समाज

काठमाडौँ महानगरले गरिब घरपरिवारको तथ्याङ्क सङ्कलन गर्ने

इकागज |
चैत ११, २०८० आइतबार २१:४४ बजे

काठमाडौँ- काठमाडौँ महानगरपालिकाले यही चैत २५ गतेदेखि ‘गरिब घरपरिवार पहिचान तथा परिचयपत्र वितरण कार्यक्रमका लागि तथ्याङ्क सङ्कलन गर्ने भएको छ । त्यस कार्यमा खटिने जनशक्तिका लागि महानगरले गणक र सुपरिवेक्षकको तालिमका लागि प्रशिक्षक प्रशिक्षण दिइसकेको जनाएको छ ।

महानगरका सामाजिक विकास विभागका निमित्त प्रमुख बिमला कोइरालाले भनिन्, 'तालिमबाट प्रशिक्षक बन्नुभएका अधिकारीहरूले यही चैत २० गतेदेखि गणक र सुपरिवेक्षकलाई तालिम दिनुहुनेछ । यस कार्यमा खटिने गणक र सुपरिवेक्षकका रूपमा काम गर्ने जनशक्ति प्राप्त गर्न गत मङ्सिर १६ गते महानगरले सार्वजनिक सूचना प्रकाशन गरेको थियो ।' 


प्राप्त आवेदनबाट योग्यताका आधारमा गत माघ १४ गते उम्मेदवारहरूको प्रारम्भिक सूची प्रकाशन गरिएको थियो । गत माघ २१ गतेदेखि २४ गतेसम्म महानगरले लिएको अन्तर्वार्ताबाट गत फागुन १७ गते योग्यता क्रमको अन्तिम नतिजा प्रकाशन भएको थियो । जसबाट २१ सुपरीवेक्षक र दुई सय नौ गणक छनोट भएका थिए । 

महानगरका अनुसार आगामी असार मसान्तभित्र तथ्याङ्क सङ्कलन गर्ने गरी काम अघि बढाइएको छ । तथ्याङ्क सङ्कलनको थालनी २०७० सालमा २३ वटा जिल्लाबाट भएको हो । हरेक पाँच वर्षमा परिचयपत्र नवीकरण गराउनुपर्ने कानुनी व्यवस्था छ । 

सरकारले प्रदान गर्दै आएको दीर्घ रोगको उपचारका लागि आर्थिक सहयोग, विभिन्न लक्षित वर्गको उपचारसहित राज्यबाट प्रदान गरिने विभिन्न किसिमका सेवा सुविधा पनि यही परिचय पत्रका आधारमा प्रदान हुनेछ । 


Author

थप समाचार
x