समाज

धामीको भर पर्दा गर्भमै शिशुको ज्यान गयो

इकागज |
पुस २७, २०८० शुक्रबार १९:३१ बजे

सांकेतिक तस्बिर

डोटी- दिपायल सिलगढी नगरपालिका-९ की २२ वर्षकी गर्भवतीलाई बेथा लागेपछि बिहीबार साँझ साढे ७ बजेतिर सासूसहित छिमेकीले जिल्ला अस्पताल डोटी पुर्याए । गर्भवतीको बेथा बढ्दै गयो र राति १० बजेतिर पाठेघर खुल्यो तर बच्चा बाहिर निस्कन सकेन । 

पाठेघर खुलेको दुई घण्टापछिसम्म शिशु बाहिर निस्किन नसकेपछि मध्यरातमा डा निराजन श्रेष्ठको टोली अपरेसनको तयारीमा जुट्यो । यता अस्पतालबाटै आमाले बुहारीको अपरेसन गर्ने जानकारी भारतको दिल्लीमा रहेका छोरालाई सुनाइन् । छोराले लागदोष (देउता, भूतप्रेत) लागेर बिरामी भएको होला, भोलि देउतालाई नसोधी केही गर्न हुँदैन भन्ने खबर पठाए । छोराको कुरा आमाले डाक्टरको टोलीलाई सुनाइन् । 


तत्काल अपरेसन नगर्ने हो भने अवस्था गम्भीर हुने भन्दै डाक्टरको टोलीले जति सम्झाउने प्रयास गरे कोही तयार भएनन् । 'आमा र बच्चा दुवैको ज्यान जोखिममा छ । ढिलो भयो भने बचाउन सकिन्न भन्यौँ,' डाक्टर निराजन श्रेष्ठले भने, 'तर, उहाँहरू देउतालाई नसोधी हुन्न भन्नेमा अडिग रहनुभयो ।'

गर्भवती महिलाको परिवार भोलिपल्ट बिहान ८ बजे अब के गर्ने भन्ने सल्लाह लिन गाउँकै धामीकहाँ पुग्यो । धामीले दुई/चार घण्टालाई केही हुन्न म रोक्छु, त्यतिञ्जेल बच्चा जन्मिसक्छ । नआत्तिनु भनेपछि परिवार पनि ढुक्क भयो । 

गर्भवतीको अवस्था गम्भीर बन्दै गएपछि अस्पतालले एकपटक फेरि अपरेसनका लागि तयार हुन वा अन्यत्र लैजानका लागि आग्रह गर्यो । त्यति गर्दा पनि परिवार सहमत नभएपछि डा श्रेष्ठले दिल्लीमा रहेका छोरासँग भिडियो कलमा कुरा गरे । डा श्रेष्ठले गर्भवतीको अवस्था गम्भीर भएको भन्दै अपरेसनका लागि तयार हुन वा विश्वास नलागे अन्यत्रै लैजान भनेपछि बल्ल छोरा अपरेसनका लागि तयार भए । छोराले सहमति दिएपछि आमाले कागजमा हस्ताक्षर गरिन् ।

बिहान ९ बजे चिकित्सकको टोली अपरेसनको तयारीमा जुट्यो । अपरेसनअघि भिडियो एक्सरे गर्दा शिशुको ज्यान गइसकेको पाइयो । त्यसपछि ‘भ्याक्युम डेलिभरी’ मार्फत मृत बच्चा बाहिर निकालियो । यद्यपि समयमै अपरेसन भएकाले आमाको ज्यान भने जोगियो । अहिले आमाको स्वास्थ्य अवस्था सामान्य रहे पनि शिशुको मृत्युको खबरले परिवार स्तब्ध बनेको छ । 

डा श्रेष्ठ अस्पतालमा आउने अधिकांशले भूतप्रेत र देउता लागेकाले उपचार हुन नसकेको बताउने गरेको बताउँछन् । 'हरेक साता एक/दुई जना बिरामी यस्तै कुरा लिएर आउनुहुन्छ । कतिपयले हाम्रो कुरा सुन्छन् त कतिपयले हामीलाई विश्वास गर्दैनन्,' उनले भने । स्वास्थ्य अवस्था गम्भीर हुँदा पनि धामीको भर पर्दा ज्यान गुमाउने निकै पीडादायी हुने उनको भनाइ छ । रासस


Author

थप समाचार
x