समाज

बोलेरो जीप दुर्घटनामा एकको मृत्यु, तीन घाइते

इकागज |
जेठ ३०, २०७८ आइतबार ९:१४ बजे

उदयपुर  : जिल्लाको ताप्ली गाउँपालिका-४ स्थित पोखरीडाँडाको भित्री कच्ची सडकखण्डमा बोलेरो जीप दुर्घटना हुँदा एक जनाको घटनास्थलमा नै मृत्यु भएको छ । दुर्घटनामा अन्य तीन गम्भीर घाइते भएका छन् । जिल्ला प्रहरी कार्यलय उदयपुरका अनुसार शनिबार साँझ ८ बजेतिर सिरहाको लहानबाट छुटेको बा १८ च १५६७ नंको बोलेरोमा सवार चारमध्ये एक जनाको मृत्यु भएको हो । दुर्घटनामा मृत्यु हुने सिन्धुलीको दुधौली नगरपालिका-१० का ६० वर्षीय इन्द्रबहादुर विक रहेको प्रहरीले जनाएको छ । 

अन्य घाइतेमा कटारी नगरपालिका-१० का चालक ३५ वर्षीय डाकनारायण श्रेष्ठ, ताप्ली-४ का ३० वर्षीय झगरबहादुर सार्की र ताप्ली-४ कै २६ वर्षीय डम्बरबहादुर तामाङ रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले बताएको छ । शनिबार बेलुकी ८ बजेतिर ताप्लीको पोखरीडाँडाको भित्री कच्ची सडकमा नियन्त्रण गुमाएर बोलेरो जीप सडकबाट २०० मिटर तल खसेको जिल्ला प्रहरी कार्यलय उदयपुरका प्रमुख भीमप्रसाद दाहालले जानकारी दिए । 


घटनालगत्तै इलाका प्रहरी कार्यलय कटारी र ताप्ली प्रहरी चौकीबाट उद्धारका लागि पुगेका प्रहरीले घाइते तीन जनालाई कटारी अस्पतालमा लगेर उपचार गराउन शुरु गरेको जिल्ला प्रहरी कार्यालय उदयपुरले बताएको छ । (रासस)
 


Author

थप समाचार
x