समाज

चुनाव जितेर मात्रै माननीय भइँदैन : जगमान गुरुङ

‘काली-कर्णालीको लोकसाहित्य र संस्कृति’ लोकार्पण

इकागज |
मंसिर ३०, २०८० शनिबार २१:५ बजे

फाइल तस्बिर

काठमाडौँ- वरिष्ठ संस्कृतिविद् जगमान गुरुङले नेपालमा संघीयता कायम रहनेमा आशंका व्यक्त गरेका छन् ।

शनिबार काठमाडौँमा सुदूरपश्चिम र कर्णाली क्षेत्रको लोकसाहित्य र संस्कृतिमा आधारित पुस्तक ‘काली-कर्णालीको लोकसाहित्य र संस्कृति’ लोकार्पण समारोहलाई सम्बोधन गर्दै उनले यस्तो आशंका व्यक्त गरेका हुन् । उनले चुनाव जितेर आएर मात्रै माननीय नहुने र माननीय हुनका लागि लोकले मान्नुपर्ने बताए ।


लोकले मानेन भने राष्ट्रपति हुँदैमा सम्माननीय नभइने उनको भनाइ छ । उनले नेताहरूले नै प्रदेश रहने कुरामा आशंका व्यक्त गरिरहेको बताए । उनले आफू नेपाल प्रज्ञा प्रतिष्ठानमा रहँदा सात वटै प्रदेश चिनाउने ग्रन्थ रचना गर्ने भनेर लागे पनि सरकारले सहयोग नगरेको गुनासो गरे । उनले नेपालको सर्वाङ्गीण विषय समेटिएको ग्रन्थ सम्पादन र प्रकाशन गर्न आवश्यक रहेको बताए ।

गुरुङले राष्ट्रको प्राज्ञिक आवश्यकताको परिपूर्ति गर्नुपर्ने भन्दै देशलाई चिनाउने इनसाइक्लोपिडिया रचना गर्न बजेट माग्दा सरकारले सहयोग नगरेको बताए । यस पुस्तक देउडा गीतका गायक यज्ञराज उपाध्यायले रचना गरेका हुन् । ९८४ पृष्ठको उक्त पुस्तकमा सुदूरपश्चिम र कर्णाली प्रदेशमा प्रचलित लोकसाहित्यका विभिन्न विधा-उपविधाहरूलाई केलाइएको छ । 


Author

थप समाचार
x