समाज

पूर्पक्षका लागि थुनामा रहेका आरतीका पति र ससुरा रिहा

सुभाष कर्ण |
असोज १८, २०८० बिहीबार २१:२८ बजे

जनकपुरधाम- जनकपुरधामकी आरती साह मृत्यु प्रकरणमा पूर्पक्षका लागि थुनामा रहेका उनका पति र ससुरा रिहा भएका छन् ।

उच्च अदालत जनकपुरधामको आदेशमा आरतीका पति मोतीबाबु साह र ससुरा मदन मोहन साह सुडी साधारण तारेखमा रिहा भएका हुन् । मुख्य न्यायाधीश शारदा सुवेदी र किरणकुमार पोखरेलको संयुक्त इजलासले मोतीबाबु र मदन मोहनलाई साधारण तारेखमा छोड्ने आदेश दिएको उच्च अदालतका रजिष्ट्रार खड्गराज अधिकारीले जानकारी दिएका छन् ।


गत जेठ ७ गते आफ्नै घर जनकपुरधाम उपमहानगरपालिका-९ थापाचोकमा मृत अवस्थामा फेला परेकी आरतीको हत्या भएको भन्दै माइती पक्षले जाहेरी दिएका थिए । जाहेरीपछि प्रहरीले आरतीका पति मोतीबाबु साह र ससुरा मदन मोहन साह सुडीलाई पक्राउ गरी अनुसन्धान थालेको थियो । उनीहरूविरुद्ध असार १ गते जिल्ला सरकारी वकिल कार्यालय धनुषाले जिल्ला अदालत धनुषामा ज्यानसम्बन्धी मुद्दा दर्ता गराएको थियो ।

थुनछेक बहसपछि असार ५ गते जिल्ला अदालतले आरतीका पति र ससुरालाई पूर्पक्षका लागि थुनामा पठाउने आदेश दिएका थिए । तर, उच्च अदालतले तत्काल प्राप्त प्रमाणका आधारमा आरतीका पति र ससुरालाई थुनामा राख्न आवश्यक नदेखिएकाे कारण देखाएर पूर्पक्षका लागि थुनामा राख्ने जिल्ला अदालतको आदेश बदर गरेकाे छ ।

आदेशमा भनिएको छ, 'पछि प्रमाण बुझ्दै जाँदा ठहरे बमोजिम हुने नै हुँदा निज प्रतिवादीहरू मोतीबाबु साह र मदन मोहन साह भन्ने मदन मोहन व्याहुत साह सुडीलाई मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ६९ बमोजिम मुद्दा पूर्पक्षका लागि तारिखमा राखी मुद्दाको कारबाही किनारा गर्नुहोला ।’

आरती र मोतीबाबुबीच २९ असार २०७७ मा विवाह भएको थियो । दाइजोको निहुँमा पति, ससुरा र सासूले आरतीलाई यातना दिई हत्या गरेको परिवारले दाबी गर्दै आएकाे छ । गत ७ जेठमा आरतीले आत्महत्या गरेको भन्दै परिवारले प्रहरीलाई खबर गरेको थियो । प्रहरीले घटना शंकास्पद रहेको भन्दै जनकपुरधामको काव्या अस्पतालबाट आरतीको शव नियन्त्रणमा लिएकाे थियाे । माइती पक्षले आरतीको हत्या भएको भन्दै पति र ससुराविरुद्ध उजुरी दिएका थिए ।

छोरीको हत्यामा संलग्नलाई कारबाहीको माग गर्दै आरतीकी आमा, बुबा, बहिनी, भाइ, मामा लगायतले करिब तीन महिनादेखि काठमाडौँको माइतीघर मण्डलामा धर्ना दिँदै आएका थिए । आफूहरूमाथि प्रहरीले नै कुटपिट तथा दुर्व्यवहार गरेको भन्दै उनीहरूले धनुषाका प्रहरी उपरीक्षक विश्वराज खड्का, तत्कालीन डीएसपी वेदप्रसाद गौतमसहितलाई कारबाहीको मागसमेत गर्दै आएका हुन् ।


Author

सुभाष कर्ण

कर्ण मधेस प्रदेशस्थित इकागज प्रतिनिधि हुन्।


थप समाचार
x