समाज

जाजरकोट भूकम्प

भूकम्पले प्रहरी संरचनामा क्षति, त्रिपालबाट सेवा प्रवाह गर्दै प्रहरी

लक्ष्मी भण्डारी |
कात्तिक २५, २०८० शनिबार १६:७ बजे

सुर्खेत- एक साता यता भूकम्प प्रभावित क्षेत्रका प्रहरीहरू त्रिपालबाटै सेवा प्रवाह गरिरहेका छन् । जाजरकोट केन्द्रविन्दु भएर आएको भूकम्पले प्रहरी संरचनामा क्षति पुर्याएपछि उनीहरू त्रिपालबाटै सेवा दिँदै आएका हुन् ।

भूकम्पका कारण उक्त क्षेत्रका अधिकांश संरचनाहरूमा क्षति पुगेको छ । भूकम्पले जाजरकोटमा रहेका २८ वटा प्रहरी संरचनामध्ये २६ वटामा बस्नै नसकिने अवस्था रहेको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ । गएको शुक्रबारको भूकम्पले रुकुम पश्चिममा १० वटा प्रहरी कार्यालयहरूमा क्षति पुर्याएको छ । रुकुम प्रहरीका अनुसार १० मध्ये पाँच वटा पूर्ण रूपमा ध्वस्त भएका छन् भने बाँकी पाँच वटामा आंशिक क्षति पुगेको छ ।


यता कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रवक्ता गोपाल भट्टराईका अनुसार भूकम्प प्रभावित जिल्लाहरूमा भाँडामा प्रहरी चौकीहरू सञ्चालित रहेका छन् । तर, अधिकांश संरचनाहरू बस्न नमिल्ने भएपछि सेवा प्रवाह गर्न प्रहरीलाई समस्या भएको उनले बताए ।

रुकुम पश्चिमका प्रहरी नायव उपरीक्षक नमराज भट्टराईका अनुसार जिल्ला प्रहरी कार्यालयको भवन पूर्ण रूपमा ध्वस्त भएको छ । पुरानो भवन भएकाले पूरै चर्किएकाले बस्न मिल्ने अवस्था छैन ।

यस्तै प्रहरी चौकी पुर्तिमकाँडाको भवन पनि पूर्ण रूपमा ध्वस्त भएको छ । प्रहरी चौकी सोलावाङ, प्रहरी चौकी सिम्लि र इलाका प्रहरी कार्यालय आठबिसकोटको भवनमा पूर्ण रूपले भूकम्पले क्षति पुर्याएको छ । सोलावाङको आफ्नै भवन हो भने सिम्लि र आठबिसकोटको भाडाका भवनहरू हुन् । सिम्लि प्रहरी अहिले अरूको घरमा सरेर सेवा दिइरहेको छ भने आठबिसकोट प्रहरी पालमा बसेर सेवा दिइरहेको छ ।

बाँकी अस्थायी प्रहरी पोष्ट साँख, स्यालाखदी, प्रहरी चौकी पिपल, झुल्नेटा र इलाका प्रहरी चौकी चौरजहारीमा आंशिक रूपमा क्षति पुगेको छ । यी मध्ये चौरजहारीको भवन बस्न मिल्ने भए पनि बाँकी भवनहरू जोखिम मोलेर बस्नुपर्ने अवस्थामा रहेको रुकुम प्रहरीले जनाएको छ ।
 


Author

थप समाचार
x