समाज

भूकम्पमा घाइतेको उद्धारका लागि पोखराले पठायो नगर प्रहरी, स्वास्थ्यकर्मी र राहत

इकागज |
कात्तिक १८, २०८० शनिबार १८:४५ बजे

पोखरा- जाजरकोट जिल्लाको रामीडाँडा केन्द्रविन्दु भएर शुक्रबार राति गएको भूकम्प पीडितका लागि पोखरा महानगरपालिकाले नगर प्रहरीसहित राहत र उद्धार टोली पठाएको छ ।

भूकम्पका कारण ठूलो जनधनको क्षति बेहोरेको जाजरकोट र रुकुममा महानगरका वडाध्यक्षद्वय साहारा प्रधान र राममोहन आचार्यको नेतृत्वमा टिम पठाएको पोखराका मेयर धनराज आचार्यले जानकारी दिए । टोलीले राहत सामग्रीका रूपमा लत्ताकपडा, त्रिपाल, ब्ल्यांकेट र औषधि एवं उपचारका आवश्यक सामग्री लिएर गएको मेयर आचार्यले बताए ।


उनका अनुसार महानगरका २ वटा सानो गाडी र १ ट्रकसहित १७ जनाको उद्धार टोली त्यसतर्फ प्रस्थान गरेको हो । टोली आवश्यकता अनुसार प्रभावित क्षेत्रमा राहत तथा उद्धार कार्यमा खटिने छ ।

पहिलो चरणमा महानगरका नगरप्रमुख, उपप्रमुख लगायत अध्यक्ष तथा कार्यपालिका सदस्यहरूको १ महिनाको पारिश्रमिकबाट सोधभर्ना हुने गरी १३ लाख १५ हजार रुपैयाँ राहतमा सहयोग गर्ने मेयर आचार्यले बताए । यसबाहेक अन्य जनप्रतिनिधिसँगै कर्मचारीहरूको स्वेच्छिक सहयोग र नपुग रकम महानगरपालिकाको विपद् कोषबाट खर्च बेहोरिने उनको भनाइ छ । यसरी पोखरा महानगरको तर्फबाट भूकम्प पिडितका लागि ५० लाख रुपैयाँ बराबरको राहत सहयोग प्रदान गरिने उनले जानकारी दिए ।


Author

थप समाचार
x