समाज

बारामा विष्फोट भएको वस्तु प्रोजोक्टाईल भएको आशंका

एकको मृत्यु, पाँच जना घाइते

इकागज |
फागुन १४, २०८० सोमबार १९:११ बजे

बारा- बाराको निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने (कारखाना) ग्यारेजमा सोमबार विष्फोट भएको वस्तु 'प्रोजोक्टाईल' हुन सकिने आशंका गरिएको छ । 

निजगढ नगरपालिका-९ स्थित एक कवाडी संचालकले प्रोजोक्टाईल जस्तै देखिने वस्तुमा भएको तामा निकाल्न पहिला कवाडीमै काट्ने प्रयास गरेका थिए तर त्यहाँ काट्न नसकेपछि कवाडी संचालक राज जैसवालले लेथमा ल्याएका थिए । 


कारखानामा काट्ने प्रयास गर्दा सो प्रोजोक्टाईल विष्फोट भएको हो । मिसाईलमा प्रयोग हुने प्रोजोक्टाईल नेपालमा नपाइने प्रहरीले जनाएको छ । सो वस्तुमा इन्डियन फिल्ड गन १०५ एमएममा प्रयोग हुने जस्तै देखिएको प्रहरी स्रोतले जनाएको छ । 

विष्फोटपछि कवाडी संचालक जैसवाल र उनकी श्रीमती सुसिला देवी जैसवला निजगढबाट कोल्हवी नगरपालिकामा गएर एम्बुलेन्समा भारततर्फ जाँदै गर्दा प्रहरीले पक्राउ गरेको छ ।  

यता विष्फोटबाट घाइते भएका छ जनामध्ये एकको मृत्यु भएको छ । मृत्यु हुनेमा ग्यारेज संचालक ४५ वर्षीय रेशम मगर रहेका छन् ।

निजगढ नगरपालिका-७ स्थित रोहित वर्कशपका संचालक मगर विष्फोटमा परी गम्भीर घाइते भएका थिए । मगरको उपचारका क्रममा मृत्यु भएको बाराका प्रहरी प्रवक्ता दधिराम न्यौपानेले जानकारी दिए ।

घटनामा दुई भारतीय नागरिकसहित पाँच जना घाइते भएका छन् । घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको छ । उनीहरूको शरीरको भाग क्षतविक्षत भएको छ भने पूर्ण रूपमा जलेको प्रत्यक्षदर्शीले बताएका छन् ।

घाइते हुनेमा भारत घर भएका २० वर्षीय अरविन साह, ३५ वर्षीय राकेश जैसवाल, ठेगाना नखुलेका २० वर्षीय रितु रजत, पर्सा जिल्ला विरंगज घर भएका ३४ वर्षीय फिरोद देवान र निजगढ नगरपालिका ५ का ४५ वर्षीय सुर्यबहादुर थापा रहेका छन् । घाइतेमध्ये देवान र थापाको अवस्था सामान्य छ । घाइतेमध्ये थापाको कलैया र अन्यको वीरगन्जमा उपचार भइरहेको छ ।

विष्फोट भएको उक्त वस्तु हेर्दा बम जस्तै देखिन्छ, यो प्रोजोक्टाईल हो या अन्य विष्फोटक भन्ने बारा परीक्षणपछि मात्र बताउन मिल्ने बाराका प्रहरी प्रमुख प्रहरी उपरीक्षक सुरेश काफ्लेले बताए । उनले भने, ‘लेथमा फलाम काट्ने क्रममा विष्फोट भएको भन्ने प्रारम्भिक जानकारी आएको र घटनाबारे थप अनुसन्धान भइरहेको छ ।’

यता विष्फोटक वस्तु निकै शक्तिशाली विष्फोटक रहेको देखिएको प्रमुख जिल्ला अधिकारी शशिधर घिमिरेले बताए । उनले भने, ‘खुल्ला स्थान भएकाले कम क्षति भएको देखिन्छ, बन्द स्थान वा भवनमा भएको भए निकै ठूलो क्षति हुने देखिन्छ ।’ 

विष्फोट हुँदा कारखाना नजिकका घरहरूमा समेत क्षति पुगेको छ । घटनाको अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय निजगढ र जिल्ला प्रहरी कार्यालयबाट प्रहरी टोली खटिएको छ । प्रहरीले उक्त क्षेत्रलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको प्रवक्ता दधिराम न्यौपानेले जानकारी दिए ।


Author

थप समाचार
x