समाज

सडकभर फोहोरको डंगुर, कुरूप र दुर्गन्धित बन्दै पोखरा

फोहोर प्रशोधन केन्द्र कहिले बन्छ ?

धनबहादुर गुरुङ |
साउन १३, २०८० शनिबार २१:३५ बजे

पोखरा- पोखरामा गएको बिहीबारदेखि फोहोर उठ्न सकेको छैन । जसले गर्दा सडक, चोक र गल्लीमा फोहोरको डंगुर लागेको छ । यसले पोखराको सुन्दरता बिगार्नुका साथै सहर नै दुर्गन्धित बन्दै गएको छ । पोखराको ल्याण्डफिल साइटका स्थानीयले अवरोध गरेपछि फोहोर उठ्न नसकेको हो ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनसँगै पोखराको फोहोर वडा ३२, लामेआहालमा विसर्जन हुँदै आएकोमा महानगरले सम्झौता कार्यान्वयन नगरेको भन्दै स्थानीयले बिहीबारदेखि फोहोर फाल्न रोक लगाएका हुन् ।


स्थानीयवासी मेघराज पौडेलले महानगरले गरेको सहमति पूरा गर्नुको सट्टा बेखबर रहेकोले अवरोध गरेको बताए । 'विमानस्थल सञ्चालनमा साथ दिन वडा ३२ का स्थानीयहरू कसैले चाहेर, कसैले नचाहेरै अस्थायी रूपमा लामेआहालमा फोहोर फाल्न दिने सहमति भयो,' उनले भने, 'मेयर सा'पले पनि ६ महिनाका लागि सहयोग गर्नुस् भनेपछि सहमत भएको कुरा सत्य हो । त्यो समयमा उहाँहरूले नै सम्झौता गर्नुभएको बुँदा ७ महिना बितिसक्दा पनि पूरा नभएपछि फोहोर रोक्न बाध्य भएको हौं ।' उनका अनुसार यसबारे आफूहरूले २ साउनमा महानगरमा ध्यानाकर्षणसमेत गराइएको थियो ।

ध्यानाकर्षण बुझाउने समयमा महानगरका प्रमुख धनराज आचार्य आफैँले ३ दिनभित्रमा स्थानीयको माग र सम्झौताअनुसार काम नभए बन्द गर्न भनेको स्थानीय पौडेलले सुनाए । 'हामीले २ गते ध्यानाकर्षण बुझायौं । ९/१० गतेसम्म पनि माटोले पुर्ने, गन्ध हटाउने, धुलो उडाउने कार्य रोक्नेजस्ता कुनै पनि काम नभएपछि फोहोर रोक्न बाध्य भएका हौं,' स्थानीयवासी पौडेलले भने ।

लामेआहालका स्थानीयको जनस्वास्थ्यमा महानगर बेखबर बनेको उनको आरोप थियो । 'पोखरामा २ दिन फोहोर नउठ्दा उहाँहरूलाई ठूलो चिन्ताको विषय हुने, अनि ७ महिनासम्मको फोहोरले यहाँका जनतालाई केही भयो कि भएन ?' उनले प्रश्न गरे । शालीन र भद्र रूपमा सम्झौताका बुँदा कार्यान्वयन विषय उठाउँदा पुलिस प्रशासन पठाएर डर दिने गरेको भन्ने सुनिएको उनले बताए । उनका अनुसार आफूहरूको एक सूत्रीय माग भनेको फोहोर बन्द नै हो ।

पोखरा महानगर सरसफाइ शाखा प्रमुख कल्पना बरालले फोहोर व्यवस्थापनबारे स्थानीयसँग समन्वय भइरहेको बताइन् । 'हामीले राम्रै व्यवस्थापन गरेका थियौं, उहाँहरू (लामेआहालवासी) ले अझै व्यवस्थित तरिकाले फोहोर व्यवस्थापन गर्नुपर्यो भनी अवरोध गर्नुभएको छ । अहिले छलफलमै छौं,' बरालले भनिन्, 'छलफलपछि केही दिनमा फोहोर उठ्छ ।'

विषेशगरी मुख्य बजार क्षेत्रमा फोहोरको डंगुर देखिएकाले फोहोरका गाडीलाई उठाउन भनिएको उनले बताइन् । 'खाली गाडीहरूमा उठाएर राखी समन्वयपछि लगेर फाल्ने सूचना पनि भएको हो,' उनले भनिन् । पोखराको फोहोर संकलनमा दैनिक ३० गाडी प्रयोग हुने गरेका छन् । ती गाडीले दैनिक १ सय टनभन्दा बढी फोहोर उठाउने गरेको सुनाइन् । 

महानगर प्रमुख धनराज आचार्यले डेँगी असर बढिरहेका बेला फोहोर उठाउन बन्द गरिँदा आफू दुखी भएको बताएका छन् । सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै उनले भनेका छन्, 'डेँगी बढिरहेको अबस्थामा फोहोर उठाउन नपाउँदा हामी अत्यन्त दुखी छौं । आशा गरौं छिटोभन्दा छिटो समस्या समाधान हुनेछ । फोहोर उठाउने गाडी नआउँदासम्म प्रतीक्षा गरौं । कृपया सडकमा फोहोर नफालौं ।'

महानगरले शनिबार विज्ञप्ति जारी गरी आइतबारबाट फोहोर उठाउने जानकारी दिएको छ । 'स्थानीयसँग हाम्रो छलफल भइरहेको छ । उहाँहरूका २/३ वटा इस्यु छन् । ती विषयलाई गम्भीर रूपमा लिएर हामीले काम गरिरहेका छौं,' महागनर प्रवक्ता मोति तिम्सिनाले भने, 'सकेसम्म आज (शनिबार) बेलुका नै नभए भोलि (आइतबार) सम्म फोहोर व्यवस्थापन हुने सम्पूर्ण नगरवासीलाई जानकारी गराउन चाहन्छु ।' विज्ञप्तिमार्फत तिम्सिनाले सडकमा फोहोर फ्याँकेर कतिपयले असभ्य व्यवहार देखाएकोसमेत बताएका छन् ।

फोहोर प्रशोधन केन्द्र कहिले बन्छ ?

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनसँगै पोखरा–१४ बाच्छीबुडुकाको ल्यान्डफिल हट्ने भएपछि महानगरको फोहोर व्यवस्थापनमा सकस हुने धेरैको आंकलन थियो । महानगर प्रमुख आचार्यको अनुरोधमा ६ महिनाका लागि फोहोर फाल्ने र त्यसपछि नयाँ ठाउँ तोकिने सहमतिपछि लामेआहालमा फाल्न थालियो । तर, स्थानीयसँग गरेको ६ महिनाको सहमति अवधि बितिसक्दा समेत महानगरले नयाँ ठाउँ भेटाउन सकेको छैन ।

यसबीचमा प्रमुख आचार्यले पोखराको फोहोर व्यवस्थापन हेर्न पर्यटक आउने भन्दै अभिव्यक्ति दिन भ्याएका थिए । ल्यान्डफिल साइट नभएर फोहोर प्रशोधन केन्द्र बनाउन अझै पनि त्यही काममा आफू लागिपरेको उनी बताउँछन् । यसका लागि आशयपत्र आह्वान गरिएको प्रमुख आचार्यले सुनाए ।

आचार्यले जग्गा प्राप्ति अन्तिम चरणमा रहेको र चाँडै आधुनिक फोहोर प्रशोधन केन्द्र बन्ने दाबी गरे । निर्माण कम्पनी छनोट भएपछि १ वर्ष हाराहारीमा प्रशोधन केन्द्र बन्ने प्रमुख आचार्यले सुनाए । 'ग्लोबल टेन्डर गरी त्यसमा ५ कम्पनीमध्ये ३ कम्पनी छानिएका छन् । हामी आरएफटी माग्ने चरणमा छौं । ४ अर्ब लगानी हुनेखालका प्रस्ताव आएका छन्,' प्रमुख आचार्यले भने । यो योजनाका लागि जग्गा प्राप्तिको काम पनि अन्तिम चरणमा रहेको उनले सुनाए । 
 


Author

थप समाचार
x