समाज

२८ करोड बढीको लागतमा निर्माण भएकाे धनगढी सभागृह अलपत्र

इकागज |
कात्तिक ९, २०८० बिहीबार ७:३५ बजे

कैलाली- साढे २८ करोडको लागतमा​ बिकेवाई एमके रोयल जेबीले निर्माण गरेको धनगढी सभागृह अलपत्र परेकाे छ । धनगढी उपमहानगरपालिका–८ मा निर्माण सम्पन्न भएको धनगढी सभागृह सञ्चालनमा नआउँदा अलपत्र परेको हाे ।

सहरी विकास मन्त्रालय अन्तर्गत संघीय आयोजना कार्यान्वयन इकाइ धनगढीले सभागृहको संरचना निर्माण गरेको हो । सरकारी लगानीमा करोडौँ रकम खर्च गरेर निर्माण गरिएको सभागृह सञ्चालनमा नआउँदा सरकारी कार्यक्रम भने लाखौँ रुपैयाँ खर्चेर होटल तथा पार्टी प्यालेसहरूमा हुँदै आएका छन् ।


राष्ट्रिय सभागृहको मोडेलमा बनाइएको सभागृहमा ९ सय जना क्षमताको एक मुख्य अडिटोरियम, २५० जना क्षमताको एउटा सेमिनार हल, एउटा प्रदर्शनी कक्ष, एक अतिविशिष्ट कक्ष र २ वटा रिहर्सल कक्ष छ । करिब ४ सय गाडी अटाउने अन्डरग्राउण्ड बेसमेन्ट पार्किङ समेत रहेको छ । 

त्यस्तै, आयोजना कार्यालयका अनुसार बिजुली बत्तीसहित तातो–चिसोका लागि एसी तथा हिटर, खानेपानी जडान र बगैंचा डिजाइन लगायत सम्पूर्ण कार्य गत वर्ष नै सम्पन्न भए पनि सञ्चालनमा नआउँदा जीर्ण बन्ने हो कि भन्दै स्थानीय समेत दुखी छन् । 

धनगढीमा बनेको सभागृह निर्माण सम्पन्न भएपछि संघीय आयोजना कार्यान्वयन इकाइ धनगढीले सो सभागृह धनगढी उपमहानगरपालिकालाई हस्तान्तरण गर्नुपर्ने हो । तर, धनगढी उपमहानगरपालिकाले स्वामित्व लिन नमानेपछि सभागृह कसले सञ्चालन गर्ने भन्ने विषयमा अन्योल छाएको हो । 

डेढ बिघा जमिनमा २८ करोड ५५ लाख रुपैयाँ लगानीमा बनेको सभागृहको निर्माण, रङरोगन र विद्युत् जडान लगायतका सम्पूर्ण मुख्य कार्य २०७९ असारमा सम्पन्न भई निर्माण कम्पनीले संघीय आयोजना कार्यान्वयन इकाइलाई हस्तान्तरण समेत गरिसकेको छ । निर्माण कार्य सम्पन्न भएपछि हस्तान्तरणको तयारी समेत गरेको अवस्थामा धनगढी उपमहानगरपालिकाले बुझ्न नमानेपछि अहिले सभागृह अलपत्र छ ।


Author

थप समाचार
x