समाज

कर्णालीका हिंसापीडित महिलाको अनुभव

जसले पीडालाई शक्तिमा बदले

लक्ष्मी भण्डारी |
बैशाख २३, २०८० शनिबार १८:९ बजे

सुर्खेत- फेसबुकबाट चिनजान भएपछि सुर्खेतकै एक युवकसँग सुर्खेतकी १९ वर्षीया दिलमाया कार्कीको विवाह भयो । ती युवकले आफ्नो वास्तविकताको विषयमा झुट बोलेर उनलाई धनगढी लगेपछि उनको वास्तविकता थाह भयो । ‘धनगढी घर हो भनेर लग्यो तर त्यहाँ उसको आफन्तको घर रहेछ धनगढी पुग्दाको दिन साँझ थाह पाएँ, ऊ मदिरा खाएर आयो,’ घटनाक्रम सुनाउँदै उनले भनिन्, ‘रातभर रोयरै बसेँ यहाँबाट मेरो पासमा भएको पैसा पनि उसले लगेछ । म त घर न घाटकाे भएँ ।’

वीरेन्द्रनगरमा हुर्किएकी उनलाई पश्चिमको विकट गाउँमा गुजारा चलाउन मुस्किल थियो तर पनि उनले आफ्नो भाग्यलाई दोष दिएर जसोतसो सहेकै थिइन् । घरपरिवारको अत्याचार र श्रीमानको २४ सैं घण्टा मदिरामा मात्र भुल्ने र यातना दिने भएपछि उनलाई गुजारा चलाउन मुस्किल भयो । यातनाबाट प्रताडित भएकी दिलमायाले श्रीमानसँग सम्बन्ध विच्छेद गरी बसिन् ।


अहिले उनी ब्युटीपार्लर तालिम लिएर व्यवसायमा लागेकी छन् । यसबाट दिलमायाले राम्रो आम्दानी गर्न सफल भएकी छन् । श्रीमान् तथा घरपरिवारको यातनाबाट मुक्त भएकी छन् । ‘अब यही व्यवसायलाई बढाउने विचारमा छु,’ उनी भन्छिन्, ‘यो भन्दा माथिल्लो स्तरको तालिम लिएर व्यवसायलाई बढाउँछु ।’

आफूमाथि भएको हिंसालाई दबाएर राख्नुभन्दा त्यसको न्यायको बाटो लाग्नुपर्ने उनको भनाइ छ । ‘सानो मन बनाएर हुँदो रहेन छ,’ उनी भन्छिन्, ‘हिम्मत बढाएर अघि बढ्नुपर्दाे रहेछ ।'

कलिलै उमेरमा भागी विवाह गरेकी पश्चिम सुर्खेतकी ३५ वर्षीय मनसरा सुनारकाे विवाहपछि दुःखका दिन सुरु भए । घरमा साँझविहानको गुजारा चलाउन मुस्किल त्यसैमाथि श्रीमानको कुटपिट सहिनसक्नु थियो उनलाई । ‘भरपेट खान पनि नपुग्ने अवस्था थियो बाहिर काम गरेर कमाउँछु भन्दा त्यो पनि श्रीमानले गर्न दिनुभएन,’ उनले भनिन्, ‘श्रीमान् बाहिर अरु केटीसँग लागेपछि मदिरा खाएर घरमा कुट्न थाल्नुभयो ।’

काखमा दुधे बालक लिएर कहिलेकाहीँ अरुको काम गरिदिएर गुजारा चलाउँदै आएकी उनलाई त्यही काम गर्न पनि श्रीमानले रोक्थे । यतिसम्मकी श्रीमानको कुटाई र यातनाबाट उनको गर्भको बच्चा पनि खेर गयो । श्रीमान् अर्कै महिलालाई लगेर विदेश गए र तीन वर्षपछि फर्के । उल्टै श्रीमानले मनसराविरुद्ध मुद्दा हालेका रहेछन् । श्रीमानले दिएको यातना ढाकछोप गरी पीडा सहेर बसेकी मनसरा अदालत जानुपर्दा अह्य पीडा भयो ।

‘अदालतबाट फोन आएपछि मेरो विरुद्ध मुद्दा हालेको थाह पाएँ र अदालत गएँ,’ उनी भन्छिन् , ‘इज्जत जाने डरले श्रीमानले दिएको यातनाको विषयमा बाहिर केही भनेकी थिइनँ अदालतमा मेरो विरुद्ध मुद्दा आएपछि मैले पनि संस्थाको सहारा लिएँ ।’

मनसराले संघसंस्थाको सहारा लिएपछि मुद्दा जितिन् । अहिले छोरीको साथमा संस्थाले बनाइदिएको घरमा बसेकी छन् । ‘यसरी श्रीमानको यातना सहेर बसेँ उतिबेला मेरो बुद्धि आएन,’ मनसरा भन्छिन्, ‘हिंसा सहनु नै अपराध रहेछ ।’

जुम्लाकी बिर्मा दमाई पनि छोरा नजन्मिएको भन्दै घरपरिवारबाट अपहेलित हुनुपर्यो । उनका पाँच जना छोरी छन् । छोरा नभएको भन्दै श्रीमानले दोस्रो विवाह गरे । त्यति मात्र होइन उनले सौता र श्रीमानबाट उल्टै दुर्व्यवहार सहनुपर्ने भयो । अहिले उनी एक गैरसरकारी संस्थाको सहयोगमा वीरेन्द्रनगरमा बस्दै आएकी छन् ।

‘पहिला थाह नपाएर धेरै दुःख पाइँयो,’ उनी भन्छिन्, ‘अब त हामीले पनि आँट बढाउनुपर्छ ।’ हिंसा सहेर बस्नुभन्दा न्यायका लागि आफैँ अगाडि बढ्नुपर्ने उनको बुझाइ रहेको छ ।

यी त प्रतिनिधि हिंसापीडित महिला हुन् जसले विगतमा पाएका यातनालाई शक्तिमा बदलेर अघि बढेका छन् । हिम्मत गरेर आफ्नो जीवनयापनलाई सहज बनाएका छन् । हिंसापीडित महिलाको क्षेत्रमा वकालत गरिरहेकी अधिवक्ता गीता कोइरालाका अनुसार हिंसापीडित महिलाहरू अहिले हिम्मतका साथ आर्थिक सशक्तीकरणमा लागेको बताउँछिन् ।

‘संघसंस्था र अधिकारकर्मीको साथ पाएपछि उनीहरूले न्याय पाएका छन् र आफ्नो सहज गुजाराका लागि आर्थिक पाटोलाई मजबुत बनाउन लागेका छन्,’ कोइराला भन्छिन्, ‘त्यति मात्र होइन उनीहरू आफू सक्षम भएपछि आफूजस्तै पीडामा परेका महिलालाई सहयोग र सल्लाह दिने गर्दछन् ।’

कतिपय पीडित महिला कानुनी ज्ञानको अभावमा हिंसा सहेरै बस्न बाध्य छन् । गाउँघरमा बालविवाह, बहुविवाह, छाउपडी प्रथा, बोक्सीको आरोपमा कुटपिटलगायत महिला हिंसाका घटना भइरहन्छन् । तर, यस्ता घटना कानुनी प्रक्रियामा नगइ केही मानिसहरू बसेर गाउँघरमै मिलाउने पनि गर्दछन् । कतिलाई त आफूमाथि भएको हिंसाबारे थाहासमेत हुँदैन । कानुनी अज्ञानताका कारण उनीहरू चुपचाप हिंसा सहन बाध्य छन् ।

कानुनी प्रक्रियामा जाँदा समाजमा पुनःस्थापित हुन नसकिने डरले उनीहरू हिंसा सहेर बस्छन् । कानुनी प्रक्रिया र न्यायिक निकायको पहुँचसमेत सहज नभएको मानव अधिकारकर्मी सर्मिला विसी बताउँछिन् ।


Author

थप समाचार
x