समाज

रुकुम घटनाको एक वर्ष

पीडितलाई १० लाख रुपैयाँ दिइयो, न्याय दिइएन

२८ जना थुनामा रहेको मुद्दा कहाँ पुग्यो ?

विष्णु विश्‍वकर्मा |
जेठ १०, २०७८ सोमबार २२:० बजे

काठमाडौँ : वीर बलभद्र कुँवरले लडेको नालापानी किल्ला जस्तै छ, जाजरकोटको खलंगा पनि । माथि टुप्पोमा । उकालो चढ्दै पुगिन्छ, जिल्ला प्रहरी कार्यालय जाजरकोट । त्यसभन्दा माथिल्लो टुप्पोमा अवस्थित छ, जाजरकोट दरबार । जहाँ राजा छैनन् । जिल्ला चलाउने प्रशासक छन् । अर्थात् प्रमुख जिल्ला अधिकारी । जिल्ला प्रशासन कार्यालय जाजरकोट दरबारमा छ ।  

वरिपरि बजार छ, पसल छन् । व्यापार व्यवसाय चल्छ । घर छन् । बस्ती छन् । अनि बजार छेउमै छ, रानागाउँ । यो त्यही गाउँ हो, जुन गाउँले नवराज विक, सञ्जु विक र गणेश बुढामगर जस्ता ६ जना युवाहरुलाई गुमायो ।


बाँकी तीन जना युवा लोकेन्द्र सुनार, टीकाराम सुनार र गोविन्द शाही जाजरकोट मटेलाका हुन् । जुन सदरमुकाम खलंगाबाट ६ किलोमिटर टाढा छ । भेरी नदी किनारै माथि उनीहरू तीन जनाको घर । टीकारामको वास्तविक घर भने रुकुम चौरजहारी हो । 

नवराज, सन्जु, गणेश, लोकेन्द्र, टीकाराम र गोविन्दले गाउँ छाडेको एक वर्ष पुग्यो । घर छाडेको । बस्ती छाडेको । आमाबुवा छाडेको । आफन्त, साथीभाई र संसार छाडेको । प्रेमका नाममा जात व्यवस्थाले प्रताडित आफ्नै ज्यानको बली चढाएको । 

भेरी नदी किनारमा उनीहरूको कुटी-कुटी हत्या भयो । मार्न खुकुरी हानियो । हँसिया छप्काइयो । मुक्का हानियो । ढुंगा हानियो । जसरी भाग्दै गरेको सर्पलाई मारिन्छ, त्यसैगरी उनीहरूलाई मारियो । 

यसरी मारिनुको कारण एउटै थियो, कथित आफूभन्दा माथिल्लो जात मल्ल थरकी युवतीसँग प्रेम गर्नु । विवाह गर्न खोज्नु । प्रेमलाई विवाहमा परिणत गर्न गएका भनिएका नवराजसहित ६ जना निर्दोष युवाहरूको एकै चिहान बनाइयो ।

जसलाई नेपालमा पहिलोपटक दलित समुदायले जातीय नरसंहार भनेका छन् । दलित भएकै कारण र दलित युवाको संगत गरेकै कारण ६ जना युवाहरूको विभत्स हत्या गरियो । हत्या गर्ने अरु होइनन्, गाउँ विकास गर्ने जिम्मेवारी सम्हालेका निर्वाचित वडाध्यक्ष हुन्, डम्बर मल्ल । जसले नेपालमै पहिलो जातीय नरसंहार गर्ने कलंकित व्यक्तिका रुपमा आफ्नो नाम लेखाए ।

दलित हुनुको पीडा र मृत्युको मूल्य 

रुकुम पश्चिमको चौरजहारी नगरपालिका-८ सोती गाउँकी शुष्मा मल्लसँग नवराजको प्रेम चक्कर थियो । जातीय विभेदको मूल्य त्यति महँगो पर्ला भन्ने स्वयंम नवराज र रानागाउँलाई थाहा थिएन ।

राना गाउँमा केही घर दलित, केही घर जनजाती र केही घर बाहुन-क्षेत्रीका छन् । नवराज उनीहरू सबैका लागि ‘रोलमोडल’ युवा थिए । जो जातीय विभेद चिर्न चाहन्थे । उनलाई साथी-भाईको साथ थियो । आमाबुवाको माया थियो । अनि सबैभन्दा बढी शुष्माप्रति अगाध प्रेम र विश्वास थियो ।

‘मल्लकी छोरीसँग प्रेम गरेकै कारण यसरी छोरा मार्लान् भन्ने हामीलाई थाहा भएन’, नवराजकी आमा उर्मिलाले भनिन्, ‘मान्छेलाई अछुत बनाउने यो जातको मूल्य हामीलाई निकै महँगो पर्‍यो बाबु । मान्छे हुनुको इज्जत त दिएनन् नै, छोरालाई बाच्‍न पनि दिएनन् ।’

नवराजको घरको छेउमै छ, सन्जुको घर । उनको वास्तविक नाम सन्दीप हो । तर धेरैले उनलाई सन्जु भनेर बोलाउँछन् । सन्जु विवाहित हुन् । कलिलैमा उनले विवाह गरेका हुन् । सन्जु दम्पतिले छोरा जन्माइसकेका थिए । बाबु लाहुरे हुन् । उनको सपना पनि लाहुरे बन्ने नै थियो । तर त्यो सपना बीचैमा तुहियो । मान्छे हुन नपाएर । जसकारण उनले बाँच्‍न पाएनन् । 

‘हामी त छोराले बुहारी ल्याएर आउँछ सोचेका थियौँ’ नवराजका बुवा मोहनलालले भने, ‘बुहारी ल्याउन त परको कुरा । आफैँ फर्केर आएनन् । यति ठूलो सजायका लागि हाम्रा छोराले के अपराध गरेका थिए र ? गल्ती गरेका भएपनि जेल हाल्नु पथ्र्यो ? यसरी मार्न पाइन्छ र ?’ 

भनिन्छ, भात छोड्नु तर साथ नछाड्नु । सँगै घर भएका नवराज, सन्जु र गणेशले कहिल्यै साथ छाडेनन् । नवराजका हर कदममा सन्जु र गणेशको साथ छँदै थियो । प्रेमपछि विवाह गर्ने कुरामा झन् पछाडि हट्ने कुरै भएन ।

तीन जनाको साथले नपुग्ने भएपछि टोलका अरु साथी र मटेलाका लोकेन्द्र, टीकाराम र गोविन्दलाई पनि साथै लिए । जम्मा १८ जनाको टोली सोती पुग्यो । विवाहका लागि दुलही ल्याउने योजना सफल भएन । दुर्भाग्य, उनीहरूमध्ये १२ जना घर फर्किए पनि ६ जना भने सदाका लागि बिदा भए । भेरी नदीमा उनीहरूको फरक-फरक दिनमा लास भेटियो । सास भेटिएन ।

‘हामी त छोराले बुहारी ल्याएर आउँछ सोचेका थियौँ’ नवराजका बुवा मोहनलालले भने, ‘बुहारी ल्याउन त परको कुरा । आफैँ फर्केर आएनन् । यति ठूलो सजायका लागि हाम्रा छोराले के अपराध गरेका थिए र ? गल्ती गरेका भएपनि जेल हाल्नु पथ्र्यो ? यसरी मार्न पाइन्छ र ?’ 

उनको प्रश्‍नको जवाफ छैन । सारा देशले पनि यही प्रश्नको उत्तर खोजिरहेको छ । जवाफ त पाउने ठाउँ रहेन । न्यायका लागि नवराज, सन्जु लगायत मृत्तक युवाका आफन्त र जाजरकोटीले आन्दोलन गरे । जिल्ला प्रहरी कार्यालयमा धर्ना दिए । तर अझै न्याय पाएका छैनन् ।

चर्को माग उठेपछि सरकारले उच्चस्तरीय छानबिन समिति बनायो । सभामुख अग्नि सपाकोटाले संसदीय छानबिन समिति बनाए । समितिले आफ्नै तरिकाले अनुसन्धान गर्यो । घटनास्थल पुग्यो । सोधपुछ गर्यो । पीडितले न्यायको याचना गरे । उच्चस्तरीय र संसदीय छानबिन समितिले प्रतिवेदन बुझाए ।

जवाफमा सरकारले १० लाख रुपैयाँ राहत भन्दै पैसाको बिटो थमायो । तर न्याय दिएको छैन । दोषीलाई कारबाही गर्न तदारुकता देखाएन । पीडितलाई न्याय दिलाउन अझै कन्जुस्याई गरिरहेको छ ।

कहाँ पुग्यो मुद्दा ?

६ जना युवाहरूको हत्या गरेको आरोपमा रुकुम पश्चिमको सोती गाउँका ३४ जनाविरुद्ध अदालतमा ज्यान मार्ने उद्योग, जातीय विभेद लगायत अभियोगमा मुद्दा दर्ता छ । सुरुमा वडाध्यक्ष मल्ल, युवतीका बुवा, आमासहित युवाको हत्यामा सलंग्न १४ जना पक्राउ परेका थिए ।

त्यसपछि थप १४ जना पक्राउ परे । फरार रहेका थप चार जना पनि पक्राउ परेपछि ३४ जनाविरुद्ध जिल्ला अदालत रुकुम पश्चिममा मुद्दा चल्यो । जुन विचाराधीन छ । पीडितका पक्षमा वकालत गरेका अधिवक्ता बद्री भुसालका अनुसार, मुद्दाको साक्षी बकपत्र चलिरहेको छ । घटना घटेको एक वर्ष हुँदा पनि मुद्दाको फैसला हुन सकेको छैन । प्रहरीको विशेष अनुसन्धान टोलीसँग आरोपितले आफ्नो अपराध स्वीकार गरिसकेका छन् ।

तर पनि अदालतले दोषीलाई कारबाही र पीडितलाई न्याय दिलाउने गरी मुद्दाको अन्तिम फैसला गरेको छैन । पक्राउ परेकामध्ये २८ जना थुनामा छन् । युवती, युवतीकी आमा लगायत चार जना छुटेका छन् । उनीहरूलाई जिल्ला अदालत रुकुम पश्चिमले तारेखमा छाडेको हो । तारेखमा रिहा हुन उनीहरूले उच्च अदालत सुर्खेतमा थुनछेक निम्ति पुनरावेदन गरेका थिए ।

जुन मुद्दामाथि उच्च अदालत सुर्खेतले फैसला नगर्दै सर्वोच्च अदालत काठमाडौसम्म पुग्यो । तर पनि मुद्दाको किनारा लागेको छैन । जसकारण पीडितलाई पीडा थपिएको छ । घाइतेको सुरक्षा चिन्ता बढेको छ । दोषी उम्किने सम्भावना बढेको अधिवक्ता भुसाल बताउँछन् ।

‘यो घटनाबारे स्पष्ट अनुसन्धान अझै भएको छैन । पीडितले न्याय पाएका छैनन । दोषीलाई उम्काउने प्रयास स्वरुप ढिलासुस्ती भइरहेको छ । पीडितले न्याय पाउने आशा कमजोर हुँदै गएको छ’ अधिवक्ता भुसालले इकागजसँग भने ।

निभेको छैन आन्दोलनको आगो 

रुकुम पश्‍चिमको सोतीमा नवराज विकसहित ६ युवाको हत्या भएदेखि आन्दोलन रोकिएको छैन । जाजरकोटको खलंगामा पटक-पटक नारा जुलुस भयो । प्रदर्शन भयो । आमरण अनसन चल्यो । कतिपटक प्रहरीले लाठी चार्ज गर्यो । 

सुर्खेतमा आन्दोलन र प्रदर्शन भयो । उच्च अदालत सुर्खेतअघिल्तिर थुप्रै पटक प्रदर्शन भयो । काठमाडौँको माइतीघरमा विरोध प्रदर्शन भयो । सोती नरसंहारको एक वर्ष पूरा भएको दिन सोमबार पनि सामाजिक सञ्जालभरि जातीय व्यवस्थाको चर्को विरोध भइरहेको छ । रुकुम घटनामा मारिएका युवाहरूले न्याय पाउनुपर्ने भन्दै आवाज उठिरहेको छ ।

रुकुम घटना दोहोरिन नहुने भन्दै युवाहरूले सामाजिक सञ्जालमा जात व्यवस्थाको अन्त्य गर्न माग गरेका छन् । यो घटनामा वडाध्यक्ष मल्लको संरक्षणमा पूर्व गृहमन्त्री तथा रुकुम पश्चिमका सांसद जनार्दन शर्मा लागेको आरोप छ । संसद्‍मै उनले पीडकको बचाउ गरेका थिए । हत्या गरिएका युवाहरू भेरी नदीमा डुबेर मरेका भन्दै शर्माले संसदमा बोल्दा त्यसको चर्को आलोचना भएको थियो । 

राजनीतिक दबाबकै कारण मुद्दाको अन्तिम फैसला हुन नसकेको र दोषीलाई कारवाही गर्न ढिलाई भएको आरोप छ । पीडित न्यायको पर्खाईमा छन् । दोषीलाई सजाय हुनुपर्ने माग गरिरहेका छन् । तर पनि त्यो भइरहेको छैन । उल्टै ढिलासुस्ती छ ।

यसले न्यायको माग गरिरहेका सारा दलित समुदायलाई आक्रोशित बनाएको छ । एक अध्ययनका अनुसार, जातीय विभेदकै कारण नेपालमा २८ जना दलितहरूको ज्यान गएको छ । धेरैजसो घटनामा पीडितले न्याय पाएका छैनन् भने दोषीलाई कारवाही भएको छैन । 

(यसअघि प्राविधिक कारणले युवतीको फोटो परेकाले सच्याइएको छ , त्यसप्रति क्षमाप्रार्थी छौँ  -सम्पादक) 


Author

थप समाचार
x