समाज

केन्द्रीय पुस्तकालयमा लाङटाङको फोटो प्रदर्शनी

इकागज |
चैत १९, २०८० सोमबार २१:१७ बजे

फाइल तस्बिर

काठमाडौँ- त्रिभुवन विश्वविद्यालय, केन्द्रीय पुस्तकालय कीर्तिपुरमा लाङटाङको फोटो प्रदर्शनीमा राखिएको छ । त्रिवि केन्द्रीय पुस्तकालय र प्राणीशास्त्र केन्द्रीय विभागको संयुक्त आयोजनामा आजदेखि ‘दुई दशकमा लाङटाङ : प्रकृति, विविधता, भूकम्प र जीवन’ शीर्षकमा फोटो प्रदर्शनी राखिएको हो । 

यस प्रदर्शनीमा राखिएका फोटोहरूको सङ्कलन वाशिङ्टन विश्वविद्यालयका प्रा रायन्डल सी काइज, त्रिविका प्राध्यापक मुकेश चालिसे, नेपाल इञ्जिनियरिङ कलेजका डा नारायणप्रसाद कोजू र कलाकार बालकृष्ण बनमालाले खिचेका हुन् । उनीहरूले अनुसन्धान र तालिमका अवसरमा लाङटाङमा जाँदा सन् २००२ देखि २०२३ सम्म दुई दशकमा खिचिएका फोटोमध्येबाट सयबाट छानिएका फोटो प्रदर्शनीमा राखिएको पुस्तकालयका सूचना अधिकारी विजय शर्माले जानकारी दिए । 


प्रदर्शनीको त्रिविका नि. शिक्षाध्यक्ष प्रा. भार्गभ धितालले शुभारम्भ गरेको दुई दशकभन्दा बढी समय लागेर फोटोको सङ्कलन गरी लाङटाङको वस्तुस्थितिलाई तस्बिरका माध्यमबाट उजागर गर्ने प्रयास गरेको बताए । प्रदर्शनीमा लाङटाङको सहरीकरण, भौगोलिक परिवर्तन, रहनसहन, परम्पराका साथै २०७२ को भूकम्पले पारेको प्रभाव र त्यसपछि भएको पुनः निर्माणको परिदृश्य तस्बिरबाट अवलोकन गर्न सकिन्छ ।

प्रदर्शनी यही चैत १९ र २० गते बिहान ११ देखि ५ बजेसम्म त्रिवि केन्द्रीय पुस्तकालयको नयाँ भवनमा हुनेछ ।


Author

थप समाचार
x