छ । ती योजना भने कुनै पनि सम्पन्न भएका छैनन् । एउटा योजना सम्पन्न नहुँदै अर्को योजनामा हात हाल्ने प्रवृत्तिले समयमा काम हुन सकेको जनाइएको छ  । रासस
 


Author

थप समाचार
x