समाज

धार्मिक गुरु श्रीनिवासमाथि मुद्दा दायर, तीन दिन थुनामा राखिने

सुभाष कर्ण |
असोज १८, २०८० बिहीबार १४:४६ बजे

जनकपुरधाम- गौ हत्याविरुद्ध आपत्तिजनक अभिव्यक्ति दिएको आरोपमा सुनसरीबाट पक्राउ परेका धर्मगुरु आचार्य श्रीनिवासमाथि धनुषामा सार्वजनिक शान्तिविरुद्धको कसुर मुद्दा दर्ता गरिएको छ ।

बुधबार साँझ जनकपुरधाम ल्याइएका आचार्य श्रीनिवासमाथि जिल्ला प्रशासन कार्यालय धनुषामा सार्वजनिक शान्तिविरुद्धको कसुर मुद्दा दर्ता गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी प्रवक्ता डिएसपी रञ्जन अवाले जानकारी दिएका छन् ।


मुलुकी फौजदारी कार्यविधिमा सार्वजनिक शान्ति खलल पार्ने कसुर सम्बन्धी मुद्दा प्रमुख जिल्ला अधिकारीले हेर्ने व्यवस्था छ । यसमा एक वर्ष कैद र दश हजार जरिवाना हुनसक्ने उल्लेख छ । अनुसन्धानका लागि तीन दिनको समयावधि लिई हिरासतमा राखिएको आचार्य श्रीनिवासमाथि बुधबारदेखि लागू हुने उनले बताएका छन् । 

कहिलेसम्म उनलाई थुनामा राखिनेबारे प्रवक्ता अवालेले भने, 'अनुसन्धानका लागि हाल तीन दिन थुनामा राख्ने जिल्ला अदालतबाट म्याद लिएका छौं । बढीमा २५ दिनसम्म यो मुद्दामा थुनामा राख्न पाउने कानुनी व्यवस्था छ । तर, चाँडै टुंगो लगाउँनेछौं ।'

असोज १२ गते जनकपुरधाममा भएको गौ हत्याविरुद्धको जुलुसको कोणसभामा उनले खुकुरी देखाउँदै गौ हत्या गर्नेलाई खुकुरीले छप्काइदेउ भन्ने उत्तेजक अभिव्यक्ति दिएको आरोपमा सुनसरी प्रहरीले उनलाई मंगलबार जिल्लाको चक्रघटीबाट पक्राउ गरेको थियो । जनकपुरधाममै हिंसा भड्काउने उत्तेजक अभिव्यक्ति दिएको भन्दै कारबाहीका लागि ल्याइएको प्रवक्ता अवाले जनाएका छन् ।


Author

सुभाष कर्ण

कर्ण मधेस प्रदेशस्थित इकागज प्रतिनिधि हुन्।


थप समाचार
x