समाज

५०० जरिवाना तिरेर रिहा भए धर्म गुरु श्रीनिवास

सुभाष कर्ण |
असोज १८, २०८० बिहीबार १९:५० बजे

जनकपुरधाम- गौ हत्याविरुद्ध आपत्तिजनक अभिव्यक्ति दिएको आरोपमा पक्राउ परेका धर्म गुरु आचार्य श्रीनिवास रिहा भएका छन् ।

सुनसरीबाट पक्राउ परेका धर्मगुरु आचार्य श्रीनिवासमाथि धनुषामा सार्वजनिक शान्तिविरुद्धको कसुर मुद्दा चलाइएको थियो । जिल्ला प्रशासन कार्यालयले सार्वजनिक शान्तिविरुद्धको कसुरमा उनलाई ५०० रुपैयाँ जरिवाना तिराएर रिहा गरिएकाे प्रमुख जिल्ला अधिकारी चक्रपाणि पाण्डेले जानकारी दिएका छन् ।


उनले भने, ‘श्रीनिवासले आफू आवेशमा आएर गलत अभिव्यक्ति दिएको प्रहरी समक्ष स्वीकार गरेपछि आइन्दा यस प्रकारको सामाजिक सद्भाव बिग्रिने खालका हिंसात्मक गतिविधि नगर्न/नगराउनसहित ५०० रुपैयाँ जरिवाना दिएर रिहा भएका छन् ।’

असोज १२ गते जनकपुरधाममा भएको गौ हत्याविरुद्ध विरोध प्रदर्शनमा श्रीनिवासले गौ हत्या गर्नेलाई खुकुरीले हान्नुपर्छसहितका आपत्तिजनक अभिव्यक्ति दिएका थिए । सामाजिक सञ्जालमा उनको सो अभिव्यक्ति भाइरल भएपछि सुनसरी प्रहरीले मंगलबार उनलाई सुनसरीको बराहक्षेत्र नगरपालिका–चक्रघट्टीबाट पक्राउ गरेको थियो । जनकपुरधामा अभिव्यक्ति दिएका कारण उनलाई बुधबार साँझ जिल्ला प्रहरी कार्यालय धनुषामा ल्याइएको थियो ।

प्रजिअ पाण्डेले श्रीनिवासको बयान उद्धृत गर्दै भने, '‘म साधु मान्छे । त्यति बेला माहोल देखेर आवेशमा आएर बोलेँ । गल्ती गरेँ, कमिला पनि नमार्ने मान्छे म । के मान्छे मार्न आदेश दिउँला र । मैले गल्ती बोलेको हुँ, अब आइन्दा यस्ता गल्ती गर्ने छैनौं ।’ उनले अब यस प्रकारको गल्ती नदोहाेर्याउने प्रतिबद्धता जनाएपछि रिहा गरिएको बताएका छन् ।

यसअघि आचार्य श्रीनिवासको रिहाइको माग गर्दै बुधबार बजरंग दलले सडक जाम गर्दै जनकपुरधाममा विरोध प्रदर्शन गरेकाे थियाे भने रामानन्दीय वैष्णव सम्प्रदायले आज दिउँसो जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय विरोध प्रदर्शन गरेको थियो ।

मुलुकी फौजदारी कार्यविधिमा सार्वजनिक शान्ति खलल पार्ने कसूर सम्बन्धी मुद्दा प्रमुख जिल्ला अधिकारीले हेर्ने व्यवस्था छ । यसमा एक वर्ष कैद र दश हजार जरिवान हुनसक्ने उल्लेख छ ।


Author

सुभाष कर्ण

कर्ण मधेस प्रदेशस्थित इकागज प्रतिनिधि हुन्।


थप समाचार
x