समाज

मर्यादित रूपमा होली मनाउन जिप्रका काठमाडौँको अनुरोध

इकागज |
चैत ६, २०८० मंगलबार २१:५१ बजे

काठमाडौँ- जिल्ला प्रशासन कार्यालय काठमाडौँले फागु पूर्णिमा (होली) पर्व मर्यादित, अनुशासित एवं व्यवस्थित ढङ्गले मनाउन अनुरोध गरेको छ । काठमाडौँका सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद शर्माले आज सूचना जारी गर्दै होलीमा अमर्यादित, उच्छृङ्खल अवाञ्छित एवं गैरकानुनी क्रियाकलाप गरेमा प्रचलित कानुनबमोजिम कारबाही हुने जानकारी गराएका छन् । 

जिल्ला प्रशासन कार्यालयले चाडपर्वका अवसरमा शान्तिसुरक्षामा असर पर्ने गरी सार्वजनिक स्थानमा होहल्ला एवं झै–झगडा गर्ने, मादक पदार्थको सेवन गरी पारिवारिक एवं सामाजिक जनजीवन तथा सार्वजनिक मर्यादा र शान्ति खलल गर्ने, कसैको इच्छाविपरीत रङ एवं पानीको लोला हान्ने, पानीको फोहोरा हान्ने, जबर्जस्ती रङ दल्ने कार्य नगर्न सबैमा अनुरोध गरेको छ । 


विगतका तुलनामा फागु पूर्णिमामा अनावश्यक तडक भडकसहितका विभिन्न खर्चिला/भड्किला कार्यक्रम हुने गरेको उल्लेख गर्दै काठमाडौँका सहायक प्रमुख जिल्ला अधिकारी शर्माले सामाजिक व्यवहार (सुधार) ऐन तथा नियमावली, २०३३ ले धार्मिक, सामाजिक तथा सांस्कृतिक पर्व मनाउने विषयलाई व्यवस्थित र नियमन गरेकातर्फ ध्यानाकर्षण गराएका छन् । 


Author

थप समाचार
x