समाज

देशभर दैनिक १२ सय र काठमाडौँ उपत्यकामा दैनिक ३५० युनिट रगत माग

आपत्कालीन अवस्थाका लागि रगत जम्मा गर्न नयाँ कार्यक्रमको आवश्यकता

इकागज |
मंसिर ८, २०८० शुक्रबार १९:४६ बजे

काठमाडौँ- नेपाल रेडक्रस सोसाइटीले नेपालमा रगतको संकलन एवं व्यवस्थापनका लागि सबैमा रगत दान गर्नुपर्ने जागरण चलाउन आवश्यक रहेको बताएको छ । नेपालमा रहेका रक्तसञ्चार सेवा केन्द्र र युवा पुस्तामा रगत दान गर्नुपर्ने सन्देश फैलाउने अभियान सञ्चलन गर्नुपर्ने आवश्यकता रहेको बताएका हुन् ।

नेपालमा आवश्यक रगत व्यवस्थापनका लागि रगत दान गर्ने कुरालाई हरेक व्यक्ति र समाजमा अभियानका रूपमा लैजान सके यसले आवश्यक समयमा रगतको कमी नहुने नेपाल रेडक्रस सोसाइटीका कार्यवाहक महामन्त्री मनोजकुमार थापाले बताए । उनले रक्तदाताहरूलाई रगत दान गर्नुपर्छ भन्ने चेतना फैल्याउन आवश्यक रहेको बताए । बजारमा अहिले रगतको अभाव भएको भ्रम फैलाइएको बताए । उनले कुनै एउटा समूहको रगत कमी भएको बेलामा रगत नै अभाव भयो भन्ने भ्रम फैलाउने काम भएको बताए ।


रक्तसञ्चार व्यवस्थापन समिति संयोजकसमेत रहेका उनले चाडपर्वहरूमा रगत संकलनमा कमी आउने भए पनि अन्य समयमा खासै कमी नभएको जिकिर गरे । नेपालमा बसोवास गरिरहेका मानिसमध्ये २ प्रतिशत मानिसले रगत दान गर्ने हो भने रगत अभाव नहुने जिकिर गरे । उनले रगत पाइँदैन भन्ने कुराको अन्त्य गर्न सोसाइटीले विशेष कार्यक्रम अघि बढाउन लागेको पनि बताए ।

त्यस्तै नेपाल रेडक्रस सोसाइटी, समन्वय सेवा विभागका निर्देशक दिव्यराज पौडेलले देशभर पछिल्लो दुई वर्षमा दैनिक १२ सय युनिट रगतको माग हुने गरेको बताए । उनले वार्षिक रूपमा रगतको माग गर्नेको संख्या साढे ४ लाख रहेको बताए । काठमाडौँ उपत्यकामा दैनिक ३५० युनिटको माग हुँदै आएको र वार्षिक रूपमा काठमाडौँमा १ लाख ३० हजार टनको आवश्यकता रहेको उल्लेख गरे । उनले चाहिने रगत ८५ प्रतिशत क्याम्पहरूबाट आपूर्ति गर्ने गरेको र १५ प्रतिशत रक्तसञ्चार केन्द्रहरूमा नै आएर दान गर्नुपर्ने अवस्था रहेको बताए ।

न्युज एजेन्सी नेपालसँग कुरा गर्दै उनले देशमा चाहिने मात्राअनुसारको रक्तदाताको संख्यामा कमी रहेको बताए । युवा र महिलाहरूलाई यसबारे सचेत बनाउन सके रक्तदाताहरू बढ्ने उनको भनाइ छ । नेपालमा लगभग २ प्रतिशत डोनरको आवश्यकता पर्ने भए पनि अहिलेसम्म ०.९ प्रतिशत मात्रै पुगेको बताए । उनले सरकारले रगत व्यवस्थापनका लागि बजेट बढाउनुपर्ने आवश्यकता रहेको बताए ।

निर्देशक पौडेलले रगत व्यवस्थापनमा रक्तसञ्चार सेवा केन्द्रहरूको आपसी समन्वय आवश्यक रहेको पनि बताए । 


Author

थप समाचार
x