समाज

चतराधाममा बाह्रवर्षे महाकुम्भ मेला सुरु

इकागज |
चैत २७, २०८० मंगलबार १७:५७ बजे

काठमाडौँ- धार्मिक एवं पर्यटकीय स्थल सुनसरीको वराहक्षेत्र चतराधाममा बाह्रवर्षे महाकुम्भ मेला सुरु भएको छ ।

महाकुम्भ मेलाको राष्ट्रपति रामचन्द्र पौडेलले उद्घाटन गरे । सो क्रममा राष्ट्रपति पौडेलले निमुखा जनताको निर्वाध स्वतन्त्रता उपयोग गर्न पाउनुपर्ने सङ्घीय लोकतान्त्रिक गणतन्त्रको दर्शनलाई सबैले आत्मसात गर्न आग्रह पनि गरे । वैशाख २८ गतेसम्म सञ्चालन हुने महाकुम्भ मेलामा देश विदेशबाट करिब ३० लाख दर्शनार्थी सहभागी हुने अनुमान छ ।


मेलामा आउने भक्तजनका लागि पाँच वटा स्थानमा स्नान स्थल निर्माण गरिएको छ । मेला स्थल वरिपरि सरसफाइ, स्नान स्थल निर्माण, पण्डाल, हवन कुण्ड, सहयोग स्थल, सुरक्षा, स्वास्थ्य, भण्डारा, बसपार्क लगायतको व्यवस्था गरिएको छ ।

विगतमा भारतका विभिन्न स्थानमा मात्र कुम्भ मेला लाग्ने गरेकोमा २०५९ सालबाट सुनसरीको चतरामा पनि कुम्भ मेला लाग्न थालेको हो । चतरामा हरेक ६ वर्षमा अर्धकुम्भ र १२ वर्षमा पूर्ण कुम्भ मेला लाग्ने गरेको छ ।

महाकुम्भकै अवसरमा चतरास्थित रामानन्दाचार्य सेवा पीठले पनि नवरात्र अनुष्ठान सुरु गरेको छ । अनुष्ठानअन्तर्गत रामचरित मानस नवपाठ परायण, वाल्मीकि रामायणपाठ, दुर्गासप्तसती चण्डीपाठ, राम पञ्चाङ्ग, चन्द्रकला सखीबाट राम कथा वाचनलगायत कार्यक्रम सुरु गरेको छ ।


Author

थप समाचार
x