समाज

पाँचपोखरी थाङपाल र हेटौँडा उपमहानगरबीच भगिनी सम्बन्ध

इकागज |
मंसिर ८, २०८० शुक्रबार २१:२१ बजे

सिन्धुपाल्चोक- सिन्धुपाल्चोकको पाँच पोखरी थाङपाल गाउँपालिका र हेटौँडा उपमहानगर पालिकाबीच भगिनी सम्बन्ध कायम भएको छ । आज पाँच पोखरी थाङपाल-४ स्थित नागी थामडाँडा एवं पेमाछल उद्यान केन्द्रमा गुरु रिन्पोछे (पद्मा सम्भव) को प्रतिमा अनावरण कार्यक्रममा दुई पक्षबीच भगिनी सम्बन्धकाे लागि समझदारी भएको हो ।

हेटौँडा उपमहानगरपालिकाका वित्त व्यवस्थापन महाशाखाका प्रमुख अनिरुद्ध नेपालको रोहबरमा पाँच पोखरी थाङपाल गाउँपालिकाका अध्यक्ष टासी लामा र हेटौँडा उपमहानगर पालिकाकी प्रमुख मीनाकुमारी लामाबीच समझदारी पत्रमा हस्ताक्षर भएको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण कुईकेलले बताए ।


गाउँपालिकाका अध्यक्ष लामाले हिमाली भेगमा रहेको पालिका र तराई क्षेत्रको उपमहानगरपालिकाबीच स्थापित सम्बन्धले साझेदारी प्रवर्द्धनमा मद्दत पुग्ने विश्वास व्यक्त गरिन् । 

पेमाछल उद्यान केन्द्रका प्रमुख लामा फूर्वा सिङ्गी लामाले पाँच पोखरी पर्यटकीय गन्तव्य रहको भन्दै त्यसको विकासका लागि दुवै पालिका मिलेर अगाडि बढ्नुपर्नेमा जोड दिए । हेटौँडा उपमहानगर पालिकाकी प्रमुख मीनाकुमारी लामाले पाँच पोखरीको विकासका लागि हेटौँडा उपमहानगरपालिकाको सधैं साथ रहने प्रतिबद्धता व्यक्त गरिन् । रासस


Author

थप समाचार
x