खेलकुद

भीमबहादुरले पारा-ओलम्पिक छनोट खेल्ने

इकागज |
बैशाख २८, २०८१ शुक्रबार १५:२९ बजे

काठमाडौँ- पारा पौडी खेलाडी भीमबहादुर कुमालले फ्रान्समा हुने पेरिस पारा-ओलम्पिक–२०२४ का लागि हुने छनोट प्रतियोगिता खेल्ने भएका छन् ।

पेरिस पारा-ओलम्पिक छनोट आधार रहेको सिटी विश्व पारा पौडी प्रतियोगितामा भीमले प्रतिस्पर्धा गर्न लागेका हुन् । सिंगापुरमा मे १७ देखि १९ तारिखसम्म हुने प्रतियोगितामा भीमले पुरुष ५० मिटर र १०० मिटर फ्रिस्टायलमा नेपालको चुनौती प्रस्तुत गर्ने छन् ।


दुवै स्पर्धामा भीमकै नाममा राष्ट्रिय कीर्तिमान पनि छ । ५० मिटरमा ३३.३४ सेकेन्ड तथा १०० मिटरमा १ मिनेट २१ सेकेन्डको भीमको व्यक्तिगत उत्कृष्ट टाइमिङनै राष्ट्रिय कीर्तिमान हो ।

सिंगापुरमा हुने प्रतियोगिताका लागि भीमले विगत २ महिनादेखि कालोपुलस्थित वेस्ट भेन्युमा नियमित प्रशिक्षण गरिरहेको नेपाल पारा पौडी संघका अध्यक्ष सरोज श्रेष्ठले जानकारी दिए । श्रेष्ठ पनि अफिसियलका रुपमा सिंगापुर जाँदै छन् ।

गोर्खा जिल्लाको नारेश्वर बेनीखोला निवासी भीमले आफ्नो करियरमा ३ अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेका छन् । उनले खेलेको पछिल्लो प्रतियोगिता चीनको हाङझावमा भएको चौथो एसियाली पारा खेलकुद हो । त्यसअघि उनले सन् २०१८ मा इन्डोनेसियामा भएको तेश्रो एसियाली पारा खेलकुद तथा सन् २०१९ मा लन्डनमा भएको विश्व पारा पौडी प्रतियोगितामा नेपालको प्रतिनिधित्व गरेका थिए । ४१ वर्षीय कुमाल एम्पुटी फुटबलका पनि खेलाडी हुन् ।

भीमले पेरिस पारा-ओलम्पिकमा छनोट हुने लक्ष्य रहेको बताए ।

टोलीलाई राष्ट्रिय खेलकुद परिषद् सदस्य–सचिव टंकलाल घिसिङले शुक्रबार एक कार्यक्रमबीच बिदाइ गरे । भीम र अफिसियल श्रेष्ठ मे १५ तारिख सिंगापुर जाने छन् । प्रशिक्षक विजेनमान श्रेष्ठ आइतबार जाँदै छन् ।

सो अवसरमा सदस्य–सचिव घिसिङले पेरिस पारालिम्पकमा छनोट हुने दोस्रो खेलाडी बन्न खेलाडीलाई शुभकामना दिए ।


Author

थप समाचार
x