समाज

कास्कीका तीन पालिकामा मङ्गलबार ट्होटेँको बिदा

इकागज |
चैत २६, २०८० सोमबार २१:९ बजे

कास्की- यहाँका तीन स्थानीय तहले तमु(गुरुङ) जातिको मौलिक एवं परम्परागत पर्व ट्होटेँका अवसरमा मङ्गलबार स्थानीय बिदा दिएका छन् । 

जिल्लाका मादी, अन्नपूर्ण र माछापुच्छ्रे गाउँपालिकामा बिदा दिइएको हो । गाउँ कार्यपालिका कार्यालय, मातहतका वडा कार्यालय, शैक्षिक संस्था तथा स्वास्थ्य संस्थामा अत्यावश्यक बाहेकका सम्पूर्ण सेवा बन्द हुने पालिकाले जनाएका हुन् । स्थानीय तहले सूचना प्रकाशित गरी बिदा दिँदै ट्होटेँको शुभकामनासमेत दिएका छन् ।


गुरुङ समुदायले प्रत्येक वर्ष चैत र साउन महिनाको अन्तिम मङ्गलबार सडकमा निस्केर धुमधामका साथ ट्होटेँ पर्व मनाउँदै आएका छन् । गुरुङ भाषामा ‘ट्हो’ भनेको राज्य र ‘टेँ’ भनेको धपाउने अर्थात् राज्यबाट शत्रुलाई लखेट्ने भन्ने बुझिन्छ । विशेष गरी गण्डकी प्रदेशका कास्की, लमजुङ, तनहुँ, स्याङजा, पर्वत लगायतका जिल्लामा बस्ने गुरुङले आफ्नो ऐतिहासिक एवं ठूलो सांस्कृतिक चाडका रुपमा ट्होटेँ मनाउने गर्दछन् ।

यसैबीच तमुधिँ नेपालले पोखरामा धुमधामका साथ ट्होटेँ पर्व मनाउने तयारी गरेको छ । तमुधिँका अध्यक्ष हुमबहादुर तमुले पर्वका अवसरमा पोखरामा विगतका वर्षमा झै यस वर्ष पनि बाजागाजा, झाँकीसहित पोखरा नयाँबजारबाट र्याली निकालिने र सभागृहमा  समारोह आयोजना गरिएको जानकारी दिए ।


Author

थप समाचार
x