समाज

१० बंगलादेशीलाई अध्यागमनमा बुझाइयो

इकागज |
चैत २६, २०८० सोमबार १४:१४ बजे

काठमाडौँ- भिसा सकिएर नेपालमा अवैधरुपमा बसिरहेका १० जना बंगलादेशी नागरिकलाई प्रहरीले पक्राउ गरी आइतबार अध्यागमन विभागमा बुझाएको छ ।

विभिन्न मितिमा नेपाल प्रवेश गरी भिसा सकिए पनि गैरकानुनीरूपले बसोबास गर्नुका साथै शंकास्पद गतिविधिमा संलग्न रहेको सूचनाका आधारमा खोजतलास गर्दा १० जना बंगलादेशी नागरिक पक्राउ परेका थिए ।


काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक रविन्द्र रेग्मीका अनुसार प्रहरीको विशेष टोलीले काठमाडाँैको सोह्रखुट्टे तथा ठमेल क्षेत्रबाट गैरकानुनी तवरले बसिरहेका उनीहरुलाई नियन्त्रणमा लिएको थियो ।

पक्राउ पर्नेमा मोहम्मद अनिशुर रहमान, मोहम्मद अब्दुल्ला, मोहम्मद इमाउल हसन, मोहम्मद हाफिज रहमान, सजिव हसन, सैफुल इस्लाम, मोहम्मद विलल हसन, मोहम्मद सलिम, मोहम्मद नासिर उद्दीन र मोहम्मद एसिन खान रहेका छन् ।

एसपी रेग्मीले पक्राउ परेका उनीहरुलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि आज अध्यागमन विभाग, कालिकास्थान पठाइएको बताए । यसअघि पनि यसैगरी शङ्कास्पद गतिविधि गरिरहेको पाइएपछि प्रहरीले पाँच जना बंगलादेशी नागरिकलाई पक्राउ गरी अध्यागमनलाई बुझाइएको थियो ।

पछिल्लो समयमा बंगलादेशी नागरिकलाई युरोप पठाउने भन्दै नेपालमा ल्याएर बन्धक बनाउने तथा अवैधरुपमा नेपाल बस्ने घटना देखिन थालेकाले निगरानी बढाइएको प्रहरीले जनाएको छ । रासस


Author

थप समाचार
x