समाज

लामखुट्टेलगायतका कीराहरूले मानिसमा सार्ने रोग नियन्त्रण गर्ने चमेरो

सुनीता साखकर्मी |
बैशाख ५, २०७८ ८:१० बजे

काठमाडौँ : चमेरो सम्बन्धी नेपाली समुदायमा थुप्रै भनाई प्रचलित छन् । जस्तो कि, 
–‘चमेरोलाई छुनु हुँदैन’
–‘चमेरो दैत्य जीव हो’
–‘चमेरोले कसैको घरमा गुँड बनायो भने उक्त घरकाले थालेको नयाँ काम पुरा हुँदैन । पिढीँमा बिस्ट्यायो भने अशुभ हुन्छ । उक्त घरका मानिसको मृत्युसमेत हुन सक्छ ।’  
यस्ता थुप्रै भनाइबाट चमेरो मानिसको ‘शत्रु’ भएको प्रतीत हुन्छ । गतवर्ष चीनको वुहानबाट सुरु ‘कोरोना भाइरस’ चमेरोको मासु सेवन गर्दा नै निस्किएको तथ्यहरू बाहिरिएपछि त झनै चमेरोप्रतिको आम मानिसको धारणा नकारात्मक भएको छ ।  

तर के साँच्चिकै चमेरो खतरनाक प्राणी हो ? मावन जीवनलाई चमेरो चाहिँदैन त ? 
होइन ।  


ADVERTISEMENT

मावन जीवनको लागि मात्रै नभई प्रकृतिलाई पनि चमेरोको आवश्यकता छ । 

केही प्रजातिका चमेरोका कारण केही रोग सर्न सक्ने सम्भावना हुन्छ तर, चमेरो नै चाहिँदैन वा यो खतरनाक प्राणी भएकाले मानव जीवन छेउछाउ हुनै हुन्‍न भन्‍न भने सकिँदैन । किनकि यसले मावन जीवन र प्रकृतिको लागि थुप्रै योगदानसमेत दिइरहेको छ । स्तनधारीमा उड्न सक्ने एक मात्र प्राणी हो चमेरो । विभिन्‍न प्रजातिको रुखमा वा गुफामा झुन्डिएर बस्‍ने चमेरो मानव जीवन र प्रकृतिको लागि महत्वपूर्ण छ ।
 
चमेरो छ र त यो विश्‍वको जैविक विविधता कायम छ । विश्‍‍वमा झन्डै १४ सय भन्दा बढी चमेरोको प्रजाति रहेको अध्ययन अनुसन्धानले देखाएका छन् । नेपालमै मात्र ५० भन्दा बढी प्रजातिका चमेरो फेला परिसकेको छ । अन्य जीवजन्तुले भन्दा बढी चमेरोले बोटबिरुवाको परागसेचन गर्न मद्दत पुर्‍याउने समेत अध्ययनले देखाएका छन् । यदि चमेरो भएन भने जैविक विविधता पनि नष्ट हुन्छ । साथै विभिन्‍न रोगहरूको आक्रमण बढ्छ । 

विश्वका स्तनधारी प्राणीहरूको कुल संख्यामध्ये चमेरोहरू २० प्रतिशत छन् । चमेरोबिना थुप्रै इकोसिस्टमहरू नाश हुन्छन् । विश्‍वमा उत्पादन हुने केरा, आँप र क्यात्तुकेको फूलहरूको परागसेचन गर्न चमेरोले निकै ठूलो भूमिका खेल्छ, जुन अन्य चरा वा मौरीहरूले गर्दैनन् । त्यस्तै चमेरोले कोका बिन्सलगायत पाँच सय भन्दा बढी प्रजातिका बोटहरू फैलाउने र पुनः उत्पादन गर्न मद्दत गर्छ । यिनीहरूले फलफूलका बीउहरू जमिनमा अंकुरन गर्न पनि सघाउँछन् ।
 
जंगल फडानी, सहरीकरण र जथाभावी सिकारको कारण चमेरोको संख्या दिनप्रतिदिन घट्दै गइरहेको छ । कुनै समय विश्‍वमा दुई सय बढी प्रजातिका ‘फ्लाइङ फक्स’ वा ‘फ्रुट ब्याट्स’ (फल चमेरो) थिए । तर ति मध्ये ८ प्रजातिका चमेरा लोप भइसकेका छन् भने २२ प्रजातिका चमेरा लोपोन्मुख छन् ।
 
रगत खाने चमेरो पनि छन् । तर मानिसको रगत खाएको धेरै थोरै मात्रै भेटिन्छन् । प्राय यी चमेरोले अन्य चराचुरुङ्गीको रगत खाने गर्छन् । यिनीहरू समुदायमा बस्छन् र एक अर्कालाई सहयोग पनि गर्छन् । जर्मनीका जीव बैज्ञानिक साइमन रिपरगरका अनुसार कुनै चमेरो भोकाएर आएको खण्डमा अन्य चमेरोले उसलाई सघाउने गर्छ । 

तर अन्य केही प्रजातिका चमेरोको कारण मानिसमा रोगहरू सरेको बताइन्छ । इबोला, सार्स, मर्स(मिडल इस्ट रेस्पिरेटरी सिन्ड्रोम) र कोभिड-१९ चमेरोबाट मानिसमा सरेको मानिन्छ । 

चमेरोको शरीरको तापक्रम बढी हुन्छ । चमेरोहरूको रोग प्रतिरोधात्मक क्षमता बढी हुन्छ र थुप्रै प्रकारका रोगहरु सहन सक्ने क्षमता हुन्छ । कतिपय अवस्थामा तिनीहरूले भाइरसहरू अन्य प्राणीलाई सार्न सक्छ । संक्रामक रोगरू सार्ने चमेरोको विशेषता देखेर कुनै आश्‍चर्य मान्‍नुपर्ने अवस्था छैन । किनकि, उनीहरू दुई हजार किलोमिटर टाढासम्म बसाइँ सर्न सक्छन् । 

यी महामारीहरू फैलिनुमा चमेरोलाई दोष नदिन ‘ह्यासट्याग डन्ट ब्लेम ब्याट्स क्याम्पेन’ (चमेरोलाई दोष नदेउ) आग्रह गर्छ । हालै भएको अध्ययनका अनुसार बनजंगल फडानीले जैविक विविधतामा आएको कमीका कारण मानिस र वन्य जन्तुबीचको दूरी पनि घटेको छ । जसको कारण चमेरोसँग भएका रोगहरू चाँडै र सजिलै मानिसलाई लाग्‍न सक्छ ।

तर यी चमेरोहरू विभिन्‍न रोग रोक्ने गतिलो माध्यम भने हुन सक्छ । लामखुट्टेलगायत विभिन्‍न कीराहरूको कारण मानिसमा सर्ने रोगहरू नियन्त्रण गर्न पनि चमेरोले सघाउन सक्छ । किनकि केही प्रजातिका चमेरोले घण्टामा हजार वटा भन्दा बढी कीराहरू खान सक्छ । 

फलफूल खाने चमेरोहरू विश्‍वव्यापी रूपमा वन फँडानी क्षेत्रहरूमा बीउ फैलाउन सघाउन सक्छ । चमेरोको सहायताले दक्षिणपूर्व एसियाको ट्रोपिकल जंगल क्षेत्रमा रुखका बीउ फैलाउन सकिन्छ । 

क्याम्ब्रिज विश्‍व विद्यालयले गरेको अध्ययन अनुसार पूर्वी अफ्रिकाको मदगास्करका किसानले अन्‍न बालीलाई कीराबाट जोगाउन रुखहरू काटे । तर ३६ प्रजातिका चमेरोले ति कीराबाट बाली जोगायो । जसका कारण उक्त क्षेत्रमा रुख रोप्न मानिसलाई प्रोत्साहन मिलेको छ । 


 



Author

सुनीता साखकर्मी

सामाजिक तथा सांस्कृतिक विषयमा कलम चलाउने साखकर्मी संवाददाता हुन्।


थप समाचार