समाज

भिजिट भिसामा विदेश जान के-के चाहिन्छ ? आजदेखि लागू गरिएको नयाँ नियममा के छ ?

इकागज |
माघ १०, २०८० बुधबार १०:५१ बजे

काठमाडौँ- भिजिट भिसामा विदेश जान आजदेखि नयाँ नियम लागू भएको छ । गृह मन्त्रालय मातहतको अध्यागमन विभागले ट्राभल एडभाइजरीसँगै ६ बुँदे नयाँ नियम लागू गरेको हो ।

कम्तीमा ६ महिनाको वैध अवधि भएको राहदानी, सम्बन्धित देशको प्रवेषाज्ञा (VISA) वा On Arrival Visa प्राप्त हुने मुलुक भए प्रवेषाज्ञा नचाहिने आजदेखि लागू भएको नयाँ नियममा उल्लेख छ । त्यस्तै दुईतर्फी हवाई टिकट चाहिने पनि उल्लेख छ ।


त्यसैगरी भ्रमण अवधिभर होटल बुकिङ गरेको प्रमाण वा होटल बुकिङ नभई आफन्तसँग रहने भएमा एकाघरका तीन पुस्ताभित्रको नाता खुल्ने नागरिकता प्रमाणपत्र वा अन्य कुनै प्रमाणपत्र चाहिने उल्लेख छ ।

भ्रमणको सम्पूर्ण खर्च व्यहोर्ने सरकारी तथा गैरसकारी संस्थाको निमन्त्रणा पत्र वा सो नभएमा कम्तीमा पाँच सय अमेरिकी डलर बराबरको नगद सटही भएको प्रमाण (नगद वा डेबिट / क्रेडिट कार्ड) हुनुपर्ने बताइएको छ ।

त्यस्तै संयुक्त अरब ईमिरेटस्, बहराईन, कुबेत, कतार, ओमन र साउदी अरेवियामा भिजिट भिसामा भ्रमण गर्दा अनुसूची २ बमोजिम स्व घोषणा गर्नु पर्ने नयाँ नियममा लेखिएको छ । स्वः घोषणामा संलग्न विवरणको प्रमाणको भार (Burden of Proof) सम्बन्धित व्यक्तिमा रहने विभागले जनाएको छ ।

विभागका अनुसार भिजिट भिसामा विदेश जानेहरु ठगिने र कतिपय विदेशमै लुकेर बस्‍न थालेपछि नयाँ नियम लागू गरिएको हो ।
 


Author

थप समाचार
x