समाज

उपत्यकामा सार्वजनिक यातायात ठप्प, आन्दोलनरत मजदुरसँग सरकारले वार्ता गर्ने

इकागज |
फागुन २, २०७९ मंगलबार ६:५३ बजे

काठमाडौँ - काठमाडौँ उपत्यकामा यातायात मजदुरले आज सार्वजनिक यातायात ठप्प पारेका छन् । नेपाल यातायात स्वतन्त्र मजदुर संगठन, अखिल नेपाल यातायात मजदुर संघ र नेपाल यातायात मजदुर संघले संयुक्त रुपमा सार्वजनिक यातायात बन्द गरेका हुन् । उपत्यकामा बिहानैदेखि सार्वजनिक सवारी चलेका छैनन् ।


ट्राफिक जरिवानाको विषयलाई लिएर यातायात मजदुरहरूले सोमबार बालाजु बसपार्क क्षेत्रमा प्रहरीको गाडी तोडफोड गर्नाका साथै आगजनी गरेका थिए । 

ट्राफिकले वृद्धि गरेको जरिवानाविरुद्ध नेपाल यातायात स्वतन्त्र मजदुर सङ्गठन, अखिल नेपाल यातायात मजदुर सङ्घ र नेपाल यातायात मजदुर सङ्घले आयोजना गरेको आन्दोलनका क्रममा मजदुरहरूले आगजनी तथा तोडफोड गरेका हुन् । आन्दोलनकारीले ट्राफिक प्रहरीले सडक व्यवस्थापनमा राखेको डिभाइडर, चोकमा प्रहरी उभिने आइल्यान्डलगायतका संरचनामा समेत आगो लगाइदिएका छन् । 

बालाजु, माछापोखरी, गोँगबु र सामाखुसी चोकमा मजदुरहरूले हिजो सडक अवरुद्ध गरेका थिए । आन्दोलनकारीले प्रहरीका दुईवटा भ्यानमा आगजनी गर्नाका साथै माछापोखरी चोकमा रहेको प्रहरीको अस्थायी पोष्ट भत्काइदिएका छन् ।

यसैबीच आन्दोलनरत यातायात मजदुरलाई ​सरकारले आन्दोलनरत ​वार्तामा बोलाएको छ । ​आन्दोलनरत यातायात मजदुरलाई मङ्गलबार बिहान ८ बजे वार्ताका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा आह्वान गरिएको यातायात विभागका महानिर्देशक तुल्सी गौतमले जानकारी दिए ।

विभागले सबै पक्षलाई संयमित हुन आग्रह गर्दै पूर्वघोषित तथा अघोषित सबै मागबारे छलफलबाट समाधान गर्न पनि आग्रह गरेको छ । 
 

 


Author

थप समाचार
x