समाज

विपद् उद्धार अभ्यासमै डुंगा दुर्घटना, पाँच पत्रकारसहित १३ जना घाइते

इकागज |
कात्तिक १७, २०८० शुक्रबार १७:१७ बजे

विराटनगर- सशस्त्र प्रहरी बल बराह बाहिनी पकलीले सुनसरीको चतरास्थित कोशी नदीमा आयोजना गरेको विपद् उद्धार अभ्यासकै क्रममा सशस्त्र प्रहरीको एउटा मोटर डुंगा दुर्घटना भएको छ । डुंगामा चढेका पाँच पत्रकारसहित १३ जना दुर्घटनामा परेको जनाइएको छ ।

सशस्त्र प्रहरी बलले नियमित रूपमा त्यहाँ उद्धार अभ्यास गर्दै आएकोमा शुक्रबार कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्की समेत सहभागी भएर अवलोकन गर्ने गरी कार्यक्रम तय गरिएको थियो । उद्धार अभ्यासको रिपोर्टिङका लागि विराटनगरबाट गएका पत्रकारहरू चढेको डुंगा चतरा पुलमुनि कोशी नदीमा पल्टिएर दुर्घटना भएको जनाइएको छ ।


रेडियो नेपालका कुमोद अधिकारी, अन्नपूर्ण पोष्टका जितेन्द्र ठाकुर, कान्तिपुर टेलिभिजनका महाप्रसाद खतिवडा र क्यामेराम्यान शम्भु पोखरेल तथा कान्तिपुर दैनिकका पत्रकार देवनारायण साह नदीमा डुबेका थिए । उनीहरूको तत्कालै उद्धार गरिएको जनाइएको छ ।

डुबेका मध्ये पत्रकार अधिकारीको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको जनाइएको छ । केहीलाई उपचारका लागि उदयपुरको बेलका नगर अस्पताल रामपुर पठाइएको प्रहरीले जनाएको छ । 

उद्धार अभ्यासका क्रममा डुंगाको अघिल्लो भाग अचानक पानीतिर झुकेर डुबेको त्यहाँ उपस्थित सञ्चारकर्मीले जानकारी दिए । डुंगा डुब्न थालेपछि अन्य आगन्तुक र केही पत्रकारहरूले अभ्यास नै भएको हुनसक्ने तर्क गर्दै हेरेका थिए । तर, केहीबेरपछि मात्रै उनीहरू चढेको डुंगा साँच्चै पल्टिएको थाहा पाएर उद्धारका लागि कराएका थिए ।

कोशी नदीको किनार नजिकै डुंगा डुबेपछि त्यसमा चढेकाहरू मध्ये केही पानीमै बगेका थिए । उनीहरूलाई तत्कालै उद्धारमा खटिएका सुरक्षाकर्मीहरूले उद्धार गरेको प्रत्यक्षदर्शीहरूले बताए । 

बोटमा चढेका केहीले लाइफज्याकेट समेत नलगाएका कारण ठूलो दुर्घटना हुनबाट जोगिएको जनाइएको छ । डुंगा डुब्दा पत्रकारहरूको क्यामेरा र मोबाइलहरू डुबेर क्षति पुगेको जनाइएको छ ।


Author

थप समाचार
x