समाज

प्रेमीले आगो लगाएपछि निषेधाज्ञामा निसास्सिएकी पूजा : कहिले बाहिर निस्किनु र उसलाई थुनामा देख्नु

सृजना खड्का |
जेठ २६, २०७८ बुधबार ६:४७ बजे

काठमाडौँ : सोलुखुम्बुकी पूजा कार्की निषेधाज्ञाले निसास्सिएकी छिन् । निषेधाज्ञाले निम्त्याएको उनको छटपटी अरुको भन्दा अलग छ । ‘प्रेमी’ले मट्टितेल छर्किएर आगो लगाएको शरीरको घाउ विस्तारै निको हुँदैछ । तर, मनभित्रको घाउ भने दिनदिनै गहिरो बन्दै गइरहको छ ।

अहिलेलाई उनको एउटै कामना छ- निषेधाज्ञा चाँडोभन्दा चाँडो खुलोस् । आफ्ना कुरा अदालतमा राख्‍न पाइयोस् र दोषीमाथि कारबाही होस् । पूजा निषेधाज्ञाको अघिल्लो दिन मात्रै कीर्तिपुर अस्पतालबाट डिस्चार्ज भइन् । लगभग एक महिना उनी उपचारको लागि अस्पताल बस्‍नुपर्‍यो । उनको पाँच दिन आईसीयूमा उपचार भयो । दुई हप्तासम्म त उनी बोल्न पनि नसक्ने अवस्थामा थिइन् । त्यो बेला मुद्धा मामिलाभन्दा ज्यान जोगाउनु उनका लागि ठूलो कुरा थियो, उनको र परिवारका लागि पनि । उनका बुबा चक्रबहादुरको दिन छोरीलाई अस्पताल कुर्दैमा बित्थ्यो ।


त्यसका बाबजुद पनि उनले महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वरमा छोरीका प्रेमी दोलखाका सुरज श्रेष्ठविरुद्ध जाहेरी दिए । छोरीको डिस्चार्जपछि न्यायका लागि दौडिने सोचेका उनी अहिले घरभित्र बन्द छन् । ‘छोरीमाथि यस्तो हर्कत गर्नेलाई कडा कारबाही होस् भन्‍ने छ,’ उनले भने, ‘तर, निषेधाज्ञाले बाहिर निस्किन पाएको छैन । कहिले बहिर निस्किनु र दोषीलाई सजाय दिन लागिपर्नु जस्तो भएको छ ।’

घटना गत चैत्र ८ गतेको हो । १९ वर्षीया पुजा ठमेलस्थित भाइब्रेट लाउन्जमा काम गर्थिन् । काम गर्न थालेको त्यस्तै २०-२१ दिन भएको थियो । दैनिक ज्यालादारी गरेर चक्रबहादुरलाई पाँच जनाको परिवार पाल्ने जिम्मेवारी थियो । ‘मेरो दिगो काम थिएन,’ उनले भने, ‘जे भेट्यो त्यही काम गर्थेँ । त्यही कमाइले जहान छोराछोरी पाल्दै आएको थिएँ । छोरीले काम गर्छु भनेपछि नाइँनास्ती गरिनँ ।’ 

काम गर्ने सिलसिलामा पूजा उनकी साथी आयुषा श्रेष्ठको डेरा गोठाटारमा बस्थिन् । उनका प्रेमी सुरज त्यहाँ आइरहन्थे । उनीहरूको चिनजान सामाजिक सञ्जाल फेसबुकबाट तीन वर्षअघि भएको थियो । काम नगरुन्जेलसम्म दुवैको सम्बन्ध ठीक थियो तर काम गर्न थालेपछि भने सुरजले पूजालाई शंकालु दृष्टिले हेर्न थाले ।  उनीहरू बीचमा दिनहुँ जस्तो झै-झगडा हुन थालेको थियो । घटना हुने दिन पनि उनीहरूबीच राम्रैसँग तँ-तँ म-म भएको थियो । पूजाका अनुसार त्यसदिन सुरजले उनीमाथि हातपात पनि गरेका थिए । पूजाको काम साँझ ७ बजेदेखि राति २ बजेसम्म हुन्थ्यो । त्यसदिन उनी कामबाट थाकेर आएकी थिइन् ।

‘उसले मलाई अरुसँग नाम जोडेर जथाभावी भन्‍न थाल्यो,’ उनले भनिन्, ‘हामीबीच झगडा भनाभनमा मात्र सिमित भएन । उसले रिसको झोकमा मट्टितेल खन्याएर मलाई आगो लगायो ।’ पूजाले हारगुहार गरेपछि उनलाई सुरुमा साँखुस्थित सुष्मा कोइराला अस्पतालमा लगियो । आगोले उनको टाउको, अनुहार र घाँटी नराम्ररी जलेको थियो । त्यही दिन थप उपचारका लागि उनलाई कीर्तिपुर अस्पताल लगियो । उपचारपछि पूजा अहिले आफ्ना आमाबुवासँगै जोरपाटीमा बस्दै आइरहेकी छिन् । 

‘केस कहाँ पुग्यो ?’ भनेर बाउछोरी दैनिकजस्तो प्रहरीलाई फोन गरेर सोधिरन्छन् । प्रहरीबाट जवाफ आउँछ - थुनामा राखिएको छ, लकडाउनपछि अरु प्रक्रिया अगाडि बढ्छ । ‘घटना घटेको तीन महिना हुन थालिसक्यो,’ चक्रबहादुरले इकागजसँग भने, ‘लकडाउनले मुद्धा के भयो थाहा छैन । पुलिसले थुनामा राखेका छौँ भन्छन्, राखेका छन् कि छैनन् के थाहा ? आफ्नो आँखाले देख्‍न पाए पो !’ 

तीन महिना भयो उनले गर्ने काम ठप्प छ । जलेर महिना दिनसम्म अस्पतालमा थलिएकी पूजालाई बिहान बेलुकै पोसिलो खानेकुरा खुवाउनुपर्छ । तर, जति नै खाए पनि पूजाको ज्यानमा त्यो पोसिलो खानेकुरा लागेको छैन । ‘जुन दिन लकडाउन खुलेर कारबाही प्रक्रिया अगाडि बढ्छ, त्यो दिन मात्रै मेरो ज्यान लाग्छ,’ उनले भनिन्, ‘अहिले लकडाउनले गर्दा न पुलिसले बोलाएको छ न अदालतले । लकडाउन छिटै खुल्ने आशामा दिन बितिरहेको छ ।’

अस्पताल हुँदा दोस्रो पक्षले मिलापत्रको लागि निकै जोड गरेको थियो । पूजाले मानिनन् । ‘यो मिलाएर मिल्ने कुरा थिएन,’ उनले भनिन्, ‘अब कानुनले जसरी मिलाउँछ, त्यसरी मिल्ने हो । मेरो तर्फबाट म त्यो मान्छेलाई कहिल्यै माफ गर्न सक्दिनँ ।’ रोगले आफ्नो यो हाल भएको भए पूजालाई यतिबिधि चित्त दुख्दैनथ्यो । ‘रोगले आफ्नो यो हाल भएको भए चित्त बुझाउँथेँ,’ उनले भनिन्, ‘छँदाखाँदाको शरीरमाथि मट्टीतेल  लगाएर आगो लगाएपछि अब म चुप बस्‍न सक्दिनँ ।’

प्रहरीको अनुसन्धानले सुरजले लागुऔषधको दुर्व्यसनीको नशामा पुजामाथि मट्टीतेल खन्याएको देखाएको छ । महानगरीय प्रहरी परिसर टेकुका प्रवक्ता प्रहरी उपरीक्षक रमेशकुमार बस्‍नेतले अनुसन्धान प्रक्रिया सकाएर दोषीलाई अदालत जिम्मा लगाएको बताए । ‘उसलाई ज्यान मार्ने उद्योगमा पुर्पक्षका लागि थुनामा राखिएको एक महिनाभन्दा बढी भइसक्यो,’ उनले भने । 
 


Author

सृजना खड्का

सामाजिक विषयमा कलम चलाउने खड्का संवाददाता हुन्।


थप समाचार
x